गृहपृष्ठ राससकर्मी खड्का ‘विकास पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत
राससकर्मी खड्का ‘विकास पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत
दोलखा, ९ जेठः नेपाल पत्रकार महासङ्घ, दोलखा शाखाले स्थापना गरेको ‘विकास पत्रकारिता पुरस्कार’ बाट राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता कालिका खड्का पुरस्कत हुनुभएको छ । दोलखाको चरीकोटमा आज आयोजित सो शाखाको १३औँ साधारणसभाका अवसरमा राष्ट्रियसभाका सदस्य घनश्याम रिजालले खड्कालाई रु १० हजार राशिसहितको पुरस्कार प्रदान गर्नुभयो ।
देलखामा जन्मिनुभएकी खड्काले विकास निर्माणका लागि पत्रकारिताको माध्यमबाट महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको छ । उहाँको योगदानको मूल्याङ्कन गर्दै सम्मानस्वरुप पुरस्कार प्रदान गरिएको नेपाल पत्रकार महासङ्घ, दोलखा शाखाले जनाएको छ ।
शाखाले तत्कालीन जिल्ला विकास समितिको सहयोगमा विकास पत्रकारिता पुरस्कार स्थापना गरेको शाखाका अध्यक्ष प्रभु जिरेलले बताउनुभयो । राष्ट्रियसभाका सदस्य रिजालले राज्यको चौथो अङ्गका रूपमा रहेको पत्रकारिता क्षेत्र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहे पनि लोकतन्त्रको रक्षा र राज्यको निकायलाई जिम्मेवार बनाउन महत्वपूर्ण भूमिकामा निर्वाह गरिरहेको बताउनुभयो ।
पत्रकार महासङ्घका केन्द्रीय सचिव रमेश खतिवडाले सरकारी सूचना निजी सञ्चारमाध्यमलाई नदिने निर्णयले पत्रकारिता क्षेत्र मर्कामा परेको बताउनुभयो । शाखाका अध्यक्ष जिरेलले वर्तमान अवस्थामा पत्रकारिता क्षेत्र निकै जटिल मोडमा पुगेको भन्दै जतिसुकै चुनौती आएपनि मुलुकको विकास र समृद्धिमा लागि स्वतन्त्र प्रेस कटिबद्ध रहने प्रतिबद्धता जनाउनुभयो ।
प्रकाशित समय २२:३६ बजे















