गृहपृष्ठ नेपालको एसिड पीडित सम्बन्धी कानुनको स्वागत गर्दै अमिताभ
नेपालको एसिड पीडित सम्बन्धी कानुनको स्वागत गर्दै अमिताभ
नेपाल सरकारले एसिड आक्रमणका घटनालाई निरुत्साहित गर्न कडा कानुन ल्याउने तयारी गरेको छ । बलिउडका बरिष्ठ अभिनेता अमिताभ बच्चनले यस निर्णयको तारिफ गरेका छन् भने स्वागत समेत गरेका छन् ।
बच्चनले नयाँ निर्णयका लागि सरकारलाई दवाब दिँदै आएका अभियन्ता उज्ज्वल थापाको प्रशंसा गरेका छन् । पीडितका लागि थापाले गरेको कडा परिश्रमको प्रशंसा गर्दै सोमवार सामाजिक सञ्जाल मा एसिड पीडितका लागि नयाँ कानुन बनाउने निर्णयलाई उनले थापाको कडा परिश्रमको परिणाम भनी उल्लेख गरेका छन् । थापालाई बधाई दिँदै यो कार्य गर्व गर्न लायकको भनेका छन् । साथै बच्चनले यो निर्णय नेपालकै लागि मात्र नभई भारतका लागि प्रेरणाको स्रोत हुने बताएका छन् ।
उनले यसअघि वीरगन्जकी एसिड पीडित मुस्कान खातुनलाई भिडियो सन्देश पठाएर हौसला प्रदान गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणका घटनाहरूमा परेका १२ जना पीडितसँग केही दिनअघि बालुवाटारमा छलफल गरी पीडितको मागअनुसार अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाउने निर्णय गरेको बताएका थिए ।
प्रकाशित समय १२:४१ बजे















