DG Creation

गृहपृष्ठ जलबायु परिवर्तनसँगै हिमालले बगायो बिनासका आँसु, राहतमा जोडौं सहयोगी हात

जलबायु परिवर्तनसँगै हिमालले बगायो बिनासका आँसु, राहतमा जोडौं सहयोगी हात

 

प्रकृतिका अनुपम सौन्दर्यले भरिपूर्ण, लाङटाङको काखमा मुस्कुराइरहने रसुवा जिल्ला एउटा भौगोलिक भूभाग मात्र थिएन। नेपाली इतिहाससँग जोडिएको वीरता, स्वाभिमान र प्राकृतिक सुन्दरताको संगम स्थल थियो। तर, जब प्रकृतिले आफ्नो लय छाडेर रौद्र रूप धारण गरिन् तब त्यो सबै सभ्यता बगरमा परिणत भइदियो। तिब्बत माथिको हिमालमा बनेको हिमताल फुटेर भोटेकोशी हुँदै त्रिशूलीमा मिसिँदा नेपालका थुप्रै बस्ती बगर बने। सयौं मानिसको एकै चिहान बनाइदिएको छ। आँखै अगाडि थुप्रै व्यक्तिको जीवनभरको पसिना र सपना ढालिदियो।

भीषण बाढी र पहिरोले सिङ्गो बस्ती, जनावर, ढुङ्गा, माटो, काठ र गारो मात्र बगाएन, सिंगो परिवार, पुस्ताौँदेखि साँचिएका अनगिन्ती सपनाहरू, पसिनाको कमाइ, बालबालिकाका खेलौनाहरू, आमाका चुरा-पोते, अनि परिवारका अमूल्य सम्झना बगरमा परिणत गरिदियो। म पनि राहत बोकेर ती बस्तीहरूमा पुगे। त्यहाँको अवस्था देख्दा मैले मन थाम्नै सकिन। हिजोसम्म जहाँ बालबालिकाको कलिलो हाँसो गुञ्जिरहेको थियो, जहाँ बुढापाकाहरू आँगनमा बसेर घाम ताप्दै सुख-दु:खका कुरा गरिरहेका थिए, जहाँ साँझपख चुल्होमा आगो बल्थ्यो आज त्यहाँ केवल हिलोको विशाल दलदल, बालुवाको बगर, ठूला-ठूला ढुङ्गा र स्तब्धता मात्र बाँकी छ। बाढीले बस्ती बगाएपछि सिर्जना भएको दृश्य अत्यन्तै हृदयविदारक छ। आफ्नै हातले टोली-टोली थपेर बनाएको घर छिनभरमै भोटेकोशी वा त्रिशूलीको धमिलो छालमा बिलाउँदा मानिसहरू नाङ्गो आँखाले हेरिरहन बाध्य हुँदा कति मन पोलियो होला?

बस्ती बग्नुको प्रभाव केवल भौतिक विनाशमा मात्र सीमित हुँदैन। यसले मानिसको मानसिक, सामाजिक र आर्थिक आधार नै भत्काइदिन्छ। बस्ती बग्दा छरछिमेकी र आफन्तहरू पनि छुट्टिएका छन्। हिजोसम्म एउटै आँगन साझेदार गरेका छिमेकी एकाएक बेपत्ता भएका छन्। धेरै ठाउँमा त बाढी र पहिरोले भूगोलको रुम नक्सा नै परिवर्तन गरिदिएको छ। जसले गर्दा थुप्रै व्यक्ति आफ्नो जन्मथलोको नक्सा नै गुमाउन विवष बनेका छन्। टेन्ट वा अस्थायी शिविरको बास र आफन्त गुमाउनुको उनीहरूको पीडा शब्दमा व्याख्या गरिनसक्नु छ। खुल्ला आकाशमुनी, चिसो हावा र भदौरे झरीबीच त्रिपाल टाँगेर बस्दा, सुत्ने ठाउँ, पिउने सफा पानी र पकाउने भाँडाकुँडा समेत नहुँदा बालबालिका तथा वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीपछि फैलिने दूषित पानी, फोहोर र लामखुट्टेका कारण झाडापखाला, हैजा र छालाको रोगजस्ता महामारी फैलने उच्च जोखिम सहन उनीहरू बाध्य बनेका छन्। मैले त्यहाँ अवलोकन गर्दा अहिलेको सबैभन्दा आवश्यकताको विषय मानसिक परामर्श, झुल र सुरक्षित ठाउँको स्तानान्तर देखेँ। मरेका बस्तुभाउ र मानव शव सड्न थालेका छन्। त्यसे दुर्गन्ध तथा विभिन्न महामारी फैलाउने जोखिम बढाएको छ। मच्छरको डर तिब्र छ। डेंगु संक्रमण र हैजा जस्ता महामारी फैलिने जोखिम उच्च छ। आफन्त गुमाउँदाको मानसिक तनाव थेगिनसक्नु छ। त्यसैले उनीहरूलाई मनोपरामर्श तथा महामारी नियन्त्रणका सामग्री अहिले अति आवश्यक छन्। यसतर्फ सरकारको ध्यान पुगोस्।

अर्को कुरा, बाढीले रसुवामा पारेको प्रभावको हिसाब गरिनसक्नु छ। धनमालको क्षति त समयक्रममा फेरि उठ्न सकिएला तर जुन अमूल्य मानव जीवन गुमेको छ, त्यसको भर्पाई कहिल्यै हुन सक्दैन। सयौं व्यक्ति अझै बेपत्ता छन्। बेपत्ता भएकाहरू फर्कने आसमा बाचेकाहरू टोलाइरहेका छन्। सडक खण्ड, पुल, जलविद्युत् आयोजना र सञ्चारका साधन ध्वस्त भएका छन्। यसले गर्दा बाँचेकाहरूसम्म राहत पुर्‍याउन र उद्धार कार्य चलाउनसमेत कठिन भइरहेको छ। चौपाया, अन्नपात, खेतबारी सबै बाढीले निलेपछि स्थानीय बासिन्दा भक्कानिरहेका छन्। यो घाउ केवल रसुवावासी र पीडितहरूको मात्र नभइ, सिङ्गो नेपाल र प्रत्येक नेपालीको मुटुमा लागेको चोट हो। जब-जब हिमाली भेगमा यस्ता विपद् आउँछन्, त्यसले सिंगो देशको अर्थतन्त्र र सामाजिक तानाबानालाई नै हल्लाइदिन्छ।

त्यसैले यस्तो बेला हामी सबैले सकेको सहयोग गर्नुपर्छ। नेपाली समाजको सबैभन्दा ठूलो सौन्दर्य र शक्ति भनेकै संकटको समयमा देखापर्ने अभूतपूर्व एकता हो। २०७२ को महाभूकम्प होस्, कोभिड-१९ को महामारी होस् वा विभिन्न समयमा आउने बाढीपहिरो, नेपालीहरूले सधैँ एक-अर्काको हात समातेर उभिन सिकेका छौं। आज रसुवा र त्रिशूली आसपासका बस्ति रोइरहँदा सबै नेपाली एक भएर राहत तथा उद्धारमा जुटेका छौं। यत्ति मात्र प्रयाप्त छैन, हामीले यसको दायर फराकिलो बनाउँदै लैजानुपर्छ। अर्को कुरा विपद्को कुनै जात, धर्म वा राजनीतिक विचारधारा हुँदैन। बाढीले बगाउँदा कसैको परिचय हेरेको छैन। त्यसैले अहिलेको समय भनेको सबै प्रकारका सानातिना मतभेद, राजनीतिक स्वार्थ र भौगोलिक सीमालाई भुलेर हामी सबै नेपाली भन्ने मूल मन्त्रका साथ अघि बढ्नुपर्छ।

जब धेरै साना हात मिल्छन्, तिनले ठूला-ठूला पहाड पनि पन्छाउन सक्छन्। ती बाढी पीडितलाई सहयोगको खाँचो छ। हाम्रा साना-साना प्रयासले पनि कसैको जीवन बचाउन सक्छ, कसैलाई न्यानो छाना दिन सक्छ र कसैको पेटको भोक मेट्न सक्छ। विपद्को यो घडीमा व्यक्तिगत र छरिएर गरिने सहयोगभन्दा एकद्वार प्रणालीमार्फत व्यवस्थित रूपमा गरिएको सहयोग बढी प्रभावकारी हुन्छ। राहत सामग्रीको दोहोरोपन रोक्न र वास्तविक पीडितसम्म सहायता पुर्‍याउनका लागि सरकारी संयन्त्रलाई बलियो बनाउनु आवश्यक छ। त्यसका लागि हामी सरकारी राहत कोषमा रकम जम्मा गरौं। आजको प्रविधिको युगमा मोबाइल बैंकिङ, डिजिटल वालेटहरू र बैंक ट्रान्सफरमार्फत घरमै बसेर सरकारी राहत कोषमा सजिलै रकम जम्मा गर्न सकिन्छ। हामी सबैले आफ्नो क्षमता अनुसार कम्तीमा एक छाकको खर्च बचाएर भए पनि राहत कोषमा योगदान गरौं। आफ्नो जन्मभूमिभन्दा धेरै टाढा ताता मरुभूमिदेखि अमेरिका, युरोप, कोरियालगाय मुलुकमा पसिना बगाइरहनु भएका दाजुभाइले पनि सधैँ देशको दु:खमा अग्रपंक्तिमा उभिएर सहयोग गर्दै आउनु भएको छ। यस पटक पनि उहाँहरूबाट मुलुकले ठूलो सहयोग र साथ पाउने अपेक्षा गरेको छ।

विपद्सँग लड्न सुरक्षाकर्मी दाजुभाइ तथा दिदीबहिनीहरू अहोरात्र खटिरहनु भएको छ। उहाँहरूको मनोबल बढाउनु तथा उहाँहरूलाई साथ दिनु पनि हामी सबैको दायित्व हो। सरकाले पनि त्यस्ता सुरक्षाकर्मीको भत्ता बढाउने निर्णय गरिसकेको छ, जुन स्वागतयोग्य छ। आफ्नो ज्यानको प्रवाह नगरी बाढीको धमिलो पानी र खसिरहेको पहिरोबीचमा खट्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाप्रति उच्च सम्मान छ। यो विपत्ति शब्दमा व्यक्त गर्न नसकिने गरी गहिरो छ। तर, हामीले विपत्तिसँग लड्नुको विकल्प छैन। त्यसका लागि हाम्रो पहिलो प्राथमिकता भनेको बेपत्ताहरूको खोजी, घाइतेहरूको नि:शुल्क उपचार, तथा प्रभावितहरूलाई सुरक्षित छाना, न्यानो लुगा र पौष्टिक भोजनको व्यवस्था गर्नु हो। यसमा नै हामी सक्रिय बनौं भन्ने आग्रह गर्न चाहन्छु। साथै, प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा बसिदिनुहुन आग्रह गर्दछु।

अन्त्यमा मैले त्यहाँ पु्ग्दा राज्यको बलियो उपस्थिति भने देखिनँ। सरकार आकासमा उडेको देखिन्छ तर जमिनमा देखिँदैन। सेनाका क्याम्पमा सरकार देखिन्छ। तर, जनताबीचमा सरकार देखिँदैन। सरकारले पीडितसँग समन्वय गर्न सकेको छैन। उद्धारका लागि जलविद्युत् आयोजनाका सुरुङभित्र अझैँ थुप्रै मानिस प्रतिक्षारत छन्। सरकारले यति लामो समय वित्दा पनि उनीहरूको उद्धार गर्न सकेको छैन। विदेशीहरूको सहयोग लिन पनि सकेको छैन। आज भारत र चीनबाट विज्ञ जनशक्ति आउने भनिएको छ, जुन स्वागतयोग्य कार्य हो। यो प्रयास सुरुकै दिनबाट हुनुपर्थ्यो। गृहमन्त्री सुदन गुरुङले आफू हेडिकोप्टरबाट गएर सुरुङमा खटिएको देखाउँदै स्टर्न गर्नुभन्दा विज्ञ जनशक्ति परिचालन गरेको भए अहिलेसम्म त्यहाँ थुनिएका मानिसको उद्धार भइसक्थ्यो। जति समय घर्किंदै गइरहेको छ त्यति नै थुनिएका मानिसहरू शारीरिक तथा मानसिक रुपमा कमजोर हुँदै गइरहेका छन्। अब पनि उद्धारमा विलम्ब भए उनीहरूले त्यही भित्र ज्यान गुमाउने छन्। सुरुङको मुख खोल्न सानोखाले डोजरको आवश्यकता छ। हेलिकोप्टरबाट सानो डोजर र विज्ञ जनशक्ति परिचालन गर्न सकेको भए सरकारको काम प्रभावकारी हुने थियो। यो विपद्को बेला हो। यस बेला पनि स्टर्नको राजनीति नगरौं। जनता नै नरहे, भूगोल नै बगरमा परिणत भए कसका लागि राजनीति गर्ने र राजनीति गर्नुको अर्थ के? यसका सबे सचेत हुनुपर्छ। त्यसैले म पुन: भन्छु यतिबेला सबै राहत र उद्धारमा जुटौं, कुनै व्यक्तिगत लाभ नखोजौं। ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, घाइतेहरूको सिघ्र स्वास्थ्य लाभको कामना।

(अन्सारी नेकपा एमालेका नेता तथा समाजसेवी हुन्।)

प्रकाशित समय २१:४३ बजे

प्रतिक्रिया दिनुहोस्

Global
DG Creation