गृहपृष्ठ राममन्दिर बनाएकै वर्ष अयोध्यामा भाजपा हार्नुका ६ कारण
राममन्दिर बनाएकै वर्ष अयोध्यामा भाजपा हार्नुका ६ कारण
भारतीय जनता पार्टीले ३० वर्ष लामो आफ्नो प्रतिबद्धता पूरा गर्दै अयोध्यामा राम मन्दिरको निर्माण गरेकै वर्ष विधानसभा निर्वाचनमा धक्का व्यहाेरेकाे छ । लामो धार्मिक द्वन्द्वपछि राम मन्दिरको मुद्दा अदालतबाट टुंगिएको थियो, जहाँ चुनावी वर्षमै रणनीतिक रूपमा भाजपा नेतृत्वको सरकारले मन्दिरको निर्माण र प्राणप्रतिष्ठा गराएको थियो । त्यसैले अयोध्यामा सहज जित प्राप्त हुनेमा प्रधानमन्त्री नरेन्द्र मोदी ढुक्कजस्तै देखिन्थे ।
बरु, अयोध्याको प्रभाव देशभर फैलिने र चार सय सिट पार गर्ने अक्ष्य भाजपाको थियो । तर कैसरगञ्ज र गोंडा सिटलाई छाडेर यो क्षेत्रमा भाजपाले १५ भन्दा बढी सिटमा हारको स्वाद चाख्नुपरेको छ । फैजाबादबाट समाजवादी पार्टीका अवधेश प्रसाद ५४ हजार ५६७ मतान्तरले विजयी भएका छन् । जय श्रीरामको नारा लिएर हिँडेको भाजपाले अयोध्यामै किन यति नमिठो पराजय व्यहोर्नुपर्यो ? विश्लेषकहरूले ६ कारण औँल्याएका छन् ।
अखिलेश यादवको चुनावी अभियान
यसपटक उत्तर प्रदेशमा जनताले दुई युवा नेता अखिलेश यादव र राहुल गान्धीको जोडीलाई विश्वास गरेको पाइयो । फैजाबाद लोकसभा सिटमा पाँच विधानसभा सिटहरू दरियाबाद, बीकापुर, रुदौली, अयोध्या र मिल्किपुर छन् । जसमा अखिलेशले मिल्कीपुर र बिकापुरमा चुनावी र्याली गर्दै जमिनको अधिग्रहण, मुआब्जाको समस्या, युवाको बेरोजगारीजस्ता मुद्दा जनतासम्म पुर्याए । त्यसैकारण पनि इन्डिया गठबन्धनले सहरभन्दा ग्रामिण क्षेत्रबाट बढी मत ल्यायो । फैजाबादका पाँच मध्ये चार विधानसभा क्षेत्रमा भाजपा भन्दा इन्डिया गठबन्धन ठूलो मतान्तरले अघि देखियो र भाजपा पराजित भयो ।
ग्रामीण क्षेत्रलाई बेवास्ता
भाजपाले अयोध्याधामको विकासलाई आफ्नो ठूलो उपलब्धिका रूपमा देखाउँदै आएको छ । सामाजिक सञ्जालदेखि चुनाव प्रचारसम्म अयोध्या केन्द्रित भयो । तर ग्रामिण क्षेत्रमा ध्यान पुगेन । भाजपाले बेवास्ता गरेपछि त्यहाँका ग्रामिण क्षेत्रमा जनताले मतदान गरेनन् ।
जमिन अधिग्रहण र मुआब्जा विवाद
अयोध्यामा भाजपाको हारको एउटा कारण जमिन अधिग्रहण र त्यसको मुआब्जा विवादलाई पनि मानिएको छ । मन्दिरका लागि धेरैका घर र पसलहरू तोडिए । तर कतिपय मानिसहरूले मुआब्जा समेत नपाएको बताइन्छ । जसप्रतिको असन्तुष्टि चुनावी परिणाममा देखिन्छ । विपक्षीले पनि यसलाई चुनावी मुद्दाका रूपमा उठाउने मौका पाए र भाजपा आफ्नो सिट जोगाउन असफल भयो ।
कार्यकर्ताप्रति अविश्वास
फैजाबादमा भाजपाको हारको प्रमुख कारण कार्यकर्ताप्रतिको अविश्वास पनि मानिएको छ । जसका कारण भाजपाका केही प्रभावशाली युवाहरू बाहिरिए । चुनाव घोषणाभन्दा ६ दिनअघि १२ मार्चमा सच्चिदानन्द पाण्डेसहितका कार्यकर्ताले भाजपा छाडेर बहुजन समाज पार्टीमा गए । जसले भाजपाको भोट काट्न भूमिका खेले र उसको जित सम्भव भएन ।
जातीय समीकरण र मुस्लिम फ्याक्टर
फैजाबाद सिटमा अखिलेशले नयाँ प्रयोग गरे । सामान्य सिट भए पनि यहाँ समाजवादी पार्टीले सबैभन्दा ठूलो जनसंख्या भएको पासी बिरादरी समुदायबाट अवधेश प्रसादलाई उम्मेदवार बनाए । जसका कारण यहाँ ‘अयोध्यामा न मथुरा न काशी, सिर्फ अवधेश पासी’ भन्ने नारा नै चल्यो । भाजपाको भोट बैंकलाई बाँड्दा र करिब ५ लाख मुस्लिम भोटरलाई आफूतिर तान्दा इण्डिया गठबन्धन सहज बहुमतमा पुग्यो ।
लल्लु सिंहको संविधान बदल्ने भाषण
भाजपाका सांसद तथा उम्मेदवार लल्लु सिंहले संविधान बदल्न आफ्नो पार्टीलाई ४ सय सिट चाहिएको बताए । भारतको संविधान दलित समुदायका नेता अम्बेडकरले बनाएका हुन् । फैजाबादमा रहेका २६ प्रतिशत दलित समुदायले यो भाषण मन पराएनन् । जसको सजाय भाजपाले भोग्नुपर्यो । भाजपाले लल्लुको भाषणबाट भएको क्षति रोक्ने सक्दो कोसिस गरे पनि सफल हुन सकेन ।
प्रकाशित समय ०७:१० बजे















