DG Creation

गृहपृष्ठ ओखलढुङ्गाको विद्युत् समस्या समाधान गर्न प्राधिकरणसँग खतिवडाको आग्रह

ओखलढुङ्गाको विद्युत् समस्या समाधान गर्न प्राधिकरणसँग खतिवडाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद रामहरि खतिवडाले ओखलढुङ्गामा देखिएको विद्युत् आपूर्तिको समस्या दीर्घकालीन रूपमा समाधान गर्न नेपाल विद्युत् प्राधिकरणसँग आग्रह गरेका छन्।

मंगलबार काठमाडौंमा पूर्वसांसद खतिवडा र मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसँग भेट गरी ओखलढुङ्गाको विद्युत् आपूर्ति सुधार तथा दुधकोशी जलविद्युत् आयोजना शीघ्र कार्यान्वयनमा लैजान आग्रह गरेका हुन्।

भेटका क्रममा खतिवडाले ओखलढुङ्गामा पटक–पटक विद्युत् अवरुद्ध हुँदा जिल्लावासी प्रभावित भइरहेको भन्दै प्राधिकरणको ध्यानाकर्षण गराएका थिए। उनले विद्युत् आपूर्तिमा देखिएको समस्या समाधानका लागि आवश्यक प्राविधिक तथा पूर्वाधार सुधारका कामलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गरे।

ओखलढुङ्गालगायत आसपासका जिल्लाको विद्युत् आपूर्ति तथा समग्र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने दुधकोशी जलविद्युत् आयोजना शीघ्र सञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया तीव्र बनाउन पनि खतिवडाले आग्रह गरे।

विकास, उद्योग, व्यवसायको विस्तार तथा जनजीवन सहज बनाउन भरपर्दो विद्युत् आपूर्ति अत्यावश्यक रहेको उल्लेख गर्दै उनले समस्या समाधानका लागि सम्बन्धित निकायबाट ठोस पहल हुनुपर्नेमा जोड दिए।

प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक श्रेष्ठले ओखलढुङ्गाको विद्युत् समस्याबारे आवश्यक पहल गर्ने तथा दुधकोशी जलविद्युत् आयोजना सञ्चालनसँग सम्बन्धित विषयलाई समेत प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।

ओखलढुङ्गाको विद्युत् आपूर्ति सुधारसँगै दुधकोशी जलविद्युत् आयोजना शीघ्र सञ्चालनमा आए जिल्लाको औद्योगिक, कृषि, पर्यटन तथा समग्र आर्थिक विकासमा थप गति पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित समय २१:५२ बजे

प्रतिक्रिया दिनुहोस्

Global
DG Creation