DG Creation

गृहपृष्ठ तालिबानद्वारा राष्ट्रसङ्घीय वार्ताको ‘सहयोगको भावना’ को प्रशंसा

तालिबानद्वारा राष्ट्रसङ्घीय वार्ताको ‘सहयोगको भावना’ को प्रशंसा

तालिबान सरकारले बुधबार संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा भएको अफगानिस्तानप्रति ‘सहयोगको भावना’ को प्रशंसा गरेको छ ।

अफगानिस्तानका बारेमा दुई दिनको बैठक सोमबार दोहामा समाप्त भयो । बैठकमा पहिलो पटक राष्ट्रसङ्घका अधिकारीहरू र अन्तर्राष्ट्रिय विशेष दूतहरूको वार्तामा तािलबान अधिकारीहरूलाई समावेश गरिएको थियो ।

अधिकार समूहहरूले तालिबान सरकारको सहभागितालाई प्रोत्साहन गर्न गरिएको सम्झौतामा नागरिक समाज समूहहरूलाई मुख्य बैठकबाट बहिष्कार गर्ने राष्ट्रसङ्घको निर्णयको कडा आलोचना गरे ।

“विदेशी अधिकारीहरूमा अफगानिस्तानको सम्बन्धमा सहयोगको भावना राम्रो थियो र अफगानिस्तानका लागि उनीहरूको नीतिहरूमा सकारात्मक परिवर्तन आएको हामीले देख्न सक्छौँ”, तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले काबुलमा पत्रकार सम्मेलनमा भन्नुभयो, “अफगानिस्तान एक्लोपनबाट बाहिर आएको छ र विश्वासको वातावरण बनेको छ ।”

सन् २०२१ मा तालिबान सत्तामा फर्केपछिको दोहा वार्ता तेस्रो थियो । उनीहरूलाई पहिलो चरणको वार्तामा आमन्त्रण गरिएको थिएन । तालिबानले महिला सङ्गठनसहित नागरिक समाज समूहहरूलाई छाडेर एकमात्र अफगान प्रतिनिधि हुनुपर्ने माग राख्दै दोस्रो चरणको वार्तामा सहभागी हुन अस्वीकार गरेको थियो ।

“यो बैठक अफगानिस्तानको मागअनुसार र हाम्रो राष्ट्रिय हितलाई ध्यानमा राख्दै आयोजना गरिएको थियो, हामी यसमा भाग लिन र विश्वलाई हाम्रो अवस्था अवगत गराउन सक्षम भयौँ”, मुजाहिदले भन्नुभयो ।

कुनै पनि मुलुकले आधिकारिकरूपमा तालिबान सरकारलाई मान्यता नदिएकाले सत्तामा फर्किएदेखि नै अन्तर्राष्ट्रिय समुदायले तालिबानप्रतिको आफ्नो दृष्टिकोणलाई लिएर सङ्घर्ष गरिरहेको छ ।

महिला र किशोरीहरूमाथिको प्रतिबन्ध फिर्ता नलिएसम्म तालिबान सरकारलाई एक्लो बनाउनुपर्ने कतिपयको धारणा छ । अन्यले भने संवाद स्थापित गर्नका लागि अन्य विषयमा पनि छलफल गर्नुपर्ने तर्क दिएका छन् ।

“हामीले अफगानिस्ताको आन्तरिक मामिलाहरू– जनता र महिलासम्बन्धी मुद्दा– अफगानिस्तानको मुद्दा हो भनेर देशहरूलाई बतायौँ”, मुजाहिदले भन्नुभयो, “राजनीतिक दबाब दिन देशहरूलाई प्रयोग गर्नुहुन्न ।”

दोहा वार्ताको यो चरण अफगानिस्तानको निजी क्षेत्रलाई बलियो बनाउने र अफिमको सबैभन्दा ठूलो उत्पादक भएको मुलुकमा लागुऔषध विरोधी कार्यलाई समर्थन गर्नेमा केन्द्रीत थियो ।

यो प्रक्रिया अफगानिस्तानसँग संलग्नता बढाउन र समन्वय गर्ने विषयमा छलफल सुरु गर्न थियो ।

प्रकाशित समय २१:२१ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation