गृहपृष्ठ ओली सरकारमा कांग्रेसबाट प्रकाशमानको नेतृत्व पक्का
ओली सरकारमा कांग्रेसबाट प्रकाशमानको नेतृत्व पक्का
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा नेपाली कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सहभागी हुने भएको छ । पूर्वउपप्रधानमन्त्री समेत रहिसकेका सिंहको नेतृत्वमा कांग्रेस नयाँ सरकारमा सहभागी हुने भएको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवानिकट उच्च स्रोतले सिंहको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने बतायो । देउवाले बुधबार आफ्नो निवास बुढानीलकण्ठ पुगेका सिंहलाई पनि नेतृत्व गर्ने गरी सरकारमा पठाउने सङ्केत दिइसकेका छन् ।
पार्टीको १४ औँ महाधिवेशनमा सिंहको समर्थनको बलमा देउवा दोस्रो चरणमा सहजै सभापतिमा दोहोरिएका थिए । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पनि सिंह कांग्रेसबाट नेतृत्व गरेर सरकार सहभागी हुन चाहेका थिए । पुस १० मा भत्किएको कांग्रेस–माओवादीसहितको गठबन्धन बिउँताउन भगीरथ प्रयत्न गरेका उपसभापति पूर्णबहादुर खड्काले प्रचण्ड सरकारमा कांग्रेसबाट नेतृत्व गर्ने मौका पाए । प्रचण्डले नै खड्कालाई पठाइदिन आग्रह गरेपछि सिंह रोकिएका थिए ।
त्यतिबेला नै देउवाले अर्को पटक सरकारमा पार्टीको नेतृत्व गर्ने गरी उपप्रधानमन्त्रीसहित पठाउने वचन सिंहलाई दिएका थिए । कांग्रेसबाट सिंहले नेतृत्व गर्ने सन्दर्भमा देउवाका साथै एमाले अध्यक्ष ओली पनि सकारात्मक छन् । २०७९ को आम चुनावमा काठमाडौँ–१ मा राप्रपाका रवीन्द्र मिश्रसँग झिनो मतले विजयी भएपछि बालकोट पुगेरै ओलीलाई भेटेर सिंहले धन्यवाद दिएका थिए ।
त्यतिबेला कांग्रेससँगको सत्ता सहकार्यका लागि ओली तयार रहेको सन्देश सिंहले देउवालाई सुनाएका थिए । तर आम निर्वाचनपछि कांग्रेस र एमालेबिच सत्ता सहकार्यको प्रयास भए पनि विफल भएको थियो ।
अहिले असार १७ मा कांग्रेस र एमालेको सत्ता सहकार्यको सहमति भएपछि सिंहलाई १० वर्षपछि सिंहदरबारको ढोका खुल्ने निश्चित देखिएको छ । यसअघि पनि सिंह कांग्रेस र एमाले सम्मिलित सुशील कोइराला नेतृत्वको सरकारमा उपप्रधानमन्त्री सहभागी थिए । सिंहको मन्त्रालय भने टुङ्गो लागि नसकेको देउवा निकट स्रोतले जनाएको छ ।
कांग्रेसबाट सिंहका साथै रमेश लेखक र डा. आरजु राणा देउवा मन्त्री बन्ने पक्का भएको छ । बाँकी मन्त्री छनोट गर्न सभापति देउवा पार्टीमा आन्तरिक छलफलमै छन् । कांग्रेस र एमाले बाहेक दललाई सरकारमा सहभागी गराउने भएपछि कांग्रेसमा मन्त्री छान्न थप रस्साकस्सी हुने देखिएको छ ।
प्रकाशित समय २१:५२ बजे















