DG Creation

गृहपृष्ठ आज घटस्थापना, नवरात्रको आरम्भ सहित मासिक राशिफल

आज घटस्थापना, नवरात्रको आरम्भ सहित मासिक राशिफल

आज घटस्थापना, नवरात्रको आरम्भ, महिमासहित हेर्नुहोस् आजको दिन २०७७ कार्तिक १ गते
श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल कार्तिक महिनाको १ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अक्टोवर महिनाको १७ तारिख, शनिवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत आश्विन शुक्लपक्षको प्रतिपदा तिथि राति ११:२९ बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य कन्या राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । चित्रा नक्षत्र दिवा २:२४ बजेसम्म रहनेछन् । यसैगरी आज विष्कुम्भ योग र किंस्तुघ्न करण रहेका छन् । आज सूर्योदय बिहान ६:०४६ मा छ भने सूर्यास्त बेलुका ५:३१ बजे हुनेछ । चन्द्रमा आज तुला राशिमा रहेका छन् ।

आज नवरात्रको आरम्भगर्देदिन घटस्थापना हो । आज विधिवत् पमा घडास्थापना गुरी जमरा राखिन्छ । आश्विन शुक्ल प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसदिन विधिपूर्वक घडा (कलश) स्थापना गरी दुर्गा भगवतीको विशेष उपासना हुने गर्दछ । आद्य शक्ति भगवतीको उपासना गर्ने आश्विन शुक्लपक्षको प्रतिपदाबाट नवरात्रको पनि आरम्भ हुन्छ । नवरात्र भगवतीको उपासना गर्ने उत्तम समय हो । यस्तै नवरात्रको पहिलो दिन दीप, कलश, गणेशीजको स्थापना पूजाका साथै विशेष विधानपूर्वक घडा स्थापना, जौ रोपण गरी शैलपुत्री भगवतीको विशेष पूजा आराधनाका साथ उपासना गर्ने दिन घटस्थापना हो ।

यसै दिनबाट नवरात्रको आरम्भ हुन्छः आश्विनशुक्लप्रतिपदि नवरात्रारम्भः (निर्णयसिन्धु, द्वितीयपरिच्छेद, पृ. ११२) घटस्थापना यो नवरात्रको पहिलो दिन हो । घटस्थापनासँगै भगवतीको उपासना गरी दुर्गा भगवतीको प्रिय वस्तु जौको जमरा राख्ने शास्त्रीय विधान छ । संस्कृतमा जमरालाई जयन्ती भनिन्छ । जयन्ती भगवतीकै एक नाम पनि हो ।

घटस्थापना कसरी गरिन्छ ?
वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । विहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखिन्छ । यसपछि कर्मपात्रादि निर्माण गरी प्रायश्चित्त गोदान एवं प्रतिज्ञासङ्कल्पपूर्वक शास्त्रीय विधि अनुसार दीप, कलश एवं गणेशजीको षोडशोपचारले पूजा हुन्छ ।

यसरी दीप, कलश एवं गणेशजीको पूजा गरिसकेपछि घटस्थापनाको कार्य
आरम्भ हुन्छ । पूजास्थनको ईशानकोणमा (पूर्व र उत्तर दिशाको बीचस्थानमा) माटोको सुन्दर वेदी बनाउनुपर्छ (जहाँ कलश एवं जमराराख्न मिलोस्) । यसरी घडा राख्ने स्थानमा अष्टदल कमलको रेखी हाली टपरीमा धान राखी धानमाथि विशेष प्रकारले सिँगारिएको घडा (कलश) विधिपूर्वक स्थापना गर्नुपर्दछ । कलश माटो वा तामाको उत्तम मानिन्छ । कलशमा पञ्चपल्लव (पिपल, डुम्री, पाखरी, आँप र वरका पात), दुवो, सप्तमृत्तिका (सातठाँउको माटो– घोडा बसेको स्थान, हात्ती बसेको स्थान, पञ्चरत्न (सुन, हिरा, मोती, पद्मराग र नीलम), सार्वौषधी कुट, वेसार, जटामसी, चुत्रो, मुरा, श्रीखण्ड, शिलाजित, बोझो, चाँपो र मोेथो), सप्तमृत्तिका (धमिरो लागेको ठाँउको, नदीको संगम भएका ठाँउको, दहमा जमेको, राज दरबारका ढोकाको र गोठको माटो) राखी वस्त्र वेष्टित गरेर सजाइन्छ । यसपछि वरुणादि सम्पूर्ण देवी देवताको आह्वान गरी विशेष मन्त्रले स्थापना गरिन्छ ।

सोही कलशमा महाकाली, महालक्ष्मी, महासरस्वती दुर्गा भगवतीको षोडशोपचारले आवाहन पूजन पनि हुने गर्दछ । यसरी पूजन पश्चात् भगवतीको प्रिय वस्तु जौ उक्त घडा(कलशको) वरिपरि जमराका निम्ति छरिन्छ ।

विशेष विधिपूर्वक स्थापना गरिएका जौ क्रमशः बढ्दै जमराका रूपमा परिणत हुन्छन् । जमरा जति राम्रा हुन्छन् त्यति नै भगवती पनि प्रशन्न हुनुहुन्छ भन्ने धार्मिक मान्यता रहेको छ । जौको अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले जौ रोपण गरी दुर्गा भगवतीलाई चढाइन्छ । यसरी स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ ।

 

मासिक राशिफल २०७७ कार्तिक

मेष राशिः मेष राशिका लागि यो महिना उन्नतिदायी रहनेछ । धनको क्षेत्र मध्यम देखिन्छ । मासारम्भ कुण्डलीमा राहुको निवासले खर्चमा वृद्धि गराउनसक्नेछ । पराक्रमको भाव सबल नै देखिन्छ । सन्ततिको क्षेत्र उन्नत रहनेछ । बौद्धिक कार्यक्षेत्र हुनेका निम्ति महिना सुखद् रहनेछ । धातुजन्य वस्तु लाभदायी रहनुका साथै लगानीका नयाँ अवसर प्राप्त हुनेछन् । कृषि व्यवसय पनि फलिभूत नै रहनेछ । कला साहित्य सृजनाकर्मीका निम्ति सुखद् नै देखिन्छ । शत्रु पराजित हुनेछन् । अध्ययन अध्यापनमा सफलता मिल्नुका साथै प्रेमाको क्षेत्र पनि पारखिलो रहनेछ । स्वास्थ्यको भाव मध्यम देखिन्छ । केतुको प्रभाव रहने भएकाले खानपानमा भने सजग रहनु उत्तम हुनेछ । बृहस्पतिको प्रभावले महिना भाग्य अभिवृद्धिदायी रहने देखिन्छ । शनिको पनि निवासले केही कठिन यात्राका योग पनि देखिन्छन् । दुर्गा भगवतीको उपासना यो महिना उत्तम फलदायी रहनेछ । कर्मभाव मध्यम फलदायी रहनेछ । पारिवारिक सुख मिल्नुका साथै आध्यात्म चिन्तमा मन प्रवृत्त रहनेछ । व्यय भावमा मंगलको निवासले खर्चमा भने वृद्धि हुनसक्ने यो महिनाका राशिफल रहेको छ ।

वृष राशिः वृष राशिका लागि महिना फलदायी रहनेछ । धार्मिक कार्यमा रुचि जग्नुका साथै आध्यात्मक चिन्तनमा पनि केही समय व्यतीत हुने देखिन्छ । धनको क्षेत्र सबल नै रहनेछ । लग्नमा राहुको निवासले कार्यक्षेत्रमा संघर्ष भने गर्नुपर्ने देखिन्छ । संघर्षको उचित प्रतिफल मिल्नेछ । व्यवसायमा वृद्धिका योग योग देखिन्छन् । लगानीको नयाँ अवसर मिल्नुका साथै आफन्त जनबाट पनि साथ सहयोग प्राप्त हुनेछ । शत्रु पक्ष दुर्बल नै रहनेछन् । प्रेम जीवन यो महिना मध्यम फलदायी रहनेछ । प्राकृतिक परिभ्रमणले प्रेम क्ष थप सबल बन्ने देखिन्छ । कला साहित्य सर्जकका निम्ति महिना फलप्रद नै देखिन्छ । कृषि व्यवसाय फलिभूत नै रहनेछ । पशु चौपायबाट लाभका योग देखिन्छन् । सेयर व्यवसायीका निम्ति पनि महिना सुखद् रहनेछ । वैदेशिक क्षेत्र पनि उन्नत नै देखिन्छ । कार्य प्रापितका साथै आय आर्जमा वृद्धि हुनेछ । भौतिक वस्तु यो महिना लाभप्रद रहने यो महिनाको मासिक राशिफल रहेको छ ।

मिथुन राशिः मिथुन राशिका लागि यो महिना अर्थदायी रहनेछ । वाणिज्य व्यवसाय समुन्नत रहने देखिन्छ । आर्थिक लाभका साथै लगानीका नयाँ मार्ग प्राप्त हुनेछन् । नेतृत्व क्षमतामा वृद्धि हुनेछ । आफन्तजनको साथ सहयोगले कार्यक्षेत्र सफल रहनेछ । मित्र पक्ष पनि सबल नै रहनेछन् । विद्याको भाव लाभप्रद रहनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नुका साथै कला सृजनामा पनि मन प्रवृत्त हुने देखिन्छ । भौतिक वस्तु यो महिना लाभप्रद रहनेछन् । प्रेमको क्षेत्र अर्थदायी रहनेछ । सम्बन्धमा नयाँ आयाम थपिनेछन् । घरिपरिवारका दृष्टिले महिनाको उत्तराद्र्ध सफल रहनेछ । सन्तति लाभका साथै पारिवारिक सुखका योग देखिन्छन् । कृषि व्यवसायीका निम्ति तरकारी एवं अनाजको क्षेत्र लाभप्रद रहनेछ । यसैगरी पशु चौपायको व्यवसाय पनि फलिभूत नै रहनेछ । संगीतकर्मीका निम्ति महिना ऊर्जावान् रहनेछ । वैदेशिक क्षेत्र लाभप्रद नै रहनेछ । कर्मभावमा मंगलेको निवासले प्राविधिक कार्य क्षेत्रमा हुनेका निम्ति महिना थप प्रभावकारी रहनेछ । खर्चमा भने केही वृद्धि हुनसक्ने यो महिनको मासिक राशिफल रहेको छ ।

कर्कट राशिः कर्कट राशिका लागि यो महिना लाभदायी रहनेछ । धनको क्षेत्र उन्नत देखिन्छ । मासारम्भ कुण्डलीमा शुक्र धनभावमा निवास गरेर आर्थिक पक्षलाई सबल तुल्याएका छन् । मित्र पक्षको साथ सहयोग मिल्नुका साथै यात्राका अवसर पनि प्राप्त हुनेछन् । विद्याको भाव मध्यमफलदायी रहनेछ । केतुको प्रभावले बौद्धिक क्षेत्र केही संघर्षदायी रहनसक्नेछ । शत्रु पक्ष दुर्वल रहनेछन् । व्यापार व्यवसायमा वृद्धि हुने छ । धतुजन्य वस्तुको व्यवसाय यो महिना उन्नत रहनेछ । स्वास्थ्यको भाव मध्यम फलदायी रहने देखिन्छ । शीतकारक वस्तुको प्रयोगमा सजग रहनु नै उचित हुनेछ । पारिवारिक साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् । धार्मिक कार्यमा रुचि जाग्नुका साथै आध्यात्मिक चिन्तनमा पनि मन प्रवृत्त रहनेछ । कृषि व्यवसाय यो महिना उन्नत रहने देखिन्छ । प्रेम पक्ष पनि सुखद् नै रहनेछ । कला साहित्य सृजनका दृष्टिले उन्नत रहने यो महिनाको मासिक राशिफल रहेको छ ।

सिंह राशिः सिंह राशिका लागि यो महिना सुखद् रहनेछ । कला साहित्य एवं सृजनाका क्षेत्रमा विशेष अभिरुचि रहने देखिन्छ । मासारम्भकुण्डलीको लग्नमा शुक्रको निवासले महिनालाई सृजनात्मक तुल्याएका छन् । प्रेम पक्ष पनि दरिलो नै रहनेछ । पारिवारिक साथ सहयोग मिल्नुका साथै व्यापार व्यवसायबाट लाभ हुनेछ । आर्थिक पक्ष सबल नै रहनेछन् । धार्मिक सामाजिक कार्यमा रुचि जाग्नुका साथै कला मनोरञ्जनमा पनि विशेष चाख बढ्ने देखिन्छ । नयाँ कार्य प्राप्तिका योग पनि रहेका छन् । स्वास्थ्यको क्षेत्र सबल रहनेछ । आमदानीका स्रोत बढ्नुका साथै धातुजन्य वस्तुबाट यो महिना लाभप्रद रहनेछन् । वैदेशिक क्षेत्र कार्यदायी रहने देखिन्छ । मित्रजनबाट साथ सहयोग मिल्नुका साथै यात्राका अवसर पनि प्राप्त हुनेछन् । स्वास्थ्यको भाव मध्यम देखिन्छ । मंगलको प्रभावले अग्निजन्य वस्तुबाट सजग रहनु नै उचित हुनेछ । राहुको प्रभाबले कर्मक्षेत्रलाई संघषदायी तुल्याएका छन् । लग्नमा शुक्रको निवासले संघर्षको उचित प्रतिफल प्राप्त हुने यो महिनको मासिक राशिफल रहेको छ ।

कन्या राशिः कन्या राशिका लागि यो महिना वृद्धिदायी रहनेछ । बौद्धिक उन्नयनका योग देखिन्छन् । अध्ययन अध्यापनमा सफलता मिल्नुका साथै प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि हुनेछ । आर्थिक क्षेत्र यो महिना मध्यम फलदायी रहनेछ । बुधको प्रभावले जलीयवस्तुबाट लाभ हुने देखिन्छ । किराना वयवसायीका निम्ति महिना फलिभूत रहनेछ । स्वास्थ्यको क्षेत्र मध्यम देखिन्छ । खानपानमा सजग रहनु लाभप्रद हुने देखिन्छ । मित्रपक्ष सबल रहनेछन् । भौतिक वस्तुबाट लाभ रहनुका साथै नयाँ कार्य व्यवसायमा मन प्रवृत्त हुने देखिन्छ । कृषि क्षेत्र उन्नत देखिन्छ । पशु चौपायको व्यवसायबाट लाभ हुनेछ । सेयर कारोवार गनेृका निम्ति वाणिज्य एवं बीमाको क्षेत्र उन्नत रहनेछ । प्रेम सम्बन्ध सुधारोन्मुख रहने देखिन्छ । कला संगीतको क्षेत्रमा उन्नतिका साथै आध्यात्मिक चिन्तनमा पनि मन प्रवृत्त रहनेछ । वैदेशिक क्षेत्रबाट लाभका योग देखिन्छन् । निर्णय प्रक्रियामा भने नहतारिनु नै उचित हुने यो महिनाको मासिक राशिफल रहेको छ ।

तुला राशिः तुला राशिका लागि यो महिना लाभदायी रहनेछ । बौद्धिक कार्यमा रुचि जाग्ने देखिन्छ । लग्नमा चन्द्रमा एवं बुधको निवासले कला सृजनका साथै वाणिज्य व्यवसायमा पनि उन्नतिका योग बनाएका छन् । सूर्यको नीचत्ववृत्तिले कार्यमा केही संघर्ष गर्नुृपरे पनि प्रतिफल सुखद् रहनेछ । धनको क्षेत्र मध्यम फलदायी रहने देखिन्छ । केतुको निवासले अनुत्पादक क्षेत्रमा खर्चबढा्नसक्ने देखिन्छ । पराक्रम भाव सबल रहनेछ । नेतृत्व क्षमतामा वृद्धि हुनुका साथै कार्यलाभका अवसर पनि प्राप्त हुनेछन् । विद्याको भाव मध्यमफलदायी रहनेछ । सन्तति सुखका साथै प्रेम जीवन यो महिना पारखिलो नै रहनेछ । कृषि व्यवसायीका निम्ति पशु चौपाय लाभप्रद रहनेछन् । स्वास्थ्यको भाव मध्यम देखिन्छ । आहार विारहमा सजग रहनु उचित हुनेछ । धार्मिक कार्यमा रुचि जाग्नुका साथै अध्यात्मचिन्तनमा मन प्रवृत्त रहनेछ । निर्णयप्रक्रियामा बुद्धिपक्षको प्रयोग यो महिना लाभप्रद रहने देखिन्छ । वैदेशिक क्षेत्र उन्नत नै रहनेछ । कला संगतिकर्मीका निम्ति लाभका अवसर मिल्नेछन् । राजनीतिक क्षेत्रमा पनि सफलता मिल्नुका साथै सुखद् परिभ्रमणका अवसर प्राप्त हुने यो महिनाको राशिफल रहेको छ ।

वृश्चिक राशिः वृश्चिक राशिका लागि यो महिना फलदायी रहनेछ । आर्थिक पक्ष भने सबल देखिन्छ । स्वगृही बृहस्पतिले धनको क्षेत्रलाई सबल तुल्याएका छन् । शनिको पनि निवासले आय अर्जनमा केही विलम्ब भने गराउनसक्ने देखिन्छ । व्यवसायिक क्षेत्र सफल रहनेछ । पारिवारिक साथ सहयोग मिल्नुका साथै सुखद् परिभ्रमणका योग पनि देखिन्छन् । सन्ततिको भाव सुखद् रहनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नुका साथै कला सृजनमा मन अभिप्रेरित रहनेछ । स्वास्थ्यको भाव मध्यम देखिन्छ । अहार विहारमा सजगता अपनाउनु नै उचित हुनेछ । कृषि कर्म लाभदायी रहने देखिन्छ । धार्मिक कार्यमा रुचि जाग्नुका साथै आध्यात्मिक चिन्तनमा पनि संलग्नता रहनेछ । प्रेमको क्षेत्र लाभप्द रहने देखिन्छ । कला साहित्य एवं संगीतकर्मीका निम्ति पनि महिना फलदायी नै रहनेछ । वैदेशिक क्षेत्र उन्नत नै रहने देखिन्छ । राजनीतिमा सफलताका साथै पद प्रतिष्ठामा अभिवृद्धिका योग पनि रहेका छन् । मासारम्भकुण्डलीको लग्नमा केतुको निवासले कार्यक्षेत्र केही संघर्षदायी रहनसक्नेछ । कार्यक्षेत्रमा संघर्ष गर्नुपरे पनि उचित प्रतिफलले मन प्रसन्न रहने यो महिनाको राशिफल रहेको छ ।

धनु राशिः धनु राशिका लागि यो महिनाको सुखद् रहनेछ । स्वगृही बृहस्पतिले विद्या एवं धनको क्षेत्रलाई सबल तुल्याएका छन् । कार्य प्रभावकारितामा वृद्धि हुनेछ । आर्थिक लाभका साथै व्यवसायमा पनि सफलता हातपर्ने देखिन्छ । मित्रपक्षबाट भने सजग रहनु नै उचित हुनेछ । मंगलको प्रभावले मित्रभाव त्यति सबल देखिँदैन । निर्णयप्रक्रियामा स्वविवेकको प्रयोग नै उचित हुनेछ । विद्याको क्षेत्र यो महिना सफल देखिन्छ । प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि हुनुका साथै बौद्धिक उन्नयनका योग देखिन्छन् । स्वास्थ्यको भाव सबल देखिन्छ । शनिको प्रभावले कार्यक्षेत्रमा केही ढिालासुस्ती भने गराउनसक्नेछन् । बृहस्पति पनि बलवान् रहेकाले पद प्रतिष्ठामा वृद्धि गराउने देखिन्छ । धातुजन्य वस्तु यो महिना लाभदायी रहनेछन् । कृषि कर्म गर्नेका निम्ति पनि महिना सुखद् रहने देखिन्छ । आय आर्जनका स्रोत बढ्नेछन् प्रेम प्रणय सम्बन्ध पनि प्रगाढता थपिनेछ । वैदेशिक क्षेत्र लाभप्रद रहने देखिन्छ । कला एवं संगीकर्मीका निम्ति पनि महिना पारखिलो रहनेछ । धार्मिक एवं सामाजिक कार्यमा पनि मन अभिप्रेरित रहने यो महिनाको राशिफल रहेको छ ।

मकर राशिः मकर राशिका लागि यो महिना उन्नतिदायी रहनेछ । धातुजन्य वस्तु लाभप्द रहनेछन् । । आर्थिक उन्नतिका साथै वाणिज्यको क्षेत्र सफल रहनेछ । यो महिना निर्णयप्रक्रियामा बुद्धिपक्षको प्रयोग लाभदायी रहने देखिन्छ । पारिवारिक सुखका साथै सन्तति लाभका योग देखिन्छन् । अध्ययन अध्यापनको क्षेत्र भने संघर्षदायी रहनसक्नेछ । राहुको प्रभावले विद्याको क्षेत्रमा थप परिश्रम गर्नुपर्ने देखिन्छ । शत्रु पराजित हुने छन् । सामाजिक कार्यमा रुचि जाग्नुका साथै धार्मिक क्षेत्र पनि यो महिना रुचिकर रहनेछ । कर्मक्षेत्रमा सूर्य नीच भई निवास गरेका छन् । जसले कार्यक्षेत्रमा पनि अधिक परिश्रम गर्नुपर्नेछ । परिश्रमको प्रतिफल भने प्राप्त हुने देखिन्छ । बौद्धिक कार्यक्षेत्र हुनेका निम्ति भने यो महिना सहज रहनेछ । वैदेशिक क्षेत्र मध्यमफलदायी रहनेछ । स्वास्थ्यको भाव मध्यम देखिन्छ । खानपानमा सजग रहनु नै उपयुक्त हुनेछ । प्रेम सम्बन्धमा प्रगाढता थपिनेछ । कृषिव्यवसाय पनि लाभदायी नै रहने यो महिनाको मासिक राशिफल रहेको छ ।

कुम्भ राशिः कुम्भ राशिका लागि यो महिना फलदायी रहनेछ । लग्नका मालिक बृहस्पतिसँग निवास गरेका छन् । जसले बौद्धिक क्षेत्र यो महिना फलदायी रहनेछ । धनको भाव मध्यमफलदायी देखिन्छ । मंगलको निवासले अपव्ययका योग पनि बनाएका छन् । भूधन भने यो महिना फलदायी रहनेछ । पारिवारिक सुख मिल्नुका साथै सन्ततिबाट लाभ रहनेछ । मित्रपक्षबाट भने सजग रहनु नै उचित हुने देखिन्छ । वाणिज्यको क्षेत्र यो महिना फलिभूत रहनेछ । सेयर व्यवसामा वृद्धिका साथै लगानीका नयाँ अवसर प्राप्त हुनेछन् । स्वास्थ्यको भाव सबल देखिन्छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सुखद् यात्राका योग पनि रहेका छन् । राजनीतिको क्षेत्र पनि यो महिना उन्नत नै रहनेछ । विद्याभाव उज्वल देखिन्छ । अध्ययन अध्यापनमा सफलता मिल्नुका साथै प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि हुनेछ । प्रेम पक्ष यो महिना सुमधु नै रहनेछ । सम्बन्धमा प्रगाढताका साथै प्राकृतिक परिभ्रमणका योग पनि देखिन्छन् । कला साहित्य एवं संगीतको क्षेत्र यो महिना सफल रहने यो महिनाको मासिक राशिफल रहेको छ ।

मीन राशिः मीन राशिका लागि यो महिना मिश्रित फलदायी रहनेछ । लग्नमा मंगलको प्रभावले महिना परिभ्रमणात्मक बन्नसक्ने देखिन्छ । स्वास्थ्यको भाव मध्यम रहनेछ । आगो, बिजुली एवं अस्त्रशस्त्रबाट सजग रहनु नै उचित हुनेछ । बौद्धिक पक्ष यो महिना सबल देखिन्छ । धार्मिक कार्यमा रुचि जाग्नुका साथै अध्यात्मचिन्तनमा पनि मन प्रवृत्त रहनेछ । व्यापार व्यवसायमा वृद्धिका साथै लगानीका नयाँ अवसर प्राप्त हुनेछन् । कृषिको क्षेत्र फलदायी रहनेछ । अध्ययन अध्यापनमा संलग्न व्यक्तिका निम्त यो महिना उन्नत देखिन्छ । नयाँ खोज अनुसन्धानमा विशेष संलग्नता रहनेछ । प्रेम जीवन यो महिना मध्यम फलदायी रहने देखिन्छ । कला साहित्य एवं सृजनाकर्मीका निम्त सुखद् रहनेछ । वैदेशिक क्षेत्रबाट लाभ रहनुका साथै प्राकृतिक परिभ्रमणका अवसर पनि प्राप्त हुनेछन् । कार्यक्षेत्रमा भने केही संघर्ष गर्नुपर्ने देखिन्छ । कार्यसिद्धिका साथै व्यवसायमा उन्नतिका निम्ति गणेशजी एवं दुर्गा भगवतीको उपासना यो महिना लाभदायी रहने देखिन्छ ।

 

प्रकाशित समय ०५:०५ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation