गृहपृष्ठ नयाँ सरकारका लागि शुक्रबार नै दाबी पेश गर्ने कांग्रेस-एमाले तयारी
नयाँ सरकारका लागि शुक्रबार नै दाबी पेश गर्ने कांग्रेस-एमाले तयारी
नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु नयाँ सरकार गठन प्रक्रियालाई चाँडो टुंग्याउन लागिपरेका छन् ।
उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसदमा मत विभाजन नगरी राजीनामा दिन सुझाएका छन् । मत विभाजन भए परिणाम आए लगतै दुई तिहाई सांसदको हस्ताक्षरसहित शीतल निवास जाने तयारी छ ।
संसदका दुई ठूला दल कांग्रेस र एमालेबीच १७ असारमै नयाँ सरकार गठन गर्ने सहमति भएको थियो । लगतै दुवै दलले आआफ्नो संसदीय दल र पाटीको बैठक राखेर राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह समेत गरेका थिए ।
तर माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन चाहे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुलाई फर्काएका प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका नेताहरुसँग लगातार छलफलमा गरे र, २८ गते प्रतिनिधिसभामा विश्वासको मत लिने निर्णय लिए ।
त्यसको अघिल्लो दिन २७ असारमा आइपुग्दा प्रचण्डसँग आफ्नै दल माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २१ र एकीकृत समाजवादीका १० गरी जम्मा ६३ मत देखिएको छ । नयाँ गठबन्धनको पक्षमा दुई तिहाई जुटेको छ ।
दुई ठूला दल कांग्रेस (८८) र एमाले (७९) मिल्नासाथ १६७ हुन्छ, जुन बहुमत (१३८) भन्दा बढी हो । जसपा (७), जनमत (६), जसपा नेपाल (५), लोसपा (४), नाउपा (४) नयाँ गठबन्धनको पक्षमा देखिएकाले दुई तिहाई कट्ने देखिन्छ ।
त्यसैले कांग्रेस र एमालेका नेताहरुले प्रचण्डलाई विश्वासको मत लिने प्रस्ताव पेश गरेपछि पनि मत विभाजन नगरी राजीनामा गर्न आग्रह गरिरहेका छन् ।
तर प्रधानमन्त्री प्रचण्डले भने सत्ता साझेदार दलले समर्थन फिर्ता लिएमा एक महिना (३० दिनभित्र)मा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेकाले संसद फेस गर्न चाहे ।
प्रधानमन्त्रीले विश्वासको मत नपाए संविधानको धारा ७६ (३) अनुसार संसदको सबभन्दा ठूलो दलका नेता (शेरबहादुर देउवा) को नेतृत्वमा नयाँ सरकार बन्ने माओवादीको दाबी छ ।
जबकी विगतको अभ्यास र सर्वोच्च अदालतको फैसलाहरुले समेत संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थन जुटाउने संसदको नेृतत्वमा सरकार गठन हुने प्रष्ट देखिन्छ ।
तर प्रधानमन्त्री, उनको दलसँगै केही कानुन व्यवसायीले समेत ७६ (३) अनुसार सरकार बन्छ भन्ने तर्क गरेपछि राष्ट्रपतिले समेत चासो देखाएका थिए । विगतको अभ्यास अनुसार ७६ (२) अनुसार नै सरकार गठनको आह्वान गर्ने पक्षमै छन् ।
त्यसैले कांग्रेस र एमाले नेताहरुले प्रधानमन्त्रीको पक्षमा ६३ मत भन्दा नकट्ने र अरु कुनै राजनीतिक सम्भावना समेत नरहेकाले संसद्लाई सम्बोधन गरेर राजीनामा गर्न आग्रह गरिरहेका छन् । त्यसो नगरे संसदमा मत विभाजन भए लगतै दुई तिहाई सांसदको समर्थन लिएर शीतल निवास जाने तयारी छ ।
त्यसका लागि कांग्रेस र एमालेले आ आफ्ना दलका सांसदहरुको हस्ताक्षर संकलन गरिसकेका छन् । साना दलहरुको समेत समर्थन जुटाएर शीतल निवास जाने तयारी छ ।
राष्ट्रपतिले आह्वान गर्नासाथ जाने कि त्यसभन्दा अगाडि नै भन्ने छलफलमै रहेको एक नेताले बताए । एमालेका कतिपय नेताहरुले नयाँ सरकार गठन गर्न प्रष्ट बहुमत आफूहरुसँग भएकाले राष्ट्रपति लामो प्रक्रियामा गइरहन आवश्यक नपर्ने बताएका छन् ।
प्रकाशित समय ०७:०४ बजे















