DG Creation

गृहपृष्ठ आज परमा एकादशीव्रत, महिमासहित हेर्नुहोस् आजको दिन २०७७ आश्विन २७ गते

आज परमा एकादशीव्रत, महिमासहित हेर्नुहोस् आजको दिन २०७७ आश्विन २७ गते

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल आश्विन महिनाको २७ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अक्टोवर महिनाको १३ तारिख, मंगलवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत अधिक आश्विन कृष्णपक्षको एकादशी तिथि दिवा १०।४ बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी इषा हुन् । सूर्य कन्या राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । मघा नक्षत्र राति ८।४ बजेसम्म रहनेछन् । यसैगरी आज शुभ योग र बालव करण रहेका छन् । आज सूर्योदय बिहान ६।०३ मा छ भने सूर्यास्त बेलुका ५।३५ बजे हुनेछ । चन्द्रमा आज सिंह राशिमा रहेका छन् ।

आज परमाएकादशीव्रत परेको छ । अधिकमासअन्तर्गत कृष्णपक्षमा पर्ने एकादशीलाई परमा भनिन्छ । पुरुषोत्तम महिनामा दम्पतीसहित विधिपूर्वक परमा एकादशीको व्रतधारण गर्नाले धन ऐश्वर्यको प्राप्तिका साथै यो लोकमा भुक्ति र परलोकपछि पनि मुक्ति प्राप्त हुने फल वर्णन पाइन्छ ।

परमेतिसमाख्याता पवित्रा पापहारिका ।
भुक्ति मुक्तिप्रदा नृणां भोगदा च युधिष्ठिर ।।२।।
(भविष्योत्तरपुराण, एकादशीमाहात्म्य, अध्याय २६ श्लो. २)

कथा

श्रीकृष्ण भगवान्ले राजा युधिष्ठिरलार्य परमा एकादशीको व्रतकथा उल्लेख गर्नुभएको छ । जसअन्तर्गत यो भारतवर्षको सुन्दर काम्पिल्य नगरीमा सुमेधा नामक एकजना ब्राह्मण आफ्नी पत्नीका साथमा निवास गर्दथे । ब्राह्मण धर्मात्मा भए पनि धनको अभावले गुजार टार्न निकै कठिन अवस्था सृजना भएको थियो । धनकै अभावका कारण ब्राह्मण परदेशिने निधोमा पुगे । ब्राह्मणीले पतिलाई सम्झाउँदै बरु सँगै बसौ, यही दुःख जिलो जे जस्तो हुन्छ सोही खाएर बसौला । एकदिन त भगवान्को कृपा मिल्ला नि भन्दै पत्नीले ब्राह्मलाई परदेश जानबाट रोकिन् र भनिन्, मनुष्यले जे जस्तो वस्तु प्राप्त गर्दछ, त्यो भाग्यवश प्राप्त हुन्छ, हामीले पूर्वजन्ममा गरेका कुकर्मका कारण अहिले गरीवी ब्यहोर्नु परेको हो, हजुर परदेशमा जाँदा मेरो पनि बिल्लीबाठ हुन्छ । त्यसैले यतै आफ्नै थातकथलोमा बसेर कर्मशील बनौँ, म पनि मेरा बुताले भ्याएसम्म सरसहयोग गर्नेछु । जसो तसो गुजारा चलाउँला । भगवानको इच्छा जाग्यो भने राम्रै पनि हुन सक्छ । आखिर मन सन्तुष्ट र आनन्दपूर्ण भयो भने धेरै धनसम्पत्ति पनि त चाहिंदैन । ब्राह्मणलाई पत्नी सल्लाह मनपर्यो र जेजस्तो भए पनि घरैमा बसेर दुःखजिलो गर्ने निधोमा पुगे ।

एक दिन कौण्डिन्य ऋषि घुम्दै ती ब्राह्मण ब्रह्मणीका घरमा आइपुग्नुभयो । ब्राह्मण दम्पतीले ऋषिलाई यथोचित स्वागत सत्कार गरे । सेवा भावनालाई देखेर कौडिन्य ऋषि प्रसन्न हुनुभयो । ब्रह्मण दम्पतीको गरिबी एवं दीनता हटाउने उद्देश्यले मलमासमा पर्ने परमा एकादशीको व्रत धारण गर्नू घरमा सम्पन्नता प्राप्त हुनेछ भनी उपदेश दिनुभयो । यसपछि ब्राह्मण दम्पतीले यस एकादशीको व्रत विधि र फल के कस्तो छ भन्ने जिज्ञासा राखेपछि ऋषिले यसरी बताउनुभयो –

परमा नाम विख्याता विष्णोस्तिथिरनुत्तमा ।
मलिम्लुचे तु या कृष्णा भुक्तिमुक्तिफलप्रदा ।।३६।।
तस्या उपोषणं कृत्वा धनधधान्ययुतो भवेत् ।
विधिना जागरेः साकं गीतनृत्यादिकं चरेत् ।।३७।।

अर्थात् मलमासको कृष्णपक्षमा पर्ने परमा एकादशीको विधिपूर्वक व्रत सम्पादन गर्नाले धनधान्य, ऐश्वर्य र वैभवको प्राप्तिका साथै इहलोकमा सुखसम्मृद्धि र परलोकमा पनि मुक्ति मिल्ने गर्दछ ।
व्रतविधि

व्रत लिनुभन्दा अघिल्लै दिनदेखि आहार एवं व्यवहारमा पवित्र रहनुपर्दछ । एकादशीका दिन प्रातः स्नान गरी पूजा सामगी सम्पादन पश्चात् दीप, कलश, गणेशजीको आवहन पूजनपूर्वक लक्ष्मीनारायण भगवान्को पाद्य, अर्घ, अचमन, स्नान पूर्वक षोडशोपचारले पूजा गर्नुपर्दछ । व्रत अवधिमा विष्णु सहस्रनाम एवं विष्णु स्तोत्रको पाठ शुभ रहन्छन् । यसैगरी व्रतमा काम, क्रोध, लोभ, मोह र मात्सर्य भाने त्याज्य रहन्छन् । मनमा पवित्र भावनाका साथ गरिएको व्रत धारण फलदायी हुन्छ । रातमा जागा रही भावान्को नामसंकीर्तन गरी द्वादशीका दिन पूर्णपात्रदानका साथै ब्राह्मण भोज गराई आफूले पनि भोजन गर्नुपर्दछ । यसरी व्रत धारण गर्नाले लक्ष्मीनारायण भगवान्को कृपा मिल्ने गर्दछ । कुवेर पनि परमा एकादशीको व्रत धारणले नै धनको मालिक भएका हुन् :

धनदेन पुरा चीर्णं व्रतमेतत् सुशोभनम् ।
तदा तुष्टेन रुद्रेण धनानामधिपः कृतः ।।३८ ।।

अर्थात् कुवेरले परमा एकादशीको व्रतधारण गरी शिवजीको आधारधा गरेकाले ऐश्वर्य सम्पन्न भएका हुन् । यसैले यो लोकमा धन ऐश्वर्यका साथै परलोकमा मुक्ति प्राप्तिका निम्ति पनि परमा एकादशीको व्रत धारण कल्याणदायी रहेको छ ।

यसरी व्रत विधानका वारेमा सम्पूर्ण कुरा बताएर कौडिन्य ऋषि आफ्नो आश्रमतर्फ लाग्नुभयो । यता ब्राह्मण दम्पतीले पनि ऋषिको वचन अनुसार मलमासमा पर्ने परमा एकादशीको व्रत धारण गरे । व्रतको प्रभाव विस्तारै पर्न थाल्यो । विस्तारै ती दम्पतिको धन सम्पत्तिमा वृद्धि हुनथाल्यो र आनन्दपूर्वक रहनथाले । यसैगरी परलोकपश्चात् पनि ती दुवैको मुुक्ति मिलेको कथा श्रीकृष्ण भगवान्ले एकादशीमाहात्म्यमा राजा युधिष्ठिरलाई बताउनुभएको छ ।

एकादशी आफैमा पवित्र दिन हो । धन ऐश्वर्य सम्पन्नताका निम्ति परमा एकादशी उत्रम मानिन्छ । एकादशीको व्त धारण गर्न नसके कथा श्रवण ले पनि वाजपेय यज्ञ गरेबराबरको फल प्राप्त हुने गर्दछ ।

आजको राशिफल २०७७ आश्विन २७ गते, मंगलवार

मेष राशिः आर्थिक पक्ष सबल रहनेछ । बौद्धिक कार्यमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । व्यवसायिक सफलताले दिन सुखमय व्यति हुने देखिन्छ ।

वृष राशिः दिन कार्यदायी रहनेछ । व्यवसायमा अपेक्षित सफलता मिल्नुका साथै शारीरिक आलश्यताले सताउन सक्नेछ । स्स्वास्थ्यमा सजग रहनु नै उचित हुनेछ ।

मिथुन राशिः मित्र सुख रहनेछ, कार्य क्षेत्रमा उन्नतिका साथै सुखद् यात्रका योग पनि देखिन्छन् । अध्ययन अध्यापनको क्षेत्र सबल रहने राशिफल रहेको छ ।

कर्कट राशिः प्रेममा पारख बढ्नेछ । भौतिक वस्तुबाट लाभ रहनुका साथै आय आर्जनमा पनि वृद्धि हुनेछ । व्यवसायकि क्षेत्र उन्नतिदायी रहने आजको राशिफल रहेको छ ।

सिंह राशिः पराक्रम बढ्नेछ, आर्थिक उन्नतिका साथै जलीय वस्तु विशेष लाभदायी रहनेछन् । प्रेमममा पारख बढ्ने आजको राशिफल रहेको छ ।

कन्या राशिः कार्यक्षेत्रमा संघर्षका योग देखिन्छन् । खर्चमा वृद्धि हुनुका साथै बोलीको प्रभावमा पनि कमी आउनेछ । अन्य पक्ष मध्यम फलदायी रहने देखिन्छ ।

तुला राशिः वित्तीय लाभका योग देखिन्छन् । कार्य अवसर प्राप्त हुनुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । मनोरञ्जनमा अधिक समय व्यतित हुनसक्ने देखिन्छ ।

वृश्चिक राशिः दिन सुखद् रहनेछ । धनको क्षेत्र सबल रहनुका साथै व्यवसायमा पनि सफलता मिल्नेछ । स्वास्थ्यमा भने सजग रहनु नै उचित हने देखिन्छ ।

धनु राशिः मनमा प्रसन्नता रहनेछ । पारिवारिक साथ सहयोग मिल्नुका साथै धार्मिक कार्यमा लगाव रहने देखिन्छ । प्रेम जीवन पनि सुखद् रहने आजको राशिफल रहेको छ ।

मकर राशिः शीतकारक वस्तुबाट हानि रहनेछ । वित्तीय क्षेत्रमा सुधार हुनुका साथै नयाँ कार्य अवसर पनि प्राप्त हुनेछन् । दिनको उत्तराद्र्ध विशेष लाभदायी रहनेदेखिन्छ ।

कुम्भ राशिः सामाजिक कार्यमा रुचि जाग्न्नेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ । मित्र पक्षको साथ सहयोगले दिन सफल रहनेछ ।

मीन राशिः भौतिक वस्तु लाभदायी रहनेछन् । अध्ययन अध्यापनमा सफलता मिल्नुका साथै कार्य क्षेत्र पनि सबल रहनेछ । कलात्कम पक्षको उजागर हुने आजको राशिफल रहेको छ ।

प्रकाशित समय ०५:०५ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation