गृहपृष्ठ प्रचण्डकै शैलीमा अध्यक्ष बने माधव
प्रचण्डकै शैलीमा अध्यक्ष बने माधव
एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनले पुरानै नेतृत्वलाई निरन्तरतालाई दिएको छ । बिहीबार साँझ अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले माधवकुमार नेपाल निर्विरोध अध्यक्ष चयन भएको घोषणा गरेका हुन् ।
सम्मानित नेतामा आफ्नै नाम लिएका पूर्वप्रधानमन्त्री खनालले घनश्याम भूसाल निर्विरोध महासचिव बनेको घोषणा गरेका छन् । अध्यक्ष मण्डलको हैसियतमा खनालले घोषणा गरेका नामहरू अनुमोदन गरिदिन हलमा सहभागी प्रतिनिधिहरुसँग आग्रह गरेका थिए ।
प्रतिनिधिहरुले ताली बजाएर अनुमोदनको जनाऊ दिएपछि खनालले थप कार्यसूची प्रस्तुत गरे । उनका अनुसार, अब बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरु सचिवालय बैठकबाट टुंग्याइनेछ । ‘क्षमता, योग्यता र भौगोलिका क्षेत्र हेरेर सचिवालयले बाँकी पदाधिकारी र केन्द्रीय सदस्य टुंगो लगाउनेछ’, खनालले घोषणा गरे ।
बाँकी पदाधिकारी र केन्द्रीय सदस्य टुंग्याउने घोषणालाई पनि अनुमोदन गरिदिन उनले आग्रह गरे । हलबाट उस्तै ताली बज्यो । तर यसपटक मञ्चमै रहेकी पार्टी सचिव रामकुमारी झाँक्रीले असहमतिको हात उठाएकी थिइन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् झाँक्रीले अध्यक्ष र महासचिव पदमा निर्विरोध गर्ने सहमति भएपनि बाँकी पद र केन्द्रीय सदस्यबारे अध्यक्ष मण्डललाई कुनै म्याण्डेट नरहेको प्रष्ट्याइन् ।
तर उनको असहमति बन्दसत्र हलमा खनालले सुन्ने अवस्था थिएन । खनाल फटाफट अगाडि बढे । अर्को घोषणा गरे, ‘अब तपाईंहरु यहाँ बसिरहन पर्दैन, कमिटीलाई पूर्णता दिन सचिवालयले काम गर्छ ।’
अर्थात् खनालले पाँच दिनसम्म चलेको महाधिवेशन समापन गरे । अरु नेताहरुका अनुसार पनि १६ असारदेखि कमलादीमा जारी महाधिवेशन अधुरो नेतृत्व चयन गर्दै सकिएको छ । ‘मूल नेतृत्व निर्विरोध भयो, बाँकी कुरा अब हुन्छ । तर महाधिवेशन सकियो’, उपमहासचिव प्रकाश ज्वाला भन्छन् ।
उनका अनुसार, नयाँ कमिटी नबनेसम्म चलिरहेकै कमिटी र नेतृत्व क्रियाशील रहने एकीकृत समाजवादीको विधान रहेकाले पुरानै सचिवालयले बाँकी नेतृत्व चयन गर्नेछ । एकीकृत समाजवादीको पछिल्लो सचिवालय बैठकको निर्णय बमोजिम यो महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नुपर्नेछ ।
प्रकाशित समय २२:२० बजे















