DG Creation

गृहपृष्ठ खानी विधेयकमा व्यापक छलफल र संशोधन आवश्यक: सांसद रहबर अन्सारी

खानी विधेयकमा व्यापक छलफल र संशोधन आवश्यक: सांसद रहबर अन्सारी

सांसद रहबर अन्सारीले ‘खानी तथा खनिज पदार्थ विधेयक’ हतारमा ल्याइएको भन्दै यसको व्यापक सुधार तथा नीतिगत छलफल आवश्यक रहेको बताउनुभएको छ।

विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद अन्सारीले विधेयक समयसापेक्ष र प्रगतिशील भए पनि यसको व्यावहारिक कार्यान्वयन, सुशासन र लाभ बाँडफाँडका विषयमा गम्भीर प्रश्न रहेको बताउनुभयो।

उहाँले नेपालका सिमेन्ट उद्योगमा २ देखि ४ प्रतिशतसम्म आइरन ओर (लोहा अयस्क) प्रयोग हुने र त्यसको ठूलो हिस्सा हाल भारतबाट आयात भइरहेको उल्लेख गर्नुभयो। नेपालभित्रै अध्ययन तथा खोजतलास भइसकेका खानीबाट मात्र पनि आगामी ६० वर्षसम्म देशका सम्पूर्ण सिमेन्ट उद्योगलाई पुग्ने आइरन ओर उपलब्ध रहेको उहाँको दाबी छ।

हाल १७२ वटा उत्खनन र ४६७ वटा खोजतलास अनुमति पत्र जारी भइसके पनि खानी तथा भूगर्भ विभागको फितलो तथा झन्झटिलो कार्यशैलीका कारण उद्योगीहरू वर्षौँदेखि कार्यालय धाउन बाध्य भएको उहाँले बताउनुभयो।

कानुन बनाएर मात्र नहुने भन्दै सांसद अन्सारीले ‘गभर्नेन्स कल्चर’ सुधार गर्न तथा काम नगर्ने र निष्क्रिय अनुमति पत्र तत्काल खारेज गर्नुपर्ने माग गर्नुभयो।

खनिज उत्खननका क्रममा स्थानीय आदिवासी, जनजाति तथा प्रभावित समुदायलाई तत्कालीन क्षतिपूर्तिमा मात्र सीमित नगरी दीर्घकालीन लाभ बाँडफाँड (बेनिफिट ट्रान्सफर) को व्यवस्था गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो। खनिज पदार्थ समाप्त भएपछि उत्खनन भएका क्षेत्र स्थानीय समुदायका लागि दायित्व वा बोझ बन्न नहुने उहाँको भनाइ थियो।

संसदमा तीन मिनेटको संक्षिप्त समयमा यति धेरै विषयमा गहन निर्णय गर्न सम्भव नहुने भन्दै सांसद अन्सारीले विधेयकलाई
संसदीय समितिमा पठाई कम्तीमा ३० दिन व्यापक छलफल र संशोधन गर्ने व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो।

प्रकाशित समय २१:४४ बजे

प्रतिक्रिया दिनुहोस्

Global
DG Creation