गृहपृष्ठ भ्रष्टीकरणले नेता, कार्यकर्तासँगै देश बिग्रियो : माधव नेपाल
भ्रष्टीकरणले नेता, कार्यकर्तासँगै देश बिग्रियो : माधव नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।
पार्टीका पोलिटब्यूरो सदस्य देवशङ्कर पौडेलले लेख्नुभएको ‘लिखुसँग आत्मसमर्पण’ पुस्तक आलोकनगरस्थित केन्द्रीय कार्यालयमा आज विमोचन गर्दै उहाँले अहिलेका अधिकांश नेता तथा कार्यकर्ता भ्रष्टाचारको दलदलमा फस्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।
समाज भ्रष्टीकरणमा फस्दै गएपछि जनतामा छाएको निराशाले राजनीतिक व्यवस्था खतरामा रहेको बताउँदै उहाँले उनीहरूको विश्वास र भरोसालाई कायम राख्न समाजलाई भ्रष्टीकरणबाट मुक्त गर्नुपर्नेमा जोड दिनुभयो । मुलुकमा विभिन्न समयमा भएका राजनीतिक आन्दोलनबाट प्राप्त जनअधिकारलाई सुरक्षित गर्न देश र जनतालाई केन्द्रविन्दुमा राख्नुपर्ने अध्यक्ष नेपालको भनाइ थियो ।
मुलुकको राजनीति अहिले सहज ढङ्गले अगाडि बढ्न नसकेको बताउँदै उहाँले राजनीति सहज बनाउन तीनै तहका सरकारले चाँडो नागरिकलाई आवश्यक सेवा उपलब्ध गराउनुपर्ने बताउनुभयो । उहाँले पौडेलद्वारा लिखित पुस्तकले पाठकलाई नयाँ ज्ञान दिने विश्वास व्यक्त गर्नुभयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले वैचारिक दृष्टिकोण तथा तार्किक बहसका लागि सबैले किताब पढ्ने बानी बसाल्नुपर्ने सुझाव दिनुभयो ।
प्रकाशित समय १८:३१ बजे















