गृहपृष्ठ गुजरातको डान्डिया नृत्य प्रशिक्षण टोखामा सुरु
गुजरातको डान्डिया नृत्य प्रशिक्षण टोखामा सुरु
शिवकैलाश कलामन्दिर, टोखा–३ तथा डा एपिजे कलाम फाउन्डेसन र दिलीप थापा डान्स एकेडेमी, हावडा कोलकाताले आजदेखि टोखामा भारत गुजरात राज्यको प्रख्यात डान्डिया नृत्य कार्यशाला सुरु गरेका छन् । शुक्रबारसम्म चल्ने कार्यशालामा एकेडेमीका प्रशिक्षक दिलीप थापाले प्रशिक्षण दिइरहनुभएको छ ।
प्रशिक्षणमा कलामन्दिरका २५ विद्यार्थी तथा करिब ५० विद्यालयका नृत्य प्रशिक्षक गरी ४० जना सहभागी छन् । भारतको गुजरात राज्यको विशेष नृत्य डान्डिया हातमा लठ्ठी लिएर जोडीका साथ नाच्ने गरिन्छ । यो नाच खासगरी नवदुर्गा पूजा र विवाह आदि उत्सवमा प्रदर्शन गरिन्छ ।
कलामन्दिरका प्रबन्ध निर्देशक तथा कोरियोग्राफर नारायण रिजालले सांस्कृतिक आदानप्रदानअन्तर्गत यसपटक डान्डिया नृत्य प्रशिक्षण दिइएको जनाउँदै यसबाट दुई देशबिच संस्कृतिको आदानप्रदान र जानकारी हुनाका साथै आत्मीयता प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । प्रत्येक वर्ष दुवै देशमा सांस्कृतिक कार्यक्रम र प्रशिक्षण हुने गरेको जनाइएको छ ।
फाउन्डेसनका सचिव अब्दुल खालिक ‘मुन्ना भाइ’ ले कलाले दुई देश र नागरिकलाई भाइचारा वा प्रेमले जोड्ने जनाउँदै यसले दुवै देशमा शान्तिका लागि पनि योगदान गर्न सक्ने बताउनुभयो । नृत्य निर्देशक तथा मोडल रोशन बुढाथोकीले संयोजन गर्नुभएको कार्यशालामा विजेश्वरी सैनिक महाविद्यालयका नृत्य शिक्षक नरेन्द्र कोइरालाले पनि सहजीकरण गरिरहनुभएको छ ।
प्रकाशित समय २३:२३ बजे














