DG Creation

गृहपृष्ठ रासस मिडिया सङ्ग्रहालयप्रति आकर्षण बढ्दो

रासस मिडिया सङ्ग्रहालयप्रति आकर्षण बढ्दो

काठमाडौँ, २१ भदौः राष्ट्रिय समाचार समिति (रासस)को केन्द्रीय कार्यालयमा स्थापित पहिलो मिडिया सङ्ग्रहालयको आकर्षण बढेको छ । मिडिया सङ्ग्रहालय सञ्चालन भएदेखि सरकारी उच्च अधिकारी, विज्ञ, सरोकारवालाले अवलोकन गरिरहेका छन् । यसैबीच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिवद्वय गजेन्द्रकुमार ठाकुर र अनिलकुमार दत्तले आज सङ्ग्रहालयको अवलोकन गर्नुभयो ।

सहसचिव एवं प्रवक्ता ठाकुरले सङ्ग्रहालयले राससको ऐतिहासिक पृष्ठभूमिदेखि हालसम्मको अवस्थालाई झल्काउने प्रयास गरेको बताउनुभयो । “मिडिया सङ्ग्रहालयमा रासस स्थापनाकालदेखिको समाचार, पत्रिका, प्रयोग गरिएका विद्युतीय औजार, उपकरण आदि प्रदर्शित छ”, उहाँले भन्नुभयो, “यहाँको ऐतिहासिक पृष्ठभूमिदेखि हालसम्मको अवस्था झल्काउने प्रयास गरेकामा संस्थाप्रति आभार प्रकट गर्दछु ।”

मन्त्रालयकै अर्का सहसचिव दत्तले राससले ऐतिहासिक विषयवस्तु र सामग्रीलाई सङ्ग्रहित गरेर राम्रो गरेकामा नेतृत्व र परिवारप्रति सराहना व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा राससले गर्ने हरकार्यमा मन्त्रालयको तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

सहसचिव दत्तले सङ्ग्रहालय नयाँ पुस्ताका लागि अध्ययन, अनुसन्धानका लागि महत्त्वपूर्ण स्रोत हुने विश्वास व्यक्त गर्नुभयो । राससले एउटा कोठामा ६३ वर्षअघिको इतिहासलाई सङ्ग्रह गरी मिडिया सङ्ग्रहालय सञ्चालनमा ल्याएको हो । सङ्ग्रहालयको गत साउन ३२ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको थियो । सङ्ग्रहालय अवलोकनकर्ता अधिकांशले राससले अतीत जगेर्ना गर्दै नेपाली पत्रकारिताको इतिहास अध्ययन, अनुसन्धान गर्ने नयाँ आयाम थपिएको प्रतिक्रिया दिएका छन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राससले सञ्चालनमा ल्याएको मिडिया सङ्ग्रहालयले नेपालको पत्रकारिताको इतिहास, विकासक्रम र सञ्चारको विकास प्रक्रिया दुवैलाई बुझ्न र बुझाउन योगदान पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “झण्डै ३५ वर्षअघि पत्रकारिता सुरु गरेका हामीजस्तालाई त्यो जमानाका सामग्री हेर्ने अवसर पाउँदा रोमाञ्चक बनाउँछ । यसको अवलोकनले आफूलाई अतितको स्मरण पनि गरायो । राससलाई सफलता मिलोस शुभकामना छ ।”

नेपाल न्यूजडटकमका सम्पादक राजु सिलवालले राससको मिडिया सङ्ग्रहालय प्रभावकारी लागेको बताउनुभयो । उहाँले पत्रकारिताका विद्यार्थीहरूले सङ्ग्रहालयबाट नेपालको पत्रकारिताको अवस्थाबारे अध्ययन गर्ने अवसर प्रदान गरेको बताउनुभयो ।

मधेसी पत्रकार समाजका अध्यक्ष मोहनकुमार सिंहले राससले सङ्ग्रहालय स्थापना गरेर संस्थाको इतिहास भावी पुस्ताका लागि बुझ्न र अध्ययन, अनुसन्धान गर्न उपयोगी बनाएको धारणा राख्नुभयो । “रासस सङ्ग्रहालयको अवलोकन गर्न पाउँदा गौरवको अनुभूति भएको छ । यो एउटा राम्रो प्रयत्न हो, यसले इतिहास बोकेको छ”, उहाँले भन्नुभयो ।

यो सङ्ग्रहालय नेपालको पहिलो मिडिया सङ्ग्रहालयका रूपमा रहेको राससले जनाएको छ । ‘डिजिटल’ युगमा आफूलाई समयानुकूल परिवर्तन गरी सेवा प्रवाहको गुणस्तरमा सुधार गर्न, राससले प्रयास गरिरहेको छ । ‘कन्टेन्ट’ सुधार, समाचारमा गुणस्तर अभिवृद्धिका साथै सेवा विविधीकरण गरिरहेको छ ।

विसं २०१८ देखि मिडियासँग जोडिएका समाचारसम्बन्धी उपकरण सङ्कलन गरी सङ्ग्रहालयमा सङ्ग्रहित गरेको छ । रेडियो नेपालका निर्देशक पुष्करराज गौतमले रासस मिडिया सङ्ग्रहालयको अवलोकन गर्दा नेपालको इतिहासमा मिडियामा प्रयोग भएका ऐतिहासिक उपकरण र दस्तावेजहरुको जानकारी प्राप्त गरेको बताउनुभयो । उहाँले सङ्ग्रहालयको थप विस्तारमा जोड दिनुभयो ।

राससको सङ्ग्रहालयमा विभिन्न ४६ प्रकारका सामग्री राखिएका छन् । त्यसमा रेडियो, टेलिभिजन, टेलिप्रिन्ट, राससका प्रकाशन सामग्री, पुराना माइकलगायत छन् । रासस स्थापनाको ६३ वर्ष पुगेका अवसरमा प्रयोग गरिएका प्रविधि, उपकरण, सामग्री, समाचारको इतिहास र प्रकाशन सङ्ग्रहालयमा उपलब्ध छ ।

राससले सेवालाई क्रमशः विविधिकरण गरिरहेको छ । नेपाली समाचारबाट सुरु भएको राससको सेवा अहिले अङ्ग्रेजी र अन्तर्राष्ट्रिय समाचार, फिचर/आलेख/विचार, फोटो, भिडियो, अडियो हुँदै विसं २०८० माघदेखि अवधि भाषामार्फत मातृभाषाको समाचार सेवा सुरुआत गरेको छ । राससले ६३ वर्षे इतिहासमा पहिलोपटक यही भदौ १७ गतेदेखि नेपाली समाचारको चौबिसै घण्टा सेवा सुरु गरेको छ ।

प्रकाशित समय २२:१० बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation