गृहपृष्ठ कानूनी राज्यमा कानून थाहा छैन भनेर अनदेखा गर्न पाइँदैन”
कानूनी राज्यमा कानून थाहा छैन भनेर अनदेखा गर्न पाइँदैन”
ललितपुर, २४ जेठ: बागमती प्रदेशका पूर्वमन्त्री एवम् प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले कानूनी राज्यमा कसैले पनि कानून थाहा छैन भनेर अनदेखा गर्न पाइँदैन भन्ने बताउनुभएको छ।
ललितपुर उद्योग बाणिज्य संघको पोलिसी एण्ड एडभोकेसी समितिको संयोजनमा शुक्रबार भएको उद्योग व्यवसायीहरुका लागि कानूनी साक्षरता तथा अन्तरक्रियामा मन्तव्य राख्नुहुँदै चित्रकारले उद्योग, व्यवसाय सञ्चालनका क्रममा आइपर्ने विभिन्न झञ्झट र जरिवानाबाट बच्न हरेकले कानूनी ज्ञान राख्नुपर्छ भन्नेमा जोड दिनुभयो ।
“व्यवसायमा लाग्नेले व्यवसाय र उद्योग सञ्चालन गर्नेले उद्योग सम्बन्धी कानूनको जानकारी राख्नुपर्छ, कानूनको स्रोत संविधान हो, संविधान भन्दा ठूलो कानून हुन सक्दैन, ऐन, नियम, कार्यविधि र अध्यादेश कानूनका अभिन्न अंग हुन्, अनेक खालका कानून बनेका हुन्छन्, लोकतन्त्रमा जनताले चुनेर पठाएको जनप्रतिनिधिको संसदले कानून बनाउँछ, कतिपय कानून सरकारले पनि बनाउँछ।” उहाँले भन्नुभयो।
चित्रकारले कानूनलाई प्रभावकारी रुपमा कार्यान्वयन गरेको अवस्थामा मात्रै राज्य बलियो हुन्छ भन्दै राज्यले कानूनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन ध्यान दिनुपर्छ भन्नुभयो ।
“संसद र सरकारले बनाएको कानून पालना गराउन भूमिका खेल्ने काम कर्मचारीको हो, सरकार भनेको मन्त्री मात्रै हैन, राज्यको सबै संयन्त्र सरकार हो, राजनीतिक नेतृत्वले नेतृत्व गर्ने हो, अरुले कार्यान्वयनमा सहजीकरण गर्ने हो, बढि राजनीतिकरण हुँदा कानून कार्यान्वयनमा समस्या छ, यो दुर्भाग्य हामीले भोगीरहेका छौँ, राजनीतिक नेतृत्व परिवर्तन हुँदा अस्थिरता हावी छ, चन्दा आतंक, श्रमिक आन्दोलनले नेपालको उद्योग व्यवसायमा नकारात्मक असर परेको छ।”उहाँले भन्नुभयो ।
उहाँले उद्योग, व्यवसायमा लाग्नेहरुका लागि आवश्यक महत्त्वपूर्ण कानून व्यवसाय दर्ता तथा सञ्चालन सम्बन्धी ऐन, आयकर, मुल्यअभिबृद्धि कर ऐन, भन्सार कानून, व्यवसायसंग जोडिएको कानून भएको बताउँदै यी कानूनहरुको पालना गरेर काम गर्नुपर्नेमा ध्यानाकर्षण गराउनुभयो। उहाँले ठूलो व्यवसाय सञ्चालन गर्नेले कानूनी सल्लाहकार राखेर पनि काम गर्न सकिन्छ भन्दै ब्यवसायका क्रममा झञ्झटबाट वचन व्यवसायी आफैंले ठीकसंगले बुझेर कानून पालना गर्नुपर्ने हुन्छ भन्नुभयो ।
“एउटै कानूनभित्र पनि धेरै द्विविधायुक्त प्रवन्ध हुन्छ, राजपत्रमा प्रकाशित भएपनि कानून कार्यान्वयन हुन्छ, राजपत्रमा प्रकाशित भएपछि मलाई यो कानून थाहा भएर सुख पाइँदैन, विकासको मूल स्रोत भनेको आयस्रोत अभिबृद्धि हो, उद्यमशीलताबाट आयस्रोतको अभिबृद्धि हुन्छ,उद्योग बाणिज्य संघ भनेको आफ्नो सदस्यको हीतमा मात्रै काम गर्ने संस्था हैन, समग्र उद्योग, व्यापार र बाणिज्य क्षेत्रको नेतृत्व गर्न सक्नुपर्छ।” उहाँले भन्नुभयो ।
चित्रकारले उद्योग बाणिज्य संघ जत्तिकै विश्वासनीय संस्था अरु धेरै छैनन् भन्दै कानूनी साक्षरता र उद्यमशीलता विकास गर्दै उद्योग बाणिज्यको क्षेत्रमा उद्योग बाणिज्य संघले काम गर्न आग्रह गर्नुभयो ।
प्रेमलाल महर्जनले तीन तहको सरकारबाट बजार अनुगमन हुने भन्दै उद्योगी व्यवसायीहरुले कानूनी व्यवस्थाहरुको परिपालन गरेर व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यस्ता कार्यक्रमबाट ऐन नियममा भएको परिवर्तनबारे जानकारी भइ अन्जानमा हुने गल्तीको न्युनिकरण हुने बताउनुभयो।
“यो आर्थिक वर्षको आर्थिक ऐनले के व्यवस्था गरेको छ भनेर बुझ्नु जरुरी छ, ऐन, कानुनले व्यवस्थापन गरेको प्रवन्ध र भएको परिवर्तनका बारेमा सुसूचित हुनुपर्छ।” उहाँले भन्नुभयो।
विश्वराज बज्राचार्यले संघ, प्रदेश र स्थानीय सरकारले जारी गरेका कानूनको बारेमा जानकारी लिएर बैधानिक रुपमा उद्योग व्यवसाय सञ्चालनका लागि सदस्यहरुलाई सहज बनाउन यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले यस्ता सचेतनाबाट सुधार गर्नुपर्ने कानूनका बिषयमा समेत सहज रुपमा धारणाहरु आउने विश्वास व्यक्त गर्नुभयो ।
संघको पोलिसी एण्ड एडभोकेसी समितिको अनिल महर्जनले यस्ता कानुनी साक्षरताले उद्योग व्यवसायीहरुका लागि सहज बनाउँदै कानुनी ज्ञान हासिल गरेर सहजरूपमा व्यवसाय सञ्चालन गर्न सहयोग पुग्ने विस्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा अधिवक्ता बालकृष्ण महर्जनले ललितपुर उद्योग बाणिज्य संघका सदस्यहरुलाइ कानूनी साक्षरताका विषयमा अभिमुखीकरण गर्नुभएको थियोे।
प्रकाशित समय १०:५८ बजे













