गृहपृष्ठ राजनीतिक अस्थिरता र भ्रष्टाचारविरुद्ध जेन जेडको सन्देश आत्मसात गर्न नेताहरूलाई आग्रह
राजनीतिक अस्थिरता र भ्रष्टाचारविरुद्ध जेन जेडको सन्देश आत्मसात गर्न नेताहरूलाई आग्रह
ललितपुर, ११ असोज: जेन जेडले भ्रष्टाचार नियन्त्रण र जनताको पक्षमा वकालत गर्ने राज्य प्रणाली चाहान्छ भन्दै सरोकारवालाहरुले देशमा स्थायित्व ल्याउन सम्पूर्ण राजनीतिक दलहरु एक ठाउँमा हुनुपर्छ भन्नेमा जोड दिएका छन् ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ललितपुरले आज यहाँ आयोजना गरेको जेन जेड विद्रोह, नयाँ परिस्थिति र अबको निकास बिषयक अन्तरक्रियामा धारणा राख्नुहुँदै स्थायी समिति सदस्य कर्णजीत बुढा (सुशील)ले सबैको धारणा बुझेर आम सरोकारका बिषयमा साझा धारणा बनाएर संविधान पुनर्लेखन, शासकीय संरचनाको परिवर्तनको बारेमा एकजुट हुनुपर्छ भन्नेमा जोड दिनुभएको हो।
“जेन जेड पुस्ताका माग र सोचका बिषयमा ध्यान दिनुपर्छ, उत्पीडित वर्ग, जातीय समुदायको धारणा बुझ्नुपर्छ, नेताहरु, पार्टी र कार्यकर्ताहरु सुध्रिनु पर्छ, हाम्रो परिक्षण त जनतामा हुन्छ नि!” उहाँले भन्नुभयो।
उहाँले बहुमतको अहंकारमा देश र जनताको अहितमा काम गर्न नहुने भन्दै राम्रो कामका लागि एकताबद्ध र एकजुट हुनुपर्ने बताउनुभयो।
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य एवम् ललितपुर इन्चार्ज हरि दाहालले सरकार र पार्टीहरुका कमजोरीका कारण भएको जेन जेड आन्दोलनको मर्मलाई बुझेर सुधार गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।
“माओवादी र जेन जेड आन्दोलनको माग एउटै हो, माओवादीकै आन्दोलनको जगमा टेकेर मधेस आन्दोलन भएको हो, जेन जेड आन्दोलनले पनि सुशासन चाहेको हो, यसलाई नजरअन्दाज गरिनुहुँदैन, यसले शासकहरुलाई सच्चिन मौका दिएको छ, धेरैलाई दास र बेरोजगार बनाउने व्यवस्था विरुद्ध नयाँ पुस्ताले बिद्रोह गरेको छ।” उहाँले भन्नुभयो।
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य दिपेन्द्र श्रेष्ठले युवाहरूको विद्रोहले दिन खोजेको सन्देशलाई आत्मसात गर्दै राष्ट्र र राष्ट्रियताको हीतका साथै लोकतन्त्र, विधिको शासन, स्थायित्व कानूनी राज्यको लागि ध्यान दिएर लाग्नुपर्नेमा जोड दिनुभयो।
“आन्दोलनको मुल उद्देश्य भ्रष्टाचार नियन्त्रण हो, विद्रोहको मागलाई नयाँ सिराबाट अगाडि बढाउन आवश्यक छ, स्थिरता र स्थायित्वको आवश्यकता रहेको छ, सत्ताको आँखाबाट विद्रोहको भावलाई बुझेर परिवर्तनको मागलाई आत्मसात गर्दै निकास दिन सक्नुपर्छ, आकाँक्षा र योजनालाई प्राप्तिमा रुपान्तरण गर्नु आवश्यक छ।” उहाँले भन्नुभयो।
नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष हरिकृष्ण थापाले सुशासन र रोजगारी खोजेको भन्दै निर्वाचनबाट जितेर आएका पार्टीहरुले आफ्नो स्वार्थमा लाग्दा समस्या भएको बताउनुभयो।
“हाम्रै नेताहरुमाथि पनि खबरदारी गर्नुपर्छ, युवा पुस्तालाई नेतृत्वमा स्थापित गर्न ध्यान दिनुपर्छ, पार्टीको पुनर्गठन र पुनर्संरचनामा ध्यान दिनुपर्छ।” उहाँले भन्नुभयो।
प्रगतिशील कानून व्यवसायी संघका महासचिव खिमानन्द अधिकारीले नेपालको शासकीय व्यवस्थामा खराव र व्यक्तिवादी सोचको हावी भएको कारणले जेन जेड आन्दोलन भएको भन्दै भन्दै सबै राजनीतिक दलहरुले सुधार गर्दै देशको हीतमा साझा धारणा बनाएर एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो।
कोन्ज्योसोम गाउँपालिकाका पूर्वअध्यक्ष गोपिलाल स्याङ्तानले राजनीति दलका नेताहरुमा रहेको नातावाद र कृपावादले सृजना गरेको जेन जेड विद्रोहलाई ध्यान दिएर चुनौती र अवसरको सामना गर्दै हरेक व्यक्तिको समस्या र आवश्यकतालाई सम्बोधन गर्न सक्नेगरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।
ललितपुर बार एशोसियशनका कोषाध्यक्ष रमेशकुमार महर्जनले अस्थिर सरकार र सधैं एकैखालका नेताहरु सत्तामा रहेको कारण विद्रोहको सुरुवात भएको भन्दै राजनीति गर्नेहरूले जनतालाई सम्पन्न बनाउनेगरी लाग्नुपर्नेमा जोड दिनुभयो।
निर्माण व्यवसायी संघ ललितपुरका बरिष्ठ उपाध्यक्ष भगीरथ तिमल्सिनाले नेताहरुको कार्यशैलीमा देखिएको अस्थिरताले समस्या निम्त्याएको बताउँदै जनताको सानोसानो काम गरेरै भएपनि जनताको मत जित्न आग्रह गर्नुभयो। उहाँले आदर्शका कुरा गरेर विलासी जीवनशैलीमा भन्दापनि जनताको जीवनस्तर उकास्ने गरी राजनीति गर्न आग्रह गर्नुभयो।
प्रकाशित समय १९:३६ बजे










