DG Creation

गृहपृष्ठ ओराकलले टिकटकको अमेरिका व्यवसाय खरिद गर्ने सम्भावना बढ्यो

ओराकलले टिकटकको अमेरिका व्यवसाय खरिद गर्ने सम्भावना बढ्यो

Oracle_To_buy_Tiktok

लोकप्रिय चिनियाँ भिडियो–सेयरिङ एप्लीकेसन टिकटकले आफ्नो अमेरिका व्यवसाय अमेरिकी कम्पनी ओराकललाई बिक्री गर्ने संकेत दिएको छ । टिकटकको अमेरिका व्यवसाय खरिद गर्ने बारेमा माइक्रोसफ्टसँग लामो वार्ता भए पनि अन्ततः त्यो पहल समाप्त भएको माइक्रोसफ्टले जनाएको छ ।

माइक्रोसफ्टले आइतबार एक विज्ञप्ति जारी गर्दै टिकटकको मुख्य कम्पनी बाइटडान्सले आफ्नो प्रस्ताव अस्वीकार गरेको जनाएको छ ।

अमेरिकी सूचना चुहावटको आशंका जनाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको अमेरिकामा हुने व्यवसाय अमेरिकी कम्पनीलाई बिक्री गर्न आदेश नै दिएका छन्। उनले आगामी सेप्टेम्बर २० भित्र टिकटकले निर्णय नगरे अमेरिकामा प्रतिबन्ध लगाउने गरी एक कार्यकारी आदेशमा हस्ताक्षर समेत गर्नेभएको छ ।

टिकटक र ह्वाइट हाउसले यसबारेमा कुनै टिप्पणी गर्न अस्वीकार गरेका छन् । टिकटक खरिदमा माइक्रोसफ्टसँग साझेदारी गर्न चाहेको वाल्मार्टले टिकटकमा लगानी गर्न अझै पनि आफूहरु उत्साहित रहेको जनाएको छ । वाल्मार्टले बाइटडान्स र अरु साझेदारसँग वार्ता गरिरहेको बताएको छ ।

टिकटकले अमेरिकी व्यवसायलाई अन्य विश्वबाट कसरी विस्थापित गर्ने भन्ने बारेमा अझै केही बताएको छैन । चिनियाँ बजारका लागि बाइटडान्सले टिकटकजस्तै डोइन नामको भिडियो–सेयरिङ एप्लीकेसन प्रयोगमा ल्याएको छ ।

बाइटडान्स र अमेरिकी कम्पनीबीच हुने किनबेचका सम्बन्धमा अमेरिकाको विदेशी लगानी समितिले मूल्याँकन गरेपछि मात्र अन्तिम टुंगो लाग्नेछ ।

टिकटकका अनुसार संयुक्तराज्य अमेरिकामा १० करोड र विश्वभर ७० करोड ग्राहक रहेका छन् । यस एप्लीकेसनको स्वामित्व चिनियाँ नागरिकमा रहेकाले पनि अमेरिकामा विशेष चासो दिइएको हो । ह्वाइट हाउसले टेलिकम कम्पनीहरु हुवावे र जेडटिई, विच्याट समेतका निकै लोकप्रिय एप्समाथि शृंखलाबद्ध प्रतिबन्धहरु घोषणा गरिरहेको छ ।

टिकटक खरिदमा अग्रपंक्तिमा देखिएको ओराकलले खासगरी डेटाबेस सफ्टवेयर निर्माण गर्दछ ।

प्रकाशित समय १०:१० बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation