गृहपृष्ठ नेविसंघ नेपाली कांग्रेसको अभिछिन्न भातृसंस्था हो – महामन्त्री घिमिरे
नेविसंघ नेपाली कांग्रेसको अभिछिन्न भातृसंस्था हो – महामन्त्री घिमिरे
ललितपुर, ८ चैतः
नेपाल विद्यार्थी सङ्घको हिजो बसेको सिनेट बैठकले पार्टीको भातृ संस्थाबाट अलग हुने गरी गरेको निर्णय विरुद्ध नेपाल विद्यार्थी सङ्घका युवाले आज नेका केन्द्रीय कार्यालयमा महामन्त्री गुरुराज घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाउदै । तस्बिरः गोपाल दाहाल/रासस
नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाल विद्यार्थी संघ (नेविसंघ) नेपाली कांग्रेसको अभिछिन्न भातृसंस्था हो भन्दै व्यक्तिको स्वतन्त्रता जसरी संस्थाले भातृसंस्थाबाट अलग हुन नसक्ने बताउनुभयो।
नेविसंघका कार्यकर्ता सप्तरीका आदित्य कुमार दास र ओखलढुंगाका सचिव नवीन कार्कीको सक्रियतामा तयार गरिएको विज्ञप्ति ग्रहण गर्दै महामन्त्री घिमिरेले नेपालको राजनीतिलाई परिवर्तन गर्न र नेपालमा प्रजातन्त्र स्थापना गर्न नेविसंघको ठूलो भूमिका रहेको भन्दै पार्टीले दिएको भातृ संस्थाको मान्यताअनुसार सहजै नछुटिने बताउनुभएको हो।
“नेपाल विद्यार्थी संघ पार्टीको सर्वाधिक पुरानो र अभिछिन्न उत्तराधिकारवाला संस्थामध्येको एक संस्था हो, निर्दलीय पञ्चायती व्यवस्थाका विरुद्धमा, प्रजातन्त्र पुनःस्थापनाका पक्षमा जनमत सृजना गर्न ठूलो योगदान छ, नेविसंघलाई नेपालको प्रजातान्त्रिक आन्दोलनबाट अलग राखिदिने हो भने नेपालको प्रजातान्त्रिक आन्दोलन नै अधुरो र अपुरो हुन जान्छ, नेविसंघको योगदानलाई कसैले पनि विस्मृतिमा धकेल्न सक्दैन, संस्थाबाट अलग हुने व्यक्तिको स्वतन्त्रता हुन्छ, तर संस्था नै अलग गराउने कुरा त्यति सहज छैन।” उहाँले भन्नुभयो।
महामन्त्री घिमिरेले नेपालको हरेक राजनीतिक आन्दोलन र परिवर्तनमा नेपाल विद्यार्थी संघको सबैभन्दा बढि योगदान भएको भन्दै नेपालको राजनीतिलाई परिवर्तन गर्न योगदान पुर्याएको संस्थालाई गम्भीर रुपमा हेर्दै वर्तमान नेतृत्वले गरिरहेका गतिविधिहरलाई नियालिरहेको बताउनुभयो।
नेविसंघका कार्यकर्ता सप्तरीका आदित्य कुमार दास र ओखलढुंगाका सचिव नवीन कार्कीको नेतृत्व पुगेका विद्यार्थीहरुले पार्टीको हीत विपरीत सिनेट बैठकको निर्णय मिडियामा सार्वजनिक गरि पार्टीको गतिविधि विरुद्धमा काम गर्ने वर्तमान नेतृत्वलाई वर्खास्त गर्न आग्रह गरेका छन् ।
“नेविसंघ कसैको निजी कम्पनी हैन, नेपाली कांग्रेसको भातृ संस्था हो, पार्टीबाट अलग्याउने बिषयमा हाम्रो बिरोध र अस्वीकार छ।” सचिव कार्कीले भन्नुभयो।
प्रकाशित समय १३:११ बजे














