DG Creation

गृहपृष्ठ आन्दोलनमा निजी क्षेत्रमाथि आक्रमण गर्नेहरूमाथि कारबाही गर्नुपर्नेमा जोड

आन्दोलनमा निजी क्षेत्रमाथि आक्रमण गर्नेहरूमाथि कारबाही गर्नुपर्नेमा जोड

ललितपुर उद्योग बाणिज्य संघको ४६ ओैं वार्षिक साधारणसभामा धारणा राख्ने वक्ताहरुले आन्दोलनमा निजी क्षेत्रमाथि आक्रमण गर्नेहरुमाथि छानबिन गरेर कारवाही हुनुपर्छ भन्नेमा जोड दिएका छन् ।

आज शुक्रबार शंखमुलस्थित यल दरवारमा आयाेजित संघको वार्षिक साधारणसभामा मन्तव्य राख्नुहुँदै नेपाल उद्योग बाणिज्य महासंघका कार्यवाहक अध्यक्ष अन्जनकुमार श्रेष्ठले आन्दोलनमा व्यक्ति केन्द्रीत भएर निजी क्षेत्रमाथि भएको प्रहारलाई गम्भीर रुपले हेर्न जरुरी छ भन्नुभएको हो।
“देशमा लगानीको सुरक्षा र व्यवसायिक वातावरण तयार गर्नु आवश्यक छ, निजी क्षेत्रका सबै व्यवसायीहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्छ, कानुनी राज्य, शान्ति र स्थायित्वका लागि सरकारलाई निजी क्षेत्रले सहयोग गर्नुपर्छ, संवादबाट समस्या समाधान गर्न ध्यान दिनुपर्छ।” उहाँले भन्नुभयो।

नेपाली समाजमा नाफा गर्नु अपराध हो भन्ने रुपमा हेरिएको छ भन्नुहुँदै उहाँले जायज नाफा गर्नु त अपराध नभएकोले नाफालाई अपराधका रुपमा हेर्ने सोच परिवर्तन हुनुपर्छ भन्नुभयो।

श्रेष्ठले देशको जागिर खानेखालको मात्रै शिक्षा भयो भन्दै जागिर दिनेखालको,उद्यमशीलता जागरण गराउनेखालको शिक्षा नै भएन भन्दै यसमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
“नागरिकले रोजगारी लागि बाहिर नजाने अवस्था सृजना गर्नुपर्छ, अवसरको वातावरण तयार गर्ने काम सरकारको हो, रोजगारी दिने काम निजी क्षेत्रको हो,राज्य र समाजले निजी क्षेत्रलाई विश्वासमा लिन सक्नुपर्छ, अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत  निजी क्षेत्रको योगदान रहेको छ, निजी क्षेत्रको योगदानलाई तीनै तहको सरकारले प्राथमिकतामा राख्नुपर्छ।” उहाँले भन्नुभयो।

श्रेष्ठले निजी क्षेत्र समृद्धिको संवाहक भएकोले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो।
“सरकारले उद्योग व्यापार गर्ने हैन, सरकार नियमन गर्ने र संरक्षकत्व प्रदान गर्ने हो, आवश्यक वातावरण बनाइदिने हो, निजी क्षेत्रले गर्ने काम किफायती पनि हुन्छ।” उहाँले भन्नुभयो।
उहाँले घोषित समयमा निर्वाचन होस् भन्नका लागि निजीले सकरात्मक भूमिका खेल्नुपर्छ भन्ने धारणा राख्नुभयो।

ललितपुर महानगरपालिकाको उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ललितपुरको उद्योग र बाणिज्य क्षेत्रलाई सक्षम र सबल बनाउनका लागि महानगर सहयोग गर्न तत्पर रहेको बताउँदै ललितपुर हस्तकला र व्यवसायको केन्द्रको रुपमा रहेको धारणा राख्नुभयो। उहाँले ललितपुरले स्थानीय सामानको बजारीकरण गर्दै उद्यमशीलता र सृजनशील कार्यले देशलाई सुखी र समृद्ध बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो।
संघका अध्यक्ष विश्वराज बज्राचार्यले निजी क्षेत्रको भूमिकालाई सशक्त बनाउँदै उद्योगी व्यवसायीहरुको हकहीतका लागि क्रियाशील भएर लाग्ने बताउनुभयो।

प्रकाशित समय १९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation