गृहपृष्ठ राशिदको घातक बलिङसँगै दिल्ली पराजित
राशिदको घातक बलिङसँगै दिल्ली पराजित
मंगलबार राती सम्पन्न ११ औं खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै हैदराबादले तेस्रो खेलमा पहिलो जित हात पारेको हो । दिल्लीको जारी सिजनमा यो पहिलो हार हो । जितका लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४७ रन बनायो ।
दिल्लीलाई अन्तिम १२ बलमा जितको लागि ३७ रन आवश्यक परेको थियो । १९ औं ओभरमा ९ रन बटुलेपछि अन्तिम ओभरमा जितको लागि २८ रन आवश्यक परेको थियो । तर दिल्लीले अन्तिम ओभरमा एक विकेट गुमाउँदै १२ रन मात्र बनाउन सक्यो । अन्तिम बलमा कागिसो रबाडाले छक्का प्रहार गरेपनि जितको लागि त्यो पर्याप्त थिएन । रबाडा ७ बलमा १ चौका र १ छक्का सहित १५ रनमा अविजित रहे ।
दिल्लीले पहिलो ओभरको पाँचौ बलमा ओपनर पृथ्वी शा लाई दुई रनमा गुमाएको थियो । शा भुवनेश्वर कुमारको बलमा एज लाग्दै विकेटकिपर जोनी बेयरस्टोको हातबाट समातिएका थिए । आठौं ओभरको दोस्रो बलमा कप्तान श्रेयस ऐर १७ रनमा आउट भए ।
स्पिनर राशिद खानको बलमा ठूलो सट खेल्ने धुनमा ऐर अब्दुल सामदबाट क्याच आउट हुन पुगे । ऐरले २१ बलमा २ चौका प्रहार गरे । राशिदकै १२ औं ओभरको तेस्रो बलमा कट बिहान्ड हुँदै ओपनर शिखर धवन ३४ रनमा पेभिलिएन फर्के । धवनले ३१ बलमा ४ चौका प्रहार गरे ।
भुवनेश्वर कुमारको १६ औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका शिम्रन हेटमायर मनिष पान्डेबाट २१ रनमा आउट भएपछि दिल्ली दबाब परेको थियो । हेटमायर १२ बलमा २ छक्का प्रहार गरे । चौथो विकेटका लागि हेटमायर र ऋषभ पन्तले ४२ रनको साझेदारी गरेका थिए ।
स्पिनर राशिदको १७ औं ओभरको चौथो बलमा ठूलो सट खेलेका विकेटकिपर ऋषभ पन्त डिप स्क्यिावर लेगमा प्रियम गर्गले ३२ रनमा क्याच आउट गराएपछि खेल थप रोमाञ्चक बनेको थियो । पन्तले २७ बलमा २ चौका र २ छक्का प्रहार गरे । १८ औं ओभरको अन्तिम बलमा टि नटराजनले मार्कस स्टोइनिसलाई ११ रनमा एलबिडब्लू आउट गरेपछि दिल्लीको जित टाढिएको थियो । अक्षर पटेल ५ रनमा बोल्ड आउट भए ।
राशिद खानले ४ ओभरमा १४ रन खर्चेर प्रमुख ३ विकेट लिए । भुवनेश्वर कुमारले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । टि नटराजनले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए । खलिल अहमदले एक विकेट लिए ।
त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङको थालेको हैदराबादले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको थियो । हैदराबादका ओपनर डेभिड वार्नर र जोनी बेयरस्टोले ९.३ ओभरमा ७७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । वार्नर स्पिनर अमित मिश्राको बलमा एज लाग्दै विकेटकिपर ऋषभ पन्तबाट ४५ रनमा क्याच आउट हुन पुगे । वार्नरले ३३ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।
मिश्राको १२ औं ओभरको दोस्रो बलमा मनिष पान्डे ३ रनमा कागिसो रबाडाबाट क्याच आउट गराए । कागिसो रबाडाको १८ औं ओभरको पाँचौ बलमा ठूलो सट खेल्नेक्रममा बेयरस्टो मिडअफमा एनरिच नोर्टजेबाट ५३ रनमा क्याच आउट भए । बेयरस्टोले ४८ बलमा २ चौका र १ छक्का प्रहार गरे । केन विलियम्सन २६ बलमा ५ चौका सहित ४१ रनमा क्याच आउट हुन पुगे ।
विलियम्सनलाई अन्तिम ओभरको चौथो बलमा कागिसो रबाडाले अक्षर पटेलबाट क्याच आउट गराए । डेब्यु खेल खेलि रहेका युवा ब्याट्सम्यान अब्दुल सामद ७ बलमा १ चौका र १ छक्का सहित रनमा १२ अविजित रहे । अभिषेक शर्मा १ रनमा अविजित रहे । स्पिनर अमित मिश्राले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । कागिसो रबाडाले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए ।
दिल्लीले पहिलो खेलमा किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा र दोस्रो खेलमा चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गरेको थियो । दिल्लीले चौथो खेल शनिबार कोलकाता नाइट राइडर्ससँग शारजाहमा खेल्ने छ । हैदराबाद रोयल च्यालेन्जर्स बेंगलोरसँग पहिलो खेलमा १० रनले पराजित भएको थियो । दोस्रो खेलमा कोलकाता नाइट राइडर्ससँग ७ विकटेले हारेको थियो । चौथो खेल हैदराबादले शुक्रबार चेन्नई सुपर किंग्सँग दुबईमा खेल्ने छ ।
प्रकाशित समय ०९:०९ बजे














