DG Creation

गृहपृष्ठ दुई दिनभित्र कार्यविधि बनाउने सहकारी छानबिन समितिको निर्णय

दुई दिनभित्र कार्यविधि बनाउने सहकारी छानबिन समितिको निर्णय

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले दुई दिनभित्र कार्यविधि बनाउने निर्णय गरेको छ । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको समितिको बैठकले दुई दिनभित्रमा समितिको कार्यविधि बनाएर अर्को बैठकमा पेस गर्ने निर्णय गरेको हो ।

कार्यविधिको मस्यौदा बनाउने जिम्मेवारी समिति सचिवालयलाई दिइएको छ । समितिको पहिलो बैठक सभामुख देवराज घिमिरेसमेतको उपस्थितिमा बसेको थियो । बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभाबाट पारित समितिको कार्यादेश, राजनीतिक दलहरूका बीचमा भएको सहमति, कार्यक्षेत्र र अनुसूचीमा समावेश भएका सहकारीको नामावलीसहितको दस्ताबेज समिति सभापति सूर्य थापालाई हस्तान्तरण गरेका थिए ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति थापाले तोकिएकै समयमा अनुसूची भित्रका सहकारीहरूमा केन्द्रित भएरै काम सम्पन्न गर्नेगरी छलफल भएको जानकारी दिए । उनले समिति सदस्यहरूले तीन महिनाभित्र अहोरात्र काम गरेर भएपनि काम सक्ने प्रतिबद्धता व्यक्त गरेको भन्दै समितिको प्रतिबद्धता पनि त्यही रहेको बताए ।

उनले भने,‘बैठकमा समितिको कामलाई अगाडी बढाउने सन्दर्भमा छलफल गरेका छौँ । आज हामीले परिचय सँगसँगै सामान्य केही निर्णय मात्रै गरेका छौँ । जस्तो, कार्यविधि बनाउनुपर्ने छ । समितिको आन्तरिक कार्यविधि मस्यौदा गर्न सचिवालयलाई निर्देशन दिएका छौँ । त्यसमा कार्ययोजना, ३ महिनाको निर्धारित समयलाई मध्यनजर गरेर समयभित्रै काम सम्पन्न गर्नेगरी समितिले गर्नुपर्ने कामको कार्ययोजना र कार्यविधिको मस्यौदा गर्न जिम्मा दिने काम भएको छ ।’

बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै समिति सदस्य ईश्वरीदेवी न्यौपानेले तीन महिनाभित्रै काम सम्पन्न गर्नका लागि रात दिन नभनी काम गर्ने समझदारी भएको बताइन् । उनले आफूहरू कुनैपनि बहानामा समय थप गर्ने पक्षमा नरहेको स्पष्ट पारिन् ।

समिति सदस्य लेखनाथ दाहालले कार्यादेशको मातहतमा बसेर समयभित्रै काम पूरा गर्ने बताए । उनले समितिले गर्ने कामहरू सर्वसम्मत निर्णयको आधारमा हुने बताए ।

समिति सदस्य शिशिर खनालले पनि तोकिएको समय तीन महिनाभित्रै काम सम्पन्न गरिने बताए । उनले आफूहरूले जिम्मेवारीलाई गम्भीरतापूर्वक लिएको पनि बताए ।

समितिको तीन महिनाको समय बुधबार पहिलो बैठक बसेको दिनदेखि प्रारम्भ हुने जनाइएको छ । समितिको आगामी बैठक शुक्रबार बस्ने बताइएको छ ।

प्रकाशित समय १९:११ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation