DG Creation

गृहपृष्ठ मधेशमा मिलेन मन्त्रालय भागबन्डा, मुख्यमन्त्रीको दाबी पेश गर्न ढिलाइ

मधेशमा मिलेन मन्त्रालय भागबन्डा, मुख्यमन्त्रीको दाबी पेश गर्न ढिलाइ

मन्त्रालय भागबण्डा नमिल्दा मधेशको मुख्यमन्त्रीमा दाबी पेश ढिलाइ भएको छ । नेकपा एमाले, माओवादी र एकीकृत समाजवादी जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन सहमत भइसकेका छन् ।

जनमत पार्टीले प्रदेश सांसद सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । तर, मन्त्रालय भागबण्डाका विषयमा बिहीबार बिहान ११ बजेदेखि दलहरुबीच भइरहेको छलफल निष्कर्षमा पुगेको छैन ।

बैठकमा सहभागी एमाले संसदीय दलका नेता सरोजकुमार यादवका अनुसार नेकपा एकीकृत समाजवादीले तीनवटा मन्त्रालयमा दाबी गरेपछि कुरा मिल्न नसकेको हो ।

दलहरुबीच बिहीबार नै मुख्यमन्त्रीमा दाबी पेश गर्ने सहमति छ । एमाले नेता यादवले बिहीबार रातिसम्म भए पनि मुख्यमन्त्रीमा दाबी पेश गर्ने बताए ।

सत्ता गठबन्धनलाई समर्थन गरेको १-१ सिट रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल र नेपाल संघीय समाजवादी पार्टीले पनि १-१ वटा मन्त्रालय पाउनु पर्ने दाबी गरिरहेका छन् । दुबै दललाई राज्यमन्त्री दिएर मनाउने प्रयासमा ठूला दलहरु छन् ।

एमाले, जनमत र माओवादी केन्द्रबीच भने भागबन्डा करिब मिलिसकेको छ । मधेशमा मुख्यमन्त्रीबाहेक ११ मन्त्रालय छ । एमाले ४, जनमत, माओवादी केन्द्रले २-२ जना लिने मौखिक सहमति करिब करिब भइसकेको एक सांसदले बताए । एकीकृत समाजवादी भने दुई मन्त्रालयमा चित्त बुझाउन तयार छैन ।

छलफल भइरहेको र बिहीबार नै सहमति हुने माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले बताए ।

प्रकाशित समय १९:५० बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation