DG Creation

vagawat khanal-candles khabar

भागवत खनाल

सन १८१४ को वसन्त ऋतु सुरु हुनै लागेको समय । इस्ट इन्डिया कम्पनीले नेपालमाथि आक्रमण गर्ने प्रायः निश्चितजस्तो देखिएको हुँदा नेपाल दरबारमा गम्भीर छलफल भइरहेको थियो । निरन्तर राज्यविस्तारमा सफल हुँदै आएको नेपललाई अब स्थानीय रजौटा नभई विश्वशक्तिसँग भिड्नुपर्ने परिस्थिति सिर्जना भएको थियो । दरबारमा गम्भीर छलफल भयो । अनुभवले खारिएका र युद्धकौशलमा निपुण भारदारहरू तत्काल युद्ध गर्नु प्रत्युत्पादक हुने तर्क गर्दैथिए भने राष्ट्रभक्तिले ओतप्रोत तर अनुभवहीन भावुक युवा युद्धको पक्षमा । पश्चिमी मोर्चा सम्हालेर बसेका जनरल अमरसिंह थापा पनि जसरी हुन्छ तत्काल युद्ध टार्ने पक्षमा थिए तर युवा प्रधानमन्त्री भीमसेन थापाको युद्धप्रेमी पक्षका अगाडि अनुभवी र पाका भारदारहरूको केही चलेन ।
नोभेम्बर १८१४ मा कम्पनीका गभर्नर जनरल लर्ड हेस्टिङ्सले युद्धको घोषणा गरे । कम्पनीतर्फको ‘ट्रिक’ एवं छलकपट जानेको सुसज्जित ३० हजार सेना र नेपालतर्फ हिम्मत र राष्ट्रभक्तिले ओतप्रोत तर कमसल हतियारयुक्त १२ हजार सेनाबीच युद्ध सुरु भयो । युद्धमा खटिएका राष्ट्रभक्त सेनानीहरूको भरमा भएको पश्चिमी मोर्चामा सुरुसुरुमा सफलता मिले तापनि १८१५ को मार्चमा आएर युद्धको पासा पल्टियो । नाहानको किल्लामा भीषण आक्रमण भएपछि सेनाप्रमुख रणजोर सिंह थापा जैथकतिर लागे । जैथकमा रणजोर र जसपाउ थापाले अपूर्व वीरता देखाए । यो किल्ला मलाउमा अमरसिंहले जनरल अक्टरलोनीसमक्ष आत्मसमर्पण गर्दासम्म नेपालीकै कब्जामा थियो । देउथलमा अत्यन्तै बहादुरीसाथ लड्दालड्दै वृद्ध सेनानी भक्ति थापाले वीरगति प्राप्त गरे । देहरादून नजिकै नालापानीमा बलभद्र कुँवरको फौजबाट कम्पनीका कमान्डर जनरल जिलेप्सी मारिए । कम्पनीको फौजले छलपूर्वक पानीको मुहान बन्द गरिदिएको हुँदा नालापानी किल्लामा पानीको अभाव भयो । बाँकी रहेका ७० जना गोर्खालीका साथ बलभद्रले किल्ला छाडिदिए, उतैबाट ‘मुग्लान’ पसे ।
मकवानपुर र बुटवल इलाकातर्फको युद्धमा नेपाली सेनाले ठूलो वीरता देखायो । यी मोर्चाहरूमा कम्पनीतर्फ ठूलो नोक्सान भयो किन्तु पश्चिमी मोर्चामा भने चौतर्फी घेरामा परेको कारण अमरसिंह थापा लाचार थिए । काठमाडौँबाट सानो मद्दत लिएर आएको हस्तिदल शाहको टुकडीसमेत ध्वस्त भयो । अल्मोडामा बम शाहले आत्मसमर्पण गरेपछि अमरसिंह थापा विवश भए । उनका साथमा उनका छोरा र केही सङ्ख्याका सिपाहीमात्र थिए । जनरल अक्टरलोनीका छोरा र अमरसिंहका छोरा रामदासले आपसमा मितेरी सम्बन्ध कायम गरेका थिए । अक्टरलोनीले अमरसिंहलाई ठूलो सम्मान र सम्पत्तिको लोभ देखाए, तर उनी लोभको पछि लागेनन् बरु १५ मार्च १८१५ मा महाकालीपारिको इलाका खाली गरिदिने सम्झौता गरे । केही समय युद्ध टार्ने आफ्नो सल्लाह नमान्नाले यस्तो परिस्थिति बेहोर्नुपरेकोमा धिक्कारधिक्कार गर्दै उनी पूर्वतर्फ लाग्न बाध्य भएका थिए । अमरसिंहको बाध्यात्मक पराजय नै सुगौली सन्धिको आरम्भ बन्यो ।
अमरसिंहको कालीवारि प्रत्यागमनसँगै नेपाल दरवबरले शान्तिको सन्देशसाथ गजराज मिश्र र चन्द्रशेखर उपाध्यायलाई हिन्दुस्थानतर्फ खटायो । कम्पनी सरकारका गभर्नर जनरलले युद्धपूर्व नै ‘नेपाल–इस्ट इन्डिया कम्पनी’ बीच १२ बुँदे सम्झौताको मस्यौदा तयार गरेर राखेका थिए । नेपाली प्रतिनिधिहरू सुगौली पुगेपछि कम्पनीका तर्फबाट वार्ता गर्ने प्रतिनिधि कर्नेल ब्राड्सालाई भेटे । कम्पनीले युद्धपूर्व तयार गरेको मस्यौदाका अति नै कडा शर्त हटाएर कुरा गर्ने गरी ब्राडसालाई आफ्नो ‘पोलिटिकल एजेन्ट’ तोकेको थियो । नेपाली प्रतिनिधिमण्डलप्रति ब्राडसाको व्यवहार अप्रिय र रुखो थियो ।
महाकालीपारिको पहाडी भूभागको विषयमा त नेपाली प्रतिनिधिले उस्तो ढिपी कसेनन् तर मेचीदेखि महाकालीसम्मको समथल भाग छाड्नुपर्ने, कम्पनीको स्वीकृतिबिना कुनै युरोपेली वा अमेरिकी नागरिकलाई नेपाल दरबारको सेवामा राख्न नपाउने र काठमाडौँमा स्थायी ‘रेजिडेन्ट’ राख्ने शर्तप्रति उनीहरूले धेरै आपत्ति जनाए । ब्राडसाले ‘कि शर्तहरू मान या युद्धका लागि तयार होऊ’ भनी जिद्दी गरिरहे । धेरै नै ‘जद्दोजहद’ पछि सुगौलीमा एउटा सन्धिपत्र तयार भयो । काठमाडौँबाट मस्यौदामा हस्ताक्षर नगर्नु भन्ने सङ्केत प्राप्त भएको हुँदा नेपाली प्रतिनिधि स्वदेश फर्के । यसैबीचमा कम्पनी सरकार सो मस्यौदा प्रस्तावमा केही संशोधन गर्न तयार भएको थियो तर नेपाल दरबारमा के सल्लाह भयो भयो, गुरु गजराज मिश्र पुनः सुगौली पुगेर कुनै ‘बार्गेनिङ्’ बिना २८ नोभेम्बर १८१५ का दिन सन्धिपत्रमा सही गरी १५ दिनभित्रमा राजाको स्वीकृति लिएर आउने कबुल गर्दै सुगौलीबाट बिदा भए ।
सुगौलीको सन्धिमा जम्मा नौ धारा थिए जसमा नेपालका राजा र कम्पनीबीच मैत्री कायम हुने, युद्धपूर्वको विवादित जमिन कम्पनीको प्रभुत्वमा जाने, ‘बुटवल खास’ बाहेक मेचीदेखि महाकालीसम्मको सबै समथर जमिनमाथि कम्पनी सरकारको आधिपत्य कायम हुने, नेपालले मेचीपूर्वका सबै भूभागमाथिको आधिपत्य त्याग गर्ने, कालीपश्चिमको सबै भूभागमाथिको आधिपत्य सदाका लागि त्याग गर्ने, यस सन्धिको कारण ‘जागिर’ गुमाएका भारदारहरूको ‘पेन्सन’ का लागि कम्पनी सरकारले वार्षिक दुई लाख रुपियाँ दिने, नेपाल र सिक्किमबीच कुनै विवाद परेमा कम्पनीको मध्यस्थता स्वीकार गर्ने, नेपालका राजाले ब्रिटिस सरकारको स्वीकृतिबिना कुनै पनि युरोपेली या अमेरिकी नागरिकलाई नेपालको सेवामा लिन नपाउने, काठमाडौँमा ब्रिटिस ‘रेजिडेन्ट’ रहने र यो सन्धिलाई १५ दिनभित्र नेपालका राजाको स्वीकृति प्राप्त हुनुपर्ने विषय समेटिएका थिए ।
सन्धिपत्र प्राप्त भएपछि काठमाडौँमा फेरि खैलाबैला भयो । युद्ध सुरु हुनुअघि हतार नगर्ने विचार व्यक्त गर्ने गरेको पक्ष सन्धिका शर्त देखेर खिन्न भयो । उनीहरूको तर्क थियो, युद्ध हुनुभन्दा अघि गर्न सकिने ‘बार्गेनिङ्’ युद्ध हारेको अवस्थामा गर्न सकिँदैन । झुकेर यस्तो सन्धि स्वीकार गर्नुभन्दा फेरि युद्ध गर्नु उचित हुन्छ । अन्ततः प्रस्तावित सन्धिमा राजाको स्वीकृति नपठाउने र मुठभेड गर्ने निर्णय भयो । पश्चिमी मोर्चाबाट नेपाली सेना पछाडि हटिसकेको हुँदा अङ्ग्रेजलाई सजिलो थियो । कम्पनीले मकवानपुर कब्जा गरेको खबर प्राप्त हुनेबित्तिकै नेपाल दरबारले सन्धि स्वीकार गरेको औपचारिक जानकारीसाथ गजराज मिश्र र चन्द्रशेखर उपाध्यायलाई पठायो । धेरै वादविवादपछि १८१६ मार्च ४ मा जनरल अक्टरलोनीले मकवानपुरमा सन्धि स्वीकार गरे ।
सन्धि स्वीकार गरी युद्धको मोर्चा शान्त भए तापनि नेपाली मन शान्त हुनसकेन । भीमसेन थापाले अर्को छिमेकी चीनको सहयोगका लागि प्रयास गरिरहे तर चीनले नेपाललाई सहायता गर्नुको सट्टा नेपाल र कम्पनीबीच भएको सन्धि ‘राम्रै’ भएको प्रतिक्रिया पठायो । २४ वर्षअघि बेत्रावतीमा भएको सन्धिमा ‘नेपालमाथि कुनै दुश्मनले आक्रमण गरे चीनले सहायता गर्नेछ’ भन्ने प्रावधानलाई चीनले सहजै लत्यायो  । सामान्य समयमा निकै सुमधुर सम्बन्ध कायम गरे पनि नेपालले ‘ऐन मौकामा’ छिमेकीहरूबाट धोका नै पाएको छ । नेपालको त्यसपछिको प्रयत्न सुगौलीको सन्धिका कठिन शर्तहरूलाई सहज बनाउनेतर्फ केन्द्रित रहेको पाइन्छ । बारम्बार अनुरोध गरेपछि कम्पनी सरकार राप्ती पूर्वको तराई नेपालका राजालाई फिर्ता गर्न राजी भयो । ८ डिसेम्बर १८१६ मा राजाको लालमोहरसहितको पत्र काठमाडौँस्थित रेजिडेन्टकहाँ पठाइएको थियो । लखनउका नवाबले युद्धको बेला कम्पनीलाई सहयोग गरेको हुँदा राप्तीपश्चिमको तराई नवाबलाई दिइएको थियो । मूलसन्धिमा रहेको नेपाललाई वार्षिक दुई लाख दिने व्यवस्था
खारेज भयो ।
सुगौली सन्धि नेपालको मर्ममा लागेको सदा दुखिरहने घाउ हो । यो सन्धिले गर्दा सात दशक अघिदेखिको अविरल विजययात्रामा पूर्णविराम लाग्यो । हिम्मत, जोस र बहादुरीमा कुनै कमी नहुँदा नहुँदै पनि सात समुद्रपारिबाट आएको शक्तिका कारण नेपाल खुम्चिन बाध्य भयो । यो सन्धिपछि नेपालको नीति आफ्नो जमिन जोगाउने तर अर्को देशको मामिलामा सरोकार नराख्नेमा केन्द्रित छ । तथापि ‘दुई ढुङ्गाबीचको तरुल’ लाई चारैतिरबाट अँचेटेर राखेका शक्ति ९हरू० को कहरले कहिल्यै छाडेको छैन ।
सुगौली सन्धिको पेच र परिणामबारे उल्लेख गर्दा सधैँ दुखिरहने घाउमा लागेको मलमको समेत चर्चा गर्नु आवश्यक हुन्छ । पछिल्ला दुई घटनाले सुगौलीले दिएको आघातमा थोरै भए तापनि मलमको काम गरेका थिए । हिन्दुस्थानमा १८५७ मा सुरु भएको सिपाही विद्रोहलाई दबाउने कार्यमा कम्पनीलाई सहायता गर्न गएको नेपाली सेनाको नेतृत्व तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणा स्वयंले गरेका थिए । बेलायतको भ्रमण गरेर उसको शक्तिलाई नजिकैबाट नियालेका जङ्गबहादुरले फिरङ्गीसँग जोरी खोजेरभन्दा कूटनीतिक तरिकाले फाइदा लिनु देशको हितमा हुन्छ भन्ने बुझेका थिए । लखनउका लागि प्रस्थान गर्नुअघि १० डिसेम्बर १८५७ मा जङ्गबहादुरले भावुक भाषण गरेका थिए । उनको मूल उद्देश्य कम्पनीलाई सहयोग गरेर देश बचाउनु र बढाउनु थियो ।
विद्रोहलाई सफलतापूर्वक दमन गरेर फर्केपछि जङ्गबहादुरले १८१६ मा गुमेको राप्तीपश्चिमको पूरै तराई फिर्ता हुने आशा गरेका थिए । उनको दाबी हालको लखिमपुर र त्यसभन्दा पश्चिमसम्म थियो तर ब्रिटिस सरकार राप्तीदेखि महाकालीबीचको तराईको सानो अंश मात्र दिन राजी भयो । ‘नयाँ मुलुक’ भनिने त्यस इलाकामा अहिले बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला छन् । यो जमिन फिर्ता गर्नेसम्बन्धी दुई धारा भएको सन्धिपत्रमा १ नोभेम्बर १८६० मा काठमाडौँस्थित ब्रिटिस रेजिडेन्ट र राजा सुरेन्द्रका तर्फबाट प्रधानमन्त्री जङ्गबहादुर राणाले हस्ताक्षर गरेका थिए । यो सन्धिमा हस्ताक्षर हुनुअघि नै सीमा निर्धारण भइसकेको हुँदा सन्धिपछि कुनै समस्या परेन । यो सन्धिले सुगौली सन्धिको धारा ३ ले दिएको चोटमा थोरै मलम लगाएको थियो । सुगौली सन्धिमा भीमसेन थापाको हात तल परेको थियो भने यस सन्धिमा जङ्गबहादुरको हात माथि परेको थियो । यसले राष्ट्रका भक्त जङ्गबहादुरलाई सन्तुष्ट पार्न नसके तापनि यो नेपाली जनताका लागि उनले गरेको युगान्तकारी आर्जन थियो ।
सुगौली सन्धि एक प्रकारले नेपाललाई ‘ट्रयाप’ मा पारेर गरिएको असमान सन्धि थियो । यो आघातमा चन्द्र शमशेरको पालामा थप मलम लागेको थियो । डिसेम्बर १९२३ मा सम्पन्न यो सन्धि दुई पक्षबीच करिब करिब समानस्तरमा भएको थियो । यसले सुगौली सन्धिका यस सन्धिसँग बाझिने धाराहरूलाई खारेज गरेको थियो । सन्धि सम्पन्न भएको उपलक्ष्यमा २६ डिसेम्बरमा सिंहदरबारमा भव्य समारोहको आयोजना गरियो । सरकारले दुई दिनको सार्वजनिक बिदा घोषणा ग¥यो । धेरै कैदीले कैद माफ पाए  । यो सन्धिले नेपाललाई भुटान र सिक्किमभन्दा माथिल्लो दर्जामा प्रतिष्ठित गराएको थियो । श्री ३ चन्द्र शमशेर राणाको कूटनीतिक चातुर्यका कारण सम्पन्न भएको १९२३ को सन्धिलाई पेचिलो सुगौली सन्धिको अन्तिम बिसौनी
मान्न सकिन्छ ।
९लेखक नेपाल सरकारका पूर्व सहसचिव हुनुहुन्छ ।०

प्रकाशित समय ०८:१५ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation