गृहपृष्ठ जलवायु परिवर्तको असरले प्राकृतिक सम्पदा विनाश भइरहेको छः मन्त्री राई
जलवायु परिवर्तको असरले प्राकृतिक सम्पदा विनाश भइरहेको छः मन्त्री राई
खानेपानीमन्त्री राजेन्द्रकुमार राईले जलवायु परिवर्तनका कारण प्राकृतिक सम्पदामा ठूलो असर परिरहेको बताउनुभएको छ । डिप्लोमा इञ्जिनियर्स एशोसिएसन, नेपाल (डिन)को ४४औँ स्थापना दिवसका अवसरमा आज मन्त्री राईले जलवायु परिवर्तनका कारण प्राकृतिक सम्पदामा नराम्रो असर परेको बताउनुभएको हो ।
“पछिल्लो समय जलवायु परिवर्तनका कारण अच्चमका घटना घटिरहेका छन्, हिमालमा फल्ने फलफूल पहाडमा उत्पादन हुन थालेका छन्”, मन्त्री राईले भन्नुभयो, “हिमालमा हिउँको सतह घट्दै छ, गर्मी प्रत्येक वर्ष बढिरहेको छ, त्यसको असर बढ्दै गएको छ, सबै सजक भएर वातावरण जोगाउने कार्यममा जुट्न मेरो आग्रह छ ।”
त्यस अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेशसभा सदस्य पूर्वयोजना आयोगका उपाध्यक्ष डा दिनेशचन्द्र देवकोटाले मुलुकको विकास र समाज रुपान्तरण गर्ने क्रममा डिप्लोमा इञ्जिनियरिङको ठूलो भूमिका रहेको बताउनुभयो ।
उहाँले पछिल्लो समय जलवायु प्रदूषणका कारण देशमा जमिनको बिग्रिँदो अवस्था रहेको, वर्षायाम आएपछि डराउनुपर्ने अवस्था आएकामा चिन्ता व्यक्त गर्दै पुरानै अवस्थामा जमिनलाई ल्याउनका लागि वन विनाश कम गर्दै वातावरण संरक्षणमा जुट्न आह्वानसमेत गर्नुभएको गर्नुभयो ।
विकास निर्माणमा चरम लापरवाहीका कारण विकास निर्माणका काम सुरु नहुँदै नष्ट हुने गरेको भन्दै उहाँले जलवायु परिवर्तनले खानेपानी, जलविद्युत् क्षेत्रमा असर पुगेको बताउनुभयो । वातावरणलाई सुरक्षित गर्नका लागि मुख्यरुपमा पानी, कृषि र वनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिँदै उहाँले परम्परागत नभएर हरित अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्ने, छरिएको पुँजीलाई एकीकृत गर्नुपर्ने, सहकारी समस्या समाधान गर्नुपर्ने र जलविद्युत्को अवसरलाई उपयोग हुनेमा जोड दिनुभयो ।
डिनका अध्यक्ष कामेश्वरप्रसाद सिंहले देशमा निर्माण हुने हरेक विकास निर्माणका काम प्राकृतिकरुपमा नै सहज हुनेगरी निर्माण गर्नुपर्नेमा जोड दिँदै प्राकृतिक सम्पदाको संरक्षण गर्दै विकास निर्माणलाई दिगो बनाउने कुरामा डिनको भूमिकालाई थप प्रभावकारी बनाउने बताउनुभयो ।
प्रकाशित समय ०८:४९ बजे















