गृहपृष्ठ स्टोरमा करोडौं आइरन चक्की भण्डार, ३४० स्वास्थ्य संस्थामा शून्य
स्टोरमा करोडौं आइरन चक्की भण्डार, ३४० स्वास्थ्य संस्थामा शून्य
स्वास्थ्य सेवा विभागले चालु आर्थिक वर्षमा २१ करोड ३५ लाख आइरन चक्की खरिद गरेपनि सरकारकै मातृशिशु कार्यक्रम लागु भएको अस्पतालमा आइरन चक्की उपलब्ध नभएको पाइएको छ।
आइरन चक्की खरिद गर्न प्रदेश र स्थानीय तहलाई बजेट विनियोजन भएपनि सचिवस्तरीय निर्णय अनुसार स्वास्थ्य सेवा विभागले खरिदको जिम्मा पाएको थियो। खरिद भएका आइरन चक्की मध्ये फागुन मसान्तसम्म विभाग, पथलैया मेडिकल स्टोर र सातवटा प्रदेश आपूर्ति केन्द्रमा ६ करोड १५ लाख ७३ हजार अर्थात २८ दशमलब ८४ प्रतिशत चक्की मौज्दात रहेको पाइएको छ।
तर विभागले प्रयोग गर्ने सफ्टवेयरमा पुस मसान्तसम्ममा ३४० स्वास्थ्य संस्थासँग आइरन चक्कीको मौज्दात शून्य रहेको पाइएको प्रतिवेदनमा उल्लेख छ।
यस्तै मातृशिशु सुरक्षा कार्यक्रम सञ्चालन भएको केन्द्रिय अस्पताल परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमै आइरन चक्की उपलब्ध नभएको पाइएको छ। गाइनो ओपिडि सञ्चालन रहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर, कोशी अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि यो वर्ष विभाग र प्रदेश आपूर्ति केन्द्रबाट कुनै पनि आइरन चक्की उपलब्ध नभएको महालेखाले उल्लेख गरेको छ।
महालेखाले खरिद गरिएको आइरन चक्की लाभग्राहीले सुलभ तरिकाले प्राप्त गर्न सक्ने गरी वितरणको व्यवस्था मिलाउन सुझाव दिएको छ।
प्रकाशित समय १३:५३ बजे















