गृहपृष्ठ ललितपुरमा चौमासिक समिक्षा: बजेट खर्च प्रणाली सुधार र समन्वयमा जोड
ललितपुरमा चौमासिक समिक्षा: बजेट खर्च प्रणाली सुधार र समन्वयमा जोड
ललितपुर, २९ बैशाख: जिल्ला समन्वय समिति ललितपुरले आयोजना गरेको चौमासिक समिक्षामा धारणा राख्ने सरोकारवालाहरुले विनियोजित बार्षिक बजेटको ४० प्रतिशत बजेट आर्थिक वर्षको अन्त्यमा खर्च हुने पद्धति रोक्नुपर्छ भन्नेमा जोड दिएका छन् ।
जिल्लास्थित कार्यालय र स्थानीय तहले आर्थिक वर्ष २०८१/०८२ को सम्पादन गरेका कामहरूको बारेमा आइतबार आयोजित दोस्रो चौमासिक समिक्षामा सहजीकरण गर्ने प्रतिवद्धता सहितको मन्तव्य राख्नुहुँदै जिल्ला समन्वय समितिका उपप्रमुख ऋषिदेव फूँयालले हरेक समिक्षाले सबैलाई केही न केही सन्देश दिन्छ भन्दै नागरिकले अनुभुति गर्नेगरी विकासका काम अगाडि बढाउन आग्रह गर्नुभएको हो।
“बार्षिक बजेटको ४० प्रतिशत आर्थिक वर्षको अन्त्य हुने असार महिनामा खर्च हुने प्रवृत्ति रोकिनु पर्छ, त्यसका लागि ध्यान दिन आग्रह छ, कार्यक्रम सम्पन्न गर्ने जिम्मेवारी र दायित्व पूरा गर्ने कार्यालयलाई यस्ता समिक्षाले थप जिम्मेवार बनाउँछ, बालमैत्री स्थानीय तह घोषणाको काम गोदावरीबाट सुरु भएको छ, सबै पालिकाले यसतर्फ ध्यान दिनुपर्छ।” उहाँले भन्नुभयो ।
उहाँले समीक्षा कार्यक्रममा दिनुभएको थुप्रै सुझाव संघ र प्रदेशमा जिम्मेवार मन्त्रालय, शाखा महाशाखा समक्ष पुर्याउँछु भन्ने प्रतिवद्धता जनाउनुभयो। उहाँले संघ र प्रदेशबाट विनियोजन हुने टुक्रे बजेट न्युनिकरण गर्नुपर्छ भन्दै यसमा स्थानीय तहले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
उपप्रमुख रामलाल थिङले हुन सक्ने कुराहरूका बिषयमा बढि छलफल गरेर जनअपेक्षा अनुरुप विकासका गतिविधि अगाडि बढाउन सबै कार्यालयबीच समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।
कोन्ज्योसोम गाउँपालिकाका उपप्रमुख राजनप्रसाद घिमिरेले ललितपुरका तीन वटा गाउँपालिका गत असोज ११ र १२ गतेको बाढिपहिरोबाट धेरै प्रभावित भएकोले क्षतिको मुल्यांकनका आधारमा समस्या समाधान गर्ने गरी जिल्ला स्थित बिषयगत कार्यालयलाई आग्रह गर्नुभयो।
“हामी निर्वाचित भएको तीन वर्ष भयो, जिल्लाका बिषयगत कार्यालयले गरेका कतिपय काम र कार्यक्रम हामीलाई नै थाहा हुँदैन, यो समस्या छ, स्थानीय सरकारलाई त्यहाँ सञ्चालन भएको कार्यक्रम जानकारी हुनुपर्छ। संघ र प्रदेशका नियन्त्रणमा रहेका सबै कार्यालय स्थानीय सरकारप्रति पनि उत्तरदायी हुनुपर्छ।” उहाँले भन्नुभयो ।
उहाँले बर्षातको समयमा हुने सडकको क्षतिलाई तत्कालै सम्बोधन गर्नेगरी मर्मत सम्भार तथा विपद तयारीका सामाग्रीहरु चुस्तदुरुस्त राख्न आग्रह गर्नुभयो ।
ललितपुरका जिल्ला समन्वय अधिकारी हरिनारायण बेलवासेले आर्थिक वर्षमा विकास निर्माणमा देखिएका समस्या समाधानका लागि समन्वय, सहकार्य र सहजीकरणको काम जिल्ला समन्वय समितिको भएकोले समाधानका उपाय ल्याउन आग्रह गर्नुभयो।
“स्थानीयस्तरका समस्याहरु तपाईंले ल्याउने हो, हामीले तपाईंहरुलाई सहजीकरण गर्ने हो, काम देखाउनका लागि प्रस्तुतिकरण मात्रै लिएर नआउनुस्, अलि रचनात्मक र जनजीविका सुधार गर्नेखाका कार्यक्रमहरु पनि बनाउनुस्, सहजीकरणका लागि भएका समस्यामा हामी तयार छौँ।” उहाँले भन्नुभयो ।
सडक डिभिजन कार्यालय ललितपुरका इन्जिनियर आशिष महर्जनले जिल्लामा रहेका ४२ वटा सडकहरुमा ३७. ४ प्रतिशत वित्तीय प्रगति रहेको बताउनुभयो। उहाँले जिल्लामा ३९ वटा सडकमा निर्माणको लागि ठेक्का प्रक्रियामा रहेको जानकारी गराउनुभयो।
कान्तिलोकपथ आयोजनाका इन्जिनियर उपेन्द्र महरानले कान्तिलोकपथको ललितपुर खण्डमा पहिरोको मुख्य समस्या रहेको बताउनुभयो । उहाँले सडकलाई नियमित सञ्चालन गर्नका लागि मकवानपुर र ललितपुरको सीमानामा पर्ने बागमती खोलामा १० चक्के गाडी गुड्न मिल्ने बेलीब्रिज निर्माण गर्नेगरी काम भइरहेको जानकारी गराउनुभयो।
पूर्वाधार विकास कार्यालय ललितपुरका इन्जिनियर रबिन खातीले प्रदेश अन्तर्गत जिल्लामा सञ्चालनमा रहेका योजनामा ६ प्रतिशत वित्तीय प्रगति र ४० प्रतिशत भौतिक प्रगति भएको जानकारी गराउनुभयो।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर महेश शर्माले जिल्लामा १ सय १७ वटा प्रदेशस्तरीय आयोजना कार्यान्वयनमा रहेको जानकारी गराउँदै कार्यान्वयनमा रहेका प्रदेश अन्तर्गतका आयोजनामा ६८ प्रतिशत र संघीय आयोजनामा ६७ प्रतिशत प्रगति भएको बताउनुभयो। उहाँले खानेपानीको संरचना निर्माण गर्दा जग्गा प्राप्तिमा समस्या हुने गरेको जानकारी गराउनुभयो।
प्रकाशित समय १०:०१ बजे















