गृहपृष्ठ अनसनरत इन्टर्न चिकित्सक डिल्ली हरिजनलाई वीर अस्पताल लगियो
अनसनरत इन्टर्न चिकित्सक डिल्ली हरिजनलाई वीर अस्पताल लगियो
अनसनरत इन्टर्न चिकित्सक डिल्ली हरिजनलाई थप उपचारका लागि वीर अस्पताल लगिएको छ ।
हिजो मंगलबारदेखि माइतीघर मण्डलामा आमरण अनसन बसेका हरिजनको स्वास्थ्यमा समस्या आएपछि वीर अस्पताल लगिएको हो । अहिले हरिजनको वीर अस्पतालको इमरजेन्सीमा उपचार भइरहेको छ । उनलाई रींगटा लाग्ने, रक्तचाप अस्थिर, शरीरमा कमजोरी देखिएको हरिजनका सहयोगी रेशम विष्टले जानकारी दिए ।
नेपालभरका एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता र समान कामको समान पारिश्रमिकको माग राख्दै हरिजनले अनसन थालेका हुन् । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित कार्यदलले पेश गरेको प्रतिवेदनअनुसार स्वास्थ्य सेवाको आठौँ तहको प्रारम्भिक तलबमानको ५० प्रतिशत बराबरको निर्वाह भत्ता सबै सरकारी तथा निजी शिक्षण संस्थामा लागु गर्न उनीहरूले माग गरेका छन् ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ७ बमोजिम आयोगको बैठकमा आफ्ना आधिकारिक प्रतिनिधिलाई अनिवार्य आमन्त्रण गर्नुपर्ने, श्रम ऐन, २०७४ को दफा २८ बमोजिम कार्यघन्टाको व्यवस्था पूर्ण रूपमा पालना गराउनुपर्ने र मेडिकल कलेजहरूले असुल गरेको अतिरिक्त शुल्क छानबिन गरी फिर्ता गराउनुपर्ने माग अघि सारेका छन् ।
विद्यार्थीहरूका लागि छात्रावासमा बस्नुपर्ने बाध्यकारी व्यवस्था अन्त्य गरी यसलाई ऐच्छिक बनाउन र नियम उल्लङ्घन गर्ने निजी तथा सरकारी कलेजहरूमाथि कानुनी कारबाही गर्न माग गरेका छन् ।
प्रकाशित समय २२:४५ बजे















