गृहपृष्ठ नागरिकले टेरेनन् निषेधाज्ञा-अत्यावश्यकका नाममा अनावश्यक घुमघाम !
नागरिकले टेरेनन् निषेधाज्ञा-अत्यावश्यकका नाममा अनावश्यक घुमघाम !
कोभिड–१९ रोक्न मुलुकका विभिन्न जिल्लामा अत्यावश्यकबाहेक गतिविधि सञ्चालनमा निषेध गरिए पनि पूर्णतः कार्यान्वयन हुन सकिरहेको छैन । मानिसका लापरवाहीले सङ्क्रकारात्मकमण रोक्ने सरकारी अभियानमा न असर परिरहेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँका अनुसार जानकारीमा हुँदाहुँदै पनि मानिसले सरकारी आदेश र स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लङ्घन गर्ने गरेको पाइएको छ । जथाभाबी हिँडडुल गर्नेदेखि अनावश्यकरुपमा सवारी साधन चलाउने देशभर नै भेटिएका छन् ।
कतिपय भने मास्क नै नलगाई हिँड्ने गरेको समेत पाइएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो । मानिसको अटेरीपनका कारण जोखिम बढ्ने भएकाले त्यसविरुद्ध थप कडाइ गरिएको उनले बताए । “निषेधाज्ञाको समयमा अत्यावश्यक कामका लागि सहजीकरण गरिएको छ, यस्तो अवस्थामा अत्यावश्यकका नाममा अनावश्यक घुमफिर भएकोसमेत पाइयो, त्यस्ता गतिविधि रोक्न छड्के जाँच शुरु गरिएको छ”, महाशाखा प्रमुख ढकालले जानकारी दिए।
निषेधाज्ञाको उल्लङ्घन हुन थालेपछि तीन दिनदेखि उपत्यकाका १२० स्थानमा हुने छड्के जाँचका लागि १२० प्रहरी परिचालन गरिएको छ । उक्त टोलीले अत्यावश्यक सेवाका लागि हिँडेकाहरुको गतिविधिसमेत निगरानी गर्नेछ । त्यस्ता गतिविधि गर्ने दुई हजार १४ जना कारवाहीमा परेका छन् । मुख्यगरी प्रहरीको उपस्थिति नभएका ठाउँबाट अत्यावश्यक भनेर अनावश्यकरुपमा गाडी चलाउने पाइएको छ । नक्कली परिचयपत्र बनाएर हिँड्ने, अत्यावश्यक कामका लागि हिँडेको भनेर ढाँट्ने र बन्दाबन्दीका बेलाको सवारी पास बोकेर हिँड्नेसमेत फेला परेको छ । काम नभइकन बैंकको कार्ड भिरेर अन्तै घुम्न हिँडेका व्यक्तिसमेत फेला परेको महाशाखाले जनाएको छ ।
ढकालले ट्राफिक प्रहरीले उपत्यकामा सामाजिक सचेतनाका कार्यक्रमलाई समेत सँगै अघि बढाइएको जानकारी दिए । ट्राफिक नियम पालना गर्न, अनिवार्य मास्क प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न अनुरोध गर्दै विभिन्न चोकमा प्रचारात्मक साइन बोर्ड राख्न थालिएको छ ।
महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा एक साताको निषेधाज्ञाका समयमा सात हजार १६३ सवारी साधनलाई ‘होल्ड’ मा राखेर कारवाही गरिएको छ । त्यसमा ८० प्रतिशत मोटरसाइकल रहेको प्रहरीले जनाएको छ । दुई दिनमा मात्रै अत्यावश्यक काम भनेर अनावश्यकरुपमा हिँड्ने एक हजार १०२ जनालाई कारवाही गरिएको छ । आजै ३०६ जनालाई नियन्त्रणमा लिइसकिएको छ । निषेधाज्ञा उल्लङ्घन रोक्न उपत्यकाका ४५ स्थानमा संयुक्तरुपमा अस्थायी सुरक्षाचौकी स्थापना गरी निगरानी गरिएको छ ।
यस्ता गतिविधिले कोभिड–१९ सार्न सहयोग पुग्ने भएकाले संयम हुन र अत्यावश्यक काम नपरी बाहिर ननिस्कन प्रहरीले सबैमा अनुरोध गरेको छ । उपत्यकाका तीन जिल्लामा यही भदौ १७ गतेसम्मका लागि निषेधको आदेश जारी गरिएको छ । निषेधाज्ञाका समयमा अत्यावश्यकबाहेक गतिविधि पूर्ण रोक लगाइएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आदेशको पूर्ण पालना गरी रोगको सङ्क्रमण रोक्ने सरकारी अभियानमा सहयोग गर्न सबैमा आग्रह गरेका थिए ।
पछिल्लो समयमा नेपालमा कोभिड–१९ को सङ्क्रमण बढिरहेको छ । उपत्यकामा समेत सङ्क्रमण दरमा वृद्धि भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उपत्यकामा दैनिक २०० देखि ३०० को हाराहारीमा नयाँ सङ्क्रमित देखिँदै आएको छ । सरकारले गत साउन ६ गतेदेखि बन्दाबन्दी अन्त्य भएको घोषणा गरेको थियो । त्यसपछि मानिसको आवागमन ह्वात्तै बढ्दा सङ्क्रमण बढेको जनस्वास्थ्यविज्ञको भनाइ छ । एक महिनाका अवधिमा नजानिँदोरुपमा सङ्क्रमण र मृत्युदर बढिरहेको छ ।
प्रकाशित समय १६:०७ बजे










