गृहपृष्ठ विद्यालय मनोविमर्श तथा मनोवैज्ञानिक आरोग्यता बिषयमा प्रथम राष्ट्रिय सम्मेलन शुक्रबार हुने
विद्यालय मनोविमर्श तथा मनोवैज्ञानिक आरोग्यता बिषयमा प्रथम राष्ट्रिय सम्मेलन शुक्रबार हुने
ललितपुर, ५ असार : विद्यालय मनोविमर्श तथा मनोवैज्ञानिक आरोग्यता बिषयमा प्रथम राष्ट्रिय सम्मेलन शुक्रबार ललितपुरमा हुने भएको छ ।
“दिगो खुसीका लागि स्वरुपान्तरण” भन्ने बिषयबस्तुमा आधारित रहेर विद्यालय मनोविमर्श तथा मनोवैज्ञानिक आरोग्यता बिषयमा प्रथम राष्ट्रिय सम्मेलन गर्न लागिएको काठमाडौं विश्वविद्यालयका उपप्राध्यापक एवम् सम्मेलनका संयोजक डाक्टर श्रीकृष्ण वाग्ले जानकारी दिनुभयो ।
“विद्यालय मनोविमर्श तथा मनोवैज्ञानिक आरोग्यता बिषयमा नीतिगत तहबाट पैरवी गर्ने उद्देश्यले पहिलो सम्मेलन आयोजना गरिएको हो, अहिलेको सन्दर्भमा विद्यालय मनोविमर्श तथा मनोवैज्ञानिक आरोग्यताका बिषयमा छलफल, बहस र पैरवीको माध्यमबाट नीतिगत व्यवस्थाका लागि पहल गर्नु अनिवार्य भएको छ।” उहाँले भन्नुभयो ।
विद्यालय मनोविमर्शमा सामाजिक आरोग्यतालाई ध्यान दिएर आयोजना हुने यस सम्मेलनमा सामाजिक अभियान्ता, विद्यालय सञ्चालक, विद्यार्थीलगायत १ सय २५ जना भन्दा बढिको सहभागिता रहने काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक माधव खतिवडाले जानकारी गराउनुभयो।
काठमाडौं विश्वविद्यालयका मनोपरामर्शदाता रासिका पोखरेलका अनुसार शिक्षालाई मनोसामाजिक परामर्शका क्षेत्रमा जोड्न आवश्यक रहेको छ।
सम्मेलनमा अनुसन्धानबाट तयार पारिएका आठ वटा कार्यपत्रहरुमाथि छलफल हुनुका साथै समूहगत छलफल समेत हुने जानकारी गराइएको छ।
नेपालको सन्दर्भमा यस सम्मेलनको माध्यमबाट विद्यालय मनोविमर्श, मानसिक, सामाजिक तथा भावनात्मक आरोग्यता सम्बन्धमा एउटा नयाँ बहसको सुरुवात हुने बताइएको छ। यी बिषयहरुमा काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसन स्कुल काउन्सिलिङ्ग एण्ड साइकोलोजिकल वेलविङ युनिट मार्फत स्नातकोत्तर एक वर्षे तथा दुई वर्षे, दर्शनाचार्य तथा विद्यावारिधिका कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी गराइएको छ ।
प्रकाशित समय २१:३४ बजे







