गृहपृष्ठ रूसमा नागरिकको लापर्वाहीका कारण कोरोना धेरै फैलिएको सरकारको भनाइ
रूसमा नागरिकको लापर्वाहीका कारण कोरोना धेरै फैलिएको सरकारको भनाइ
रूसमा दिनप्रतिदिन कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक बढ्दै जानुमा नागरिकको लापर्वाही मुख्य कारण रहेको निश्कर्ष अधिकारीहरुले निकालेका छन् ।
राष्ट्रपति कार्यालय क्रेमलिनले दैनिक सङ्क्रमितको सङ्ख्या अत्यधिक हुदै जानुमा आम नागरिकको लापर्वाही गम्भीर कारण भएको निश्कर्ष निकालेको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्रि पेस्कोभले सोमबार दिएको जानकारी अनुसार आम नागरिकको आवतजावत र हेलचक्र्याइलाई गम्भीरताका साथ लिइएको छ ।
उहाँले आम नागरिकलाई कोरोनाबाट बच्ने उपायहरु अपनाउन र त्यसलाई वेवास्ता नगर्न अपिल गर्नुपर्नेमा जोड दिए ।
उनले पत्रकारहरुसँग भने, “सरकारले स्वास्थ्य मापदण्ड पालना गर्न पटक पटक आह्वान गरिरहेको छ, तर आम नागरिकले सुनेनन्, त्यसैले सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक बढ्दै गएको हो ।”
लकडाउनलाई पनि प्रभावकारी बनाउन नसकिएको बारेमा समेत राष्ट्रपति कार्यालयमा समिक्षा भएको उनले बताए ।
छलफलमा कार्यालयका विभिन्न विभागका प्रशासनिक अधिकारीहरु सहभागी भएको उनले जानकारी दिए ।
राष्ट्रपति कार्यालयका सवै विभागका अधिकारीहरुलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको उहाँको भनाई छ ।
रूसमा पछिल्लो २४ घण्टामा मात्रै दश हजार ८८८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै रुसमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या १२ लाख २५ हजार ८८९ पुगेको छ ।
प्रकाशित समय २२:२२ बजे















