DG Creation

गृहपृष्ठ ‘सत्ता समीकरण मिसन-८४ सम्म’

‘सत्ता समीकरण मिसन-८४ सम्म’

Sankher pokhrel-candles khabar

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले अहिलेको सत्ता समीकरण मिसन-८४ सम्म कायम राख्न चाहेको बताउनुभएको छ ।

एमालेको आयोजनामा भएको राष्ट्रिय महिला भेलाको समापन समारोहलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, “जे कारणले हामीलाई घेराबन्दी गर्ने काम भयो । जनताले हामीलाई रोज्दारोज्दै हामीलाई विमुख पार्ने काम भयो । त्यसको अन्त्य हामी मिसन-८४ मा गर्न चाहन्छौँ ।” उहाँले मिसन-८४ का लागि पार्टी बलियो बनाइ एमालेलाई भविष्यको निर्णायक शक्तिको रुपमा स्थापित गर्ने बताउनुभयो । महासचिव पोखरेलले चुनावी प्रतिस्पर्धामा महिलाको सहभागिता अब निर्णायक शक्तिको रुपमा रहनुपर्नेमा जोड दिनुभयो ।

“पुरुषभन्दा महिला मतदाताको सङ्ख्या धेरै छ । गाउँमा कुनै कार्यक्रम गर्न थाले महिलाको उपस्थिति धेरै देखिन्छ”, उहाँले भन्नुभयो । उहाँले पार्टी सदस्यता प्राप्त गर्ने सवालमा महिलाको सहभागिता अझै कम रहेकाले बढाउनुपर्नेमा जोड दिनुभयो । “संविधानतः हामीले ४० प्रतिशत प्रतिनिधित्व स्थानीय तहमा सुनिश्चित गरेका छौँ । तर पार्टी सदस्यताको हिसाबले महिला सहभागिता अहिले पनि २० प्रतिशत छ”, उहाँले भन्नुभयो, “संविधानको सीमाभित्र पनि हामीले पार्टी सदस्यता विस्तार गर्न सकेका छेनौँ ।”

उहाँले महिलाको राजनीतिक शक्तिकरणको आरम्भ पार्टी सदस्यताको विस्तारबाट हुने बताउनुभयो । महिलाको लागि मात्र नभई सिङ्गो समाजको नेतृत्वकर्ता महिला बन्नुपर्ने उहाँको धारणा छ । कार्यक्रममा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले महिला आन्दोलनको सशक्तीकरणको पक्षमा महिलासँगै रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । भेलामा आज विभिन्न १२ समूहमा सात वटा विषयमा छलफल गरिएको थियो ।

हिजोदेखि सुरु भएको भेलामा पार्टीका केन्द्रीय सदस्यहरु, पार्टीका २३ वटै जनसङ्गठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुका तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि गरी पाँच हजार जना सहभागी छन् ।

प्रकाशित समय २३:२६ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation