DG Creation

गृहपृष्ठ परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोग बनाउने नेपालको प्रस्तावमा चीन सहमत

परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोग बनाउने नेपालको प्रस्तावमा चीन सहमत

दुवै देशका परराष्ट्रमन्त्री रहने गरी संयुक्त आयोग बनाउन नेपालले गरेको प्रस्तावमा चीन सहमत भएको छ।

काठमाडौंमा मंगलबार सम्पन्न नेपाल र जनवादी गणतन्त्र चीनका परराष्ट्र मन्त्रालयहरूबीचको कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा दुवै पक्ष आयोग बनाउन राजी भएका हुन्।

बैठकपछि जारी नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुवै पक्षले विद्यमान द्विपक्षीय संयन्त्रलाई थप सक्रिय बनाउन र परराष्ट्रमन्त्रीस्तरमा संयुक्त आयोगलगायत नयाँ संयन्त्र स्थापना गर्नुपर्नेमा जोड दिएका उल्लेख छ।

 

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्साल र चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व चीनका उपविदेशमन्त्री सुन वेइडोङले गरेका थिए।

भेटका क्रममा दुवै पक्षले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धको समग्र पक्षको समीक्षा गर्नुका साथै विगतमा भएका सम्झौता र समझदारीपत्रको कार्यान्वयनमा भएको प्रगति र विगतमा भएका निर्णयहरूको मूल्यांकन गरेका थिए।

 

भारतसँग जस्तै चीनसँग पनि मन्त्रीस्तरीय संयुक्त आयोग बनाउन नेपालको प्रस्ताव
उनीहरूले आपसी सहमति भएका क्षेत्रमा सहयोगलाई थप प्रवर्धन गर्ने प्रतिबद्धता व्यक्त गर्दै पारस्परिक लाभका लागि आर्थिक अवसरको प्राप्तिमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

दुवै प्रतिनिधिमण्डलका प्रमुखले शान्तिपूर्ण सहअस्तित्वका आधार पञ्चशील रहेको दोहोर्‍याए र आपसी विश्वास, सद्भाव र समझदारीलाई नेपाल–चीन द्विपक्षीय सम्बन्धका प्रमुख विशेषता रहेको बताए।

परराष्ट्र सचिव लम्सालले सन् २०२६ मा नेपालको एलडीसी उत्तीर्ण हुँदा विकास सहयोग अभिवृद्धि गर्न चिनियाँ पक्षको प्रतिबद्धताका लागि आफ्ना समकक्षीलाई धन्यवाद दिइन्।

उपमन्त्री वेइडोङले एक चीन सिद्धान्तप्रति नेपालको प्रतिबद्धताको प्रशंसा गरे।

विज्ञप्तिअनुसार, दुवै पक्षले उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानको परम्परालाई कायम राख्ने विषयमा विचार आदानप्रदान गरेका छन्। उनीहरूले सन् २०२५ लाई नेपाल भ्रमण वर्ष मनाउने सन्दर्भमा चीनमा नेपालको पर्यटन सम्भावना प्रवर्धनलगायत व्यापार, लगानी, पूर्वाधार विकास, कनेक्टिभिटी, कृषिलगायतका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने उपायबारे छलफल भएको थियो ।

दुवै पक्षले सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव विशेष कार्यक्रम र गतिविधिका साथ मनाउने निर्णय गरेका छन् ।

परराष्ट्र सचिव लम्सालले भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको आयोजना गरेकी थिइन्।

नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव एवं पूर्वोत्तर एसिया महाशाखाका प्रमुख कृष्णप्रसाद ढकाल र नेपाल सरकारका सम्बन्धित मन्त्रालय तथा निकायका वरिष्ठ अधिकारी सहभागी थिए।

त्यसैगरी चिनियाँ प्रतिनिधिमण्डलमा नेपालका लागि चिनियाँ राजदूत छन सोङ र चीनको परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित चिनियाँ दूतावासका अन्य वरिष्ठ अधिकारीहरू थिए।

चिनियाँ उपमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल सोमबार काठमाडौं आइपुगेको थियो र बुधबार बेइजिङ प्रस्थान गर्नेछ।

 

प्रकाशित समय ०६:४३ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation