गृहपृष्ठ एकीकृत समाजवादीका शीर्ष नेताहरू सहमति खोज्न रोयल सिंगीमा
एकीकृत समाजवादीका शीर्ष नेताहरू सहमति खोज्न रोयल सिंगीमा
नेतृत्वमा सहमति खोज्न एकीकृत समाजवादीका शीर्ष नेताहरू कमलादीस्थित रोयल सिंगी होटलमा छलफलमा जुटेका छन् । चार दिनदेखि जारी सो पार्टीको १० औँ महाधिवेशन अन्तर्गत बुधबार विभिन्न प्रतिवेदनमाथिको छलफल सकेर पारित भएपछि नेताहरू नयाँ नेतृत्व सहमतिमै चयन गर्ने प्रयासस्वरुप छलफलमा जुटेका हुन् ।
स्रोतका अनुसार छलफलमा माधव नेपाल, झलनाथ खनाल, बेदुराम भुसाल, घनश्याम भुसाल र राजेन्द्र पाण्डेलगायतका नेताहरू सहमति जुटाउन छलफलमा सहभागी छन् ।
अध्यक्ष माधव नेपालसहित अन्य नेताहरूले महाधिवेशनमा पेस गरेको प्रतिवेदन पारित भएसँगै बिहीबार बिहानबाट निर्वाचन प्रक्रिया सुरु गर्ने बताइएको छ । बिहीबार बिहान ८ बजेबाट निर्वाचन प्रक्रिया सुरु गर्ने निर्वाचन आयोगका प्रमुख माधव पौडेलले जानकारी दिए ।
नयाँ नेतृत्व चयनका सवालमा शीर्ष नेताहरू सहमतिमै टुङ्ग्याउने पक्षमा छन् भने महाधिवेशन प्रतिनिधिहरू अध्यक्ष र महासचिवबाहेक अन्य पदमा मतदानमार्फत प्रतिस्पर्धा नै हुनुपर्ने पक्षमा देखिन्छन् । अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी पदमा निर्वाचन हुँदा अधिकांश पदाधिकारी हार्ने भएकाले पनि सबै पदमा सहमति गर्नुपर्छ भन्ने एकथरी नेताहरूको जोड छ । तर अध्यक्ष र महासचिव बाहेकका पदमा पनि सहमति गरे विद्रोह गर्ने महाधिवेशन प्रतिनिधिहरूले चेतावनी दिएका छन् ।
महाधिवेशनमा अध्यक्ष माधवकुमार नेपालले पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) ले अगाडि सारेका समाजको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका मागलाई समाजवादी कार्यक्रमका अभिन्न अंग बनेको आशयको दस्ताबेज पेस गरेका थिए । सो दस्ताबेज सुझावसहित महाधिवेशन हलले पारित गरेको हो ।
प्रकाशित समय २२:५८ बजे














