DG Creation

गृहपृष्ठ नेपालबाट भिडाको अन्तर्राष्ट्रिय यात्रा सुरु, हिरो मोटोकर्पले सार्वजनिक गर्‍यो नयाँ विद्युतीय दुईपाङ्ग्रे

नेपालबाट भिडाको अन्तर्राष्ट्रिय यात्रा सुरु, हिरो मोटोकर्पले सार्वजनिक गर्‍यो नयाँ विद्युतीय दुईपाङ्ग्रे

काठमाडौं — हिरो मोटोकर्पअन्तर्गतको विद्युतीय दुईपाङ्ग्रे ब्रान्ड भिडा (VIDA) ले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको छ। कम्पनीले नेपालबाटै आफ्नो विश्वव्यापी विस्तारको सुरुआत गर्दै भिडा भिएक्स–२ स्कुटर शृङ्खला र भिडा डर्ट–ई के–३ विद्युतीय अफ–रोड मोटरसाइकल सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार नेपालमा भिडाका उत्पादनहरू चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्स मार्फत बिक्री–वितरण गरिनेछ। नेपाली उपभोक्ताको आवश्यकता र सडक अवस्थालाई ध्यानमा राखेर विकसित गरिएका यी विद्युतीय सवारीले देशको विद्युतीय दुईपाङ्ग्रे बजारमा नयाँ विकल्प थप्ने कम्पनीको दाबी छ।

भिडा भिएक्स–२ दुई संस्करण– भिएक्स–२ प्लस र भिएक्स–२ गो–मा उपलब्ध हुनेछ। भिएक्स–२ प्लसमा ४.४ किलोवाट–घण्टा क्षमताका निकाल्न मिल्ने दुईवटा ब्याट्री छन्। कम्पनीका अनुसार यसले एक पटकको चार्जमा करिब १४० किलोमिटरसम्म यात्रा गर्न सक्छ भने अधिकतम ९० किलोमिटर प्रतिघण्टाको गति दिन्छ। द्रुत चार्जिङ प्रविधिमार्फत ६५ मिनेटमै ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सकिन्छ।

भिएक्स–२ गोमा २.२ किलोवाट–घण्टा क्षमताको निकाल्न मिल्ने ब्याट्री छ। यसले करिब ७५ किलोमिटरसम्मको दूरी तय गर्न सक्ने तथा अधिकतम ७० किलोमिटर प्रतिघण्टाको गतिमा सञ्चालन हुने कम्पनीले जनाएको छ।

दुवै स्कुटरमा घरायसी पाँच एम्पियरको विद्युत् सकेटबाट ब्याट्री चार्ज गर्न सकिने सुविधा छ। साथै मोबाइल एपमार्फत मार्गनिर्देशन, सवारीको अवस्थाबारे जानकारी, भौगोलिक सीमा निर्धारण, कल तथा सन्देश सूचना र सफ्टवेयर अद्यावधिक (ओटीए) जस्ता सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

कम्पनीले किशोर तथा युवा राइडरलाई लक्षित गरी भिडा डर्ट–ई के–३ विद्युतीय अफ–रोड मोटरसाइकल पनि सार्वजनिक गरेको छ। यसमा प्रयोगकर्ताको उमेर र शारीरिक बनावटअनुसार आकार परिवर्तन गर्न सकिने प्रणाली राखिएको छ। अभिभावकले मोबाइल एपमार्फत मोटरसाइकलको गति नियन्त्रण गर्न सक्ने र तीनवटा फरक गति मोड चयन गर्न सक्ने सुविधा पनि दिइएको छ।

हिरो मोटोकर्पको उदीयमान विद्युतीय गतिशीलता व्यवसाय इकाइकी प्रमुख व्यवसाय अधिकृत कौशल्या नन्दकुमारले नेपालबाट भिडाको अन्तर्राष्ट्रिय यात्रा सुरु हुनु कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको बताइन्। नेपाल विद्युतीय सवारीसाधनका लागि रणनीतिक रूपमा महत्वपूर्ण बजार रहेको उल्लेख गर्दै उनले सीजी मोटर्ससँगको सहकार्यमार्फत नेपाली उपभोक्तालाई गुणस्तरीय र आधुनिक विद्युतीय दुईपाङ्ग्रे उपलब्ध गराउने प्रतिबद्धता जनाइन्।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाल दिगो र हरित यातायाततर्फ तीव्र रूपमा अघि बढिरहेको उल्लेख गर्दै भिडाको आगमनले विद्युतीय दुईपाङ्ग्रे बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरे। उनले हिरो मोटोकर्पसँगको सहकार्यलाई थप सुदृढ बनाउँदै हरित भविष्य निर्माणमा योगदान पुग्ने बताए।

हिरो मोटोकर्प सन् २०१४ देखि नेपाली बजारमा सक्रिय छ। कम्पनीले भिडा ब्रान्डमार्फत नेपालमा विद्युतीय सवारीसाधनको विस्तार गर्दै स्मार्ट, दिगो र प्रविधिमैत्री यातायात प्रवर्द्धन गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रकाशित समय २२:४० बजे

प्रतिक्रिया दिनुहोस्

Global
DG Creation