गृहपृष्ठ कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति, सुरुमा ओली प्रधानमन्त्री बन्ने
कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति, सुरुमा ओली प्रधानमन्त्री बन्ने
नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ । सोमबार राति दुई दलबीच सत्ता सहकार्य गर्ने सहमति भएको दुबै दलनिकट स्रोतले पुष्टि गरेका छन् ।
दुई दलको सरकार बनेपछि निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका विषयमा संविधान संशोधन गर्ने सहमति पनि भएको कांग्रेसका एक नेताले बताए।
सो सहमतिलाई अन्तिम रूप दिन कांग्रेस सभापति शेरबहादुर देउवा सोमबार राति नै मुख्य सचेतक रमेश लेखक लगायत नेताका साथमा ओलीनिवास बालकोट जाने सम्भावना रहेको ती नेताले बताए।
‘आजै राति सहमतिमा हस्ताक्षर हुने सम्भावना छ,’ ती नेताले भने।
ती नेताका अनुसार एमाले महासचिव शंकर पोखरेल र कांग्रेसका प्रमुख सचेतक लेखकले सोमबार साँझ ललितपुरको झम्सिखेलस्थित होटल भिभान्तामा बसेर सहमतिको अन्तिम टुंगो लगाएका हुन्। त्यस्तै, संविधानमा आवश्यक संशोधन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा ‘संविधान संशोधन सुझाव समिति’ बनाउने सम्भावना छ।
एमाले-माओवादी गठबन्धन नै कायम राख्नुपर्छ भन्ने चाहना राखेका एमालेका एक पदाधिकारीले पनि कांग्रेस-एमालेबीच सहमतिमा हस्ताक्षर हुन लागेको संकेत गरे।
‘एमाले-माओवादी गठबन्धन जोगिने स्थिति देखिएन। आजै कांग्रेस-एमालेबीच हस्ताक्षर हुन्छ कि हुँदैन भनेर म भन्न सक्दिनँ तर अहिलेको गठबन्धन नजोगिने पक्का भयो,’ एमालेका ती पदाधिकारीले भने।
प्रकाशित समय ००:०९ बजे















