गृहपृष्ठ नयाँ ठिमीमा ‘चिया मार्ग’ चिया पसल सञ्चालनमा
नयाँ ठिमीमा ‘चिया मार्ग’ चिया पसल सञ्चालनमा
नयाँ ठिमीस्थित पाथिभरा चोकमा ‘चिया मार्ग’ नामक नयाँ चिया पसलले आफ्नो सेवा सुरु गरेको छ। तीन जना युवाको संयुक्त प्रयास र झन्डै १० लाख रुपैयाँको लगानीमा स्थापना गरिएको यो पसलले चिया, कफी र बेकरीका विभिन्न स्वादिष्ट परिकारहरू उपलब्ध गराउँदैछ।
सन्चालकहरूका अनुसार, वैदेशिक रोजगारीको प्रलोभनलाई त्यागेर स्वदेशमै केही नयाँ र फरक गर्न सकिन्छ भन्ने सोचले उनीहरू यो व्यवसायमा लागेका हुन्। “विदेश गएर दुःख गर्नु र परिवारसँग छुट्टिनु भन्दा आफ्नै देशमै बसेर केही गर्नु राम्रो लाग्यो,” पसलका एक सञ्चालकले भने।
‘चिया मार्ग’ मा प्रयोग हुने अधिकांश सामग्रीहरू स्वदेशमै उत्पादन भएका हुन्। विशेषतः चिया पत्तीसँगै अन्य कच्चा पदार्थहरू पनि नेपाली बजारमै उपलब्ध हुने किसिमका छनौट गरिएको सञ्चालकहरू बताउँछन्। यसले नेपालको आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्नुका साथै स्थानीय व्यवसायलाई पनि सघाउने विश्वास गरिएको छ।
पाथिभरा चोकको बीचमा अवस्थित पसल सहज पहुँच हुने स्थानमा रहेको छ। विद्यार्थी, कर्मचारी र टोलवासीका लागि भेटघाट, आराम र चिया सँगै समय बिताउन मिल्ने रमणीय स्थलको रूपमा यो पसलको स्वरूप विकास गरिएको छ। आरामदायी बस्ने ठाउँ, शान्त संगीत, शुद्ध खानेकुरा र आत्मीय व्यवहारले ग्राहक तान्न सफल हुने विश्वास सञ्चालकहरूले लिएका छन्।
यो पसल केवल चिया बिक्री गर्ने स्थान मात्र नभई युवाले आत्मनिर्भर बन्न सक्ने उदाहरणीय अभ्यासको रूपमा पनि हेरिएको छ। हाल नेपालका धेरै युवा रोजगारको खोजीमा विदेशिने क्रम बढ्दो छ। यस्तो अवस्थामा ‘चिया मार्ग’ जस्ता प्रयासले देशमै रोजगारी सिर्जना गर्ने, स्वदेशमै सम्भावना खोज्ने र आत्मनिर्भर बन्ने संस्कार निर्माण गर्न सघाउने अपेक्षा गरिएको छ।
स्थानीय बासिन्दाहरूले पनि यो पहलको प्रशंसा गर्दै आएका छन्। “हामीलाई टोलमै स्वच्छ र शान्त वातावरणमा बसेर चिया खान पाइने स्थान खुलेकोमा खुसी लागेको छ,” एक स्थानीय ग्राहकले प्रतिक्रिया दिए।
प्रकाशित समय १७:४७ बजे









