DG Creation

गृहपृष्ठ बाढीपहिरोले तनहुँ विद्युत् क्षेत्रमा रु एक करोड क्षति

बाढीपहिरोले तनहुँ विद्युत् क्षेत्रमा रु एक करोड क्षति

Bidhuut-candles khabar

गत आइतबार अविरल वर्षापछि आएको बाढी पहिरोले तनहुँको विद्युत् क्षेत्रमा करिब रु एक करोड मूल्य बराबरको क्षति भएको विद्युत् प्राधिकरण कार्यालय तनहुँले जनाएको छ । जिल्लाका विभिन्न क्षेत्रमा गएको पहिरोका कारण विद्युत्को पोल बगाउने र ढाल्ने गरेकाले ठूलो क्षति भएको हो ।
बाढी पहिरोका कारण तनहुँमा विद्युत् क्षेत्रमा रु एक करोड बराबरको क्षति भएको अनुमान गरिएको विद्युत् प्राधिकरण कार्यालय तनहुँका प्रमुख कपिलराज पाण्डेले बताए ।

“विद्युत्का पोल बगाएका र ढालिएका कारण अधिकांश क्षेत्रका विद्युत् लाइन काटिएको छ”, उनले भने “विद्युत् खपत गराउन नसक्दा कार्यालयलाई नोक्सान भएको छ भने कयौँ उपभोक्ताहरु अन्धकारमय जीवन बिताउन बाध्य छन् ।” जिल्लाको थर्पु नोलाइटका ३०० र दमौली नोलाइटबाट वितरण गरिएका १०० गरी करिब चार सय घरधुरीका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।

म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र व्यास नगरपालिका गरी करिब ७५ वटाभन्दा बढी विद्युत्का पोल ढाल्ने र बगाउने गरेपछि ती घरपरिवार अन्धकारमा बस्नु परेको थर्पु नोलाइटका इञ्चार्ज दीपक वाग्लेले जानकारी दिनुभयो । विद्युत् अवरुद्ध हुँदा म्याग्दे गाउँपालिकाका धेरै बासिन्दा प्रभावित बनेको उनले बताए । “पृथ्वीराजमार्ग क्षेत्रका दश वटा पोल ढलेका छन्”, उनले भनृ “म्याग्दे गाउँपालिका क्षेत्रमा मात्रै ११ केभी क्षमताको मुख्य लाइनको १४ र शाखा लाइनको १९ वटा पोल ढलेपछि विद्युत् अवरुद्ध भएको हो ।”

पहिरोका कारण ग्रामीण क्षेत्रका सडकमा समेत क्षति पुगेपछि विद्युत् पोल ढुवानी गर्न कठिनाइ भएको छ । उहाँले भन्नुभयो “प्राविधिक कठिनाइका कारण काम गर्न गाह्रो भएको हो ।” अधिकांश क्षेत्रमा पोल गाड्ने स्थानमै पहिरो गएको र पानी परिरहेका कारणले पनि विद्युत् मर्मतका कार्य गर्न नसकिएको उहाँले बताए ।

बाढी पहिरोका कारण म्याग्देको तुरतुरे क्षेत्रमा विद्युत् अवरुद्ध हुनुका साथै खेत सिँचाइका लागि प्रयोग गरिएको सात वटा मिटर बाढीले बगाइदिएपछि त्यसक्षेत्रका बासिन्दाले पटक पटक फोन गरेर सताउन थालेको उहाँले जानकारी दिएका छन् । त्यसैगरी दमौली एरिया क्षेत्रको ११ केभी क्षमताको मुख्य र शाखा लाइनका गरी ६० वटा पोल बाढीपहिरो ढाल्ने र बगाउने गर्नाले जिल्लाको ऋषिङ गाउँपालिका र व्यास नगरपालिका क्षेत्रमा विद्युत् अवरुद्ध बनेको छ ।

पृथ्वीराजमार्ग क्षेत्र वरिपरि रहेका कतिपय क्षेत्रमा नै विद्युत् बल्न नसकेपछि समस्या भएको छ । व्यास नगरपालिका भित्रमा पोल गाड्नुपर्ने बाहेकका अन्य सानातिना काम गरी विद्युत् सुचारु गरिसकिएको दमौली एरिया इञ्चार्ज राजमोहन तिवारीले बताउनुभयो । स–साना समस्याले रोकिएका स्थानमा तत्कालै गएर विद्युत् सुचारु गरिएको छ । उहाँले भन्नुभयो “पोल गाड्ने र पोल ढुवानी गर्नुपर्ने क्षेत्रमा प्राविधिक समस्याका कारण विद्युत् सुचारु गर्न समय लाग्ने देखिएको छ ।”

जिल्लाको ऋषिङ गाउँपालिकामा वितरण गरिएको विद्युत्को टान्समिटर बुल्दीखोलाले ढालेपछि ऋषिङ गाउँपालिकाका बासिन्दा प्रभावित भएका छन् । तनहुँका मुख्यमुख्य क्षेत्रमा केही समय अघिमात्रै छुट्टै फिडर लाइन जडान गरिएकाले दुई÷चार वटा पोल ढल्दैमा अन्धकारमा बस्नुपर्ने समस्याको अन्त्य भएको उनले बताए ।

प्रकाशित समय २०:४० बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation