DG Creation

गृहपृष्ठ बागमती गाउँपालिकाले जेन जी आन्दोलनमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पुनर्निर्माण अभियान सुरु

बागमती गाउँपालिकाले जेन जी आन्दोलनमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पुनर्निर्माण अभियान सुरु

बागमती गाउँपालिका, ललितपुरमा कार्यरत कर्मचारीहरुको उपस्थितिमा आइतबार विशेष छलफल सम्पन्न भएको छ । नेपालमा भाद्र २३ गतेदेखि सुरु भएको जेन जी आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिको समीक्षा गर्न आयोजित छलफलमा सहभागीहरुले आन्दोलनका क्रममा निधन भएका नेपाली नागरिकप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै मृत आत्माको चीरशान्तिको कामना गरिएको छ ।

गाउँपालिकाका सूचना अधिकारी मिलन शर्मा घिमिरेका अनुसार छलफलले आन्दोलनमा घाइते भएकाहरुलाई शीघ्र स्वास्थ्य लाभको शुभकामना दिंदै देशमा छिट्टै शान्ति, सुरक्षा र सुशासन कायम होस् भन्ने अपेक्षा राखिएको छ ।

जेन जी आन्दोलनका क्रममा नेपालका ऐतिहासिक संरचना, सरकारी तथा निजी भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको भन्दै बागमती गाउँपालिकाका कर्मचारीहरुले “हाम्रो नेपाल हामी आफै बनाउँ” भन्ने नारा सहित पुनर्निर्माण अभियान सुरु गरेका छन् । सो क्रममा तत्काल रु. २०,८५५ (अक्षरेपी बीस हजार आठ सय पचपन्न) रकम संकलन गरी नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष, नेपाल बैंक लिमिटेड रामशाहपथ शाखा (खाता नं. ००२००१००५१००३९०००००१) मा जम्मा गरिएको सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो ।

यस अभियानलाई अझ प्रभावकारी बनाउन इच्छुक नागरिकलाई पनि सो कोषमा रकम जम्मा गर्न तथा भुक्तानीको विवरण सामाजिक सञ्जालमा #hamronepalhamiafaibanau ह्यासट्याग सहित सार्वजनिक गर्न अपिल गरिएको छ ।

प्रकाशित समय १८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation