DG Creation

गृहपृष्ठ नेपाली कांग्रेसमा एआई बहस: नीतिगत व्यवस्थासंगै कार्यान्वयनमा जोड

नेपाली कांग्रेसमा एआई बहस: नीतिगत व्यवस्थासंगै कार्यान्वयनमा जोड

ललितपुर, १२ साउन:  सूचना प्रविधिको विकाससंगै  कृतिम बुद्धिमता (आर्टिफिसियल इन्टेलिजेन्स)को विकास र प्रयोग बढ्दो अवस्थामा रहेको छ।

सात अर्व जनस‌ंख्या भएको विश्वमा रहेका व्यक्तिको जीवनशैलीमा कृतिम बुद्धिमताले आफ्नो प्रभाव दिनानुदिन बढाउँदै लगिरहेको अवस्था छ। यसको प्रयोग व्यापक बढ्दै जाँदा नेपालका व्यक्ति, समाज, समुदाय, संघसंस्था र राजनीतिक दल र सरकारी तहमा समेत यसको प्रयोग र नियमनका बारेमा बहस, छलफल जारी छ ।
यही बिषयमा केन्द्रीत रहेर देशकै पुरानो पार्टी नेपाली काँग्रेसले आइतबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा नेपालको विकासकालागि कृतिम बौद्धिकता समग्र विश्लेषण विषयक कार्यक्रम आयोजना गरेर बहसको श्र‌ृङ्खला प्रारम्भ गरेको छ।

हुन त आजभोली नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा हरेक दिनजसो विभिन्न विषयमा नीतिगत बहस हुन्छन्, सरकार र संसदमा प्रभावकारी भूमिका निर्वाह गर्नका लागि पार्टीका बिषयगत विभागहरुले बहस, छलफलमार्फत नेता र सांसदहरुलाई हरेक बिषय सन्दर्भमा आधारित रहेर निष्कर्षहरु पनि दिइरहेका छन् ।
मुलुकमा राजनीतिक आन्दोलनदेखि पूर्वाधार विकासको अगुवाइ गर्ने नेपाली कांग्रेसलाई धेरैले ‘पुरानो ढर्राको पार्टी’ भनेर चर्चा गर्छन्। तर, यही कांग्रेसले अब कृत्रिम बुद्धिमत्ता (एआई) जस्तो अत्याधुनिक विषयलाई केन्द्रमा राखेर केन्द्रीय कार्यालयमै विशेष छलफलको आयोजना गरेर प्रविधिमैत्री राजनीतिक अभ्यासको सन्देश मात्रै दिएको छैन, जनताको जीवनशैली, कृषि पद्धतिमा सुधार, लागतप्रभावी उत्पादनलाई कसरी बढवा दिन सकिन्छ भन्ने बिषयमा समेत बहसलाई निरन्तरता दिएको छ।
एआईको सदुपयोग, सम्भाव्यता, नीति निर्माण र उत्तरदायी नेतृत्वबारे गहन विमर्शका लागि आयोजना गरिएको कार्यक्रमको उद्घाटन नै एआईको प्रयोगमार्फत् मोबाइल गरियो । कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मोवाइलमा एआई फङ्सन क्लिक गरेर बत्तीबालेर कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले एक क्लिकमा सेवा प्रवाह सम्भव बनाउने क्षमतासहितको एआई यदि सही ढंगले प्रयोग गरियो भने, यसले विकासको गतिमा अभूतपूर्व तीव्रता ल्याउन सक्छ भन्नुभयो।
उहाँले नेपाली कांग्रेस सधैं नवप्रवर्तन, उदार लोकतन्त्र र सुशासनको पक्षमा उभिँदै आएको छ भन्दै अब जनतालाई केन्द्रमा राख्दै डिजिटल नेपाल निर्माण गर्नुपर्ने समय आएकोमा जोड दिनुभयो।

विभागका संयोजक सुशीला मिश्रले तमाम युगहरू पार गरिसकेका छौं भन्दै अब एआई हाम्रो विकास यात्राको सशक्त सहयात्री हुन सक्ने भएकोले यसका जोखिमहरूलाई समेत ध्यानमा राख्दै रणनीतिक नीति निर्माण अनिवार्य छ भन्नुभयो।
एआई एसोसिएसन नेपालका उपाध्यक्ष सुरेश पोखरेलले एआईप्रतिको अज्ञानी भयलाई चिर्दै तथ्यमा आधारित दृष्टिकोण अपनाउन आग्रह गर्नुभयो। 
“बिजुली बत्तीलाई पनि एक समय विनाशकारी शक्तिको रूपमा हेरिएको थियो, अहिले एआईप्रति पनि त्यस्तै डर फैलिएको छ, तर छिमेकी भारतले यस क्षेत्रमा गरिरहेका प्रगतिशील कामहरूबाट हामीले सिक्न सक्छौं।” उहाँले भन्नुभयो।
उहाँले डेटा इकोसिस्टम, पूर्वाधार, ऊर्जा, एल्गोरिदम, नवप्रवर्तन, जनशक्ति निर्माण र स्पष्ट नीतिगत सोचमार्फत नेपालले पनि आफ्नै एआई खाका तयार गर्न सक्ने धारणा राख्नुभयो।

कार्यक्रमको विशेष आकर्षण थियो — डिजिटल नेपालको विकास यात्राबारे तयार गरिएको भिडियो प्रस्तुति। जसमा नेपालले प्रविधिको क्षेत्रमा हालसम्म प्राप्त गरेका उपलब्धीबारे चर्चा गरिएको थियो । त्यसपछि ‘के नेपाल एआईका लागि तयार छ? नैतिक र समावेशी नेतृत्वका आधार निर्माण कसरी गर्न सकिन्छ?’ भन्ने शीर्षकमा गरिएको प्यानल छलफलले कार्यक्रममा गहिराइ थप्यो।
छलफल सत्रमा टुटलका संस्थापक इञ्जिनियर शिक्षित भट्टले नेपालमा एआईको पूर्वाधार, नीतिगत तयारी र अवसरहरूको समग्र मूल्याङ्कन रिपोर्टबारे जानकारी गराउनुभयो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव आदेश खड्का, प्राध्यापक डा. सुदन झा, ई–गभर्नेन्स आयोगका प्रमुख कार्यकारी दिपेश विष्ट, डेटा ड्रिभन गभर्नेन्स विज्ञ सजना  महर्जनले एआई केवल प्रविधि मात्र बुझ्न नहुने धारणा राख्नुभयो । यसका लागि  राजनीतिक तहबाट स्पष्ट सोच र दीर्घकालीन दृष्टिकोण आवश्यक भएको विज्ञहरुले बताए।
बहसमा समूहगत छलफलको अध्यक्षता गर्नुकएका कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले एआई विकासको दिशा अनिवार्य हुँदै गएको छ भन्दै यसलाई समावेशी र उत्तरदायी नेतृत्वसँग गाँस्ने चुनौती पनि उत्तिकै ठूलो भएकोले कांग्रेस अब यस्ता विमर्शमा पनि नेतृत्व गर्न तयार हुनुपर्नेमा जोड दिनुभयो।
नेपाली कांग्रेस विज्ञान तथा सूचना प्रविधि विभागले आयोजना गरेको  विभागले आगामी दिनमा यसबारे थप अध्ययन, छलफल र नीतिगत हस्तक्षेपका कार्यक्रमहरू सञ्चालन गर्ने संयोजक मिश्रले जानकारी गराउनुभयो।
‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ को मूल मन्त्र बोकेको कांग्रेस अब प्रविधिमैत्री राजनीतिक अभ्यासमार्फत आधुनिक, समावेशी र उत्तरदायी नेपाल निर्माणको यात्रामा होमिएकोसमेत उहाँको भनाई थियो।

सामन्ती राणा शासनको अन्त्य, प्रजातन्त्रको स्थापना, तत्कालीन राजा महेन्द्रको तानाशाही शासन,पञ्चायतको अन्त्य, बहुदलीय व्यवस्थाको स्थापना, माओवादी आन्दोलनको अन्त्यसंगै संविधानसभाको निर्वाचन र संविधान निर्माणसम्म नेतृत्वदायी भूमिका  राजनीतिक दलहरुसंग सहकार्य गरेर काम देशको परिवर्तनको आन्दोलनको अग्रता हासिल गरेको कांग्रेसले सूचना प्रविधिको विकाससंगै विकसित कृतिम बुद्धिमताको उपयोग आम जनजीवनमा हुनेगरी नीतिगत व्यवस्था गर्दै व्यवहारमा कार्यान्वयनमा ल्याउन पनि नेतृत्व गर्न सक्नुपर्छ भन्ने नेता तथा कार्यकर्ताहरुको भाव थियोे।

प्रकाशित समय १०:११ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation