गृहपृष्ठ युवा सहभागिता : अलमलिएको बहस
युवा सहभागिता : अलमलिएको बहस
युवा पुस्ता मानव इतिहासको अलिकति जानकार, अलिकति सूचित, बहुआयामिक बिवधामा शिक्षित र अहिलेको विश्वव्यापी आधुनिक सूचना प्रविधिमा सबभन्दा बढी जोडिएको पुस्ता हो । समाज र राष्ट्रका लागि युवाले खेल्ने भूमिका वैज्ञानिक हुन्छ । यसका लागि हामीले युवा किन विशेष छन् भनेर जान्नु अनिवार्य छ । युवा ऊर्जाले भरिएका छन् । उनीहरूको अन्तिम विश्वासको रूपमा कार्यसम्पादन क्षमता, तार्किकता र बौद्धिकता छ । युवावर्गले ताजा ऊर्जासँग आफ्नो क्षमता प्रदर्शन गर्न र समाजको विकास सुनिश्चित गर्न सक्छन् । युवा भूमिकालाई विश्वमा उत्तम, अझ जिम्मेवार र अधिक प्रभावकारी नेतृत्व निर्माणतर्फ प्रेरित गर्नुपर्छ ।
युवाले राजनीतिक, सामाजिक र सांस्कृतिक भूमिकामा नवचेतनासहित राष्ट्रको उज्ज्वल भविष्य बनाउँछन् । जब व्यक्ति वयस्क हुन्छन् मान र विचारमा परिपक्व, नियमित परिवर्तन र अधिकारका लागि क्रान्ति ल्याउन सक्छन् । दुनियाँमा हरेक असफलताको खतरामा नेतृत्व जिम्मेवार छ । असफलताबाट ग्रसित समाजमा रचनात्मक सफलताको सुरक्षित अवतरण युवा दस्ताले प्रमाणित गर्दछ ।
एक उदाहरण
अमेरिकी विश्वविद्यालयहरूले खोज अनुसन्धानमा युवा विद्यार्थीलाई प्रवद्र्धन गर्छन् । सङ्घीय र राज्य संसद्मा थुप्रै युवा विद्यार्थी खोज अनुसन्धानमा क्रियाशील हुन्छन् । कानुनी व्यवस्था अनुसार संसद् सदस्य सरकारमा सहभागी नहुने भएकाले जनप्रतिनिधिको ९हाउस अफ रिप्रेजेन्टिभ० धेरै समय नीतिनिर्माणका काममै बित्छ । जनप्रतिनिधिको सचिवालयमा विभिन्न विश्वविद्यालयमा अध्यनरत युवालाई प्रयोगात्मक कार्य ‘इन्टर्न’का रूपमा सहभागी गराउने व्यवस्था छ । जनप्रतिनिधिले पनि उत्तिकै प्राथमिकतासाथ ठूलो सङ्ख्यामा विद्यार्थीलाई इन्टर्नका रूपमा क्रियाशील गराउने परिपाटी छ ।
देशैभरि हजारौँका सङ्ख्यामा रहेका जनप्रतिनिधिले युवा विद्यार्थीका क्षमता र विचारलाई उपयोग गरी नीति निर्माणलाई व्यापक र परिष्कृत बनाउने प्रचलन बसिसकेको छ । उनीहरूले कानुनमा रहेका कमीकमजोरीको सूक्ष्म अध्ययन गरी छिद्र पहिल्याउनेदेखि समाजका बहुआयाम विभिन्न समस्या समाधानका लागि कानुनको प्रारम्भिक खाका बनाउनेसम्मका काममा जनप्रतिनिधिलाई सघाउँछन् । यसले सार्वजानिक नीतिनिर्माण, अध्ययन अनुसन्धानमा युवालाई संलग्न गराएको छ, भविष्यका निम्ति योग्य नेतृत्व अगाडि बढाउन सहयोग गरेको छ ।
नेपालका जनप्रतिनिधिले युवावर्गलाई सक्रिय गराउन प्रोत्साहन गर्न कस्तो उपाय रचेका छन् रु देखिन्छ– हाम्रो परम्परा चुनावी अभियानमा युवा परिचालन, सडकमा उतार्ने, प्रदर्शन विरोधमा परिचालन गराउनेमै सीमित छ । अक्सर सांसद, नेताको सचिवालयमा युवा सहभागी भइहाले पनि झोला, डायरी, छाता बोक्ने काममा सीमित गरिएको छ ।
हाम्रा विश्वविद्यालयहरूमा अनुसन्धान केन्द्र स्थापना गरेर युवा अध्ययन अनुसन्धानमा परिचालन गरिनुभन्दा राजनीतिक दलकै नेतृत्वमा भ्रातृ सङ्घ सङ्गठन खोलेर अराजक गतिविधि भइरहेका छन् । दुनियाँका विश्वविद्यालयमा यस्तो विचित्र चलन छैन । विश्वविद्यालय एक स्वतन्त्र शिक्षित विद्वान् उत्पादन गर्ने कारखानामा विद्यार्थी सङ्घसङ्गठनको औचित्य के रु गलत संस्कारले युवाको सिकाइ क्षमता र शैक्षिक प्रणालीलाई ध्वस्त बनाएको छ । नेपालको हरेक राजनीतिक परिवर्तन, लोकतान्त्रिक आन्दोलन श्रमिक आन्दोलनमा युवा विद्यार्थीको केन्द्रीय भूमिका थियो । राजनीतिक परिवर्तनमा उथलपुथल ल्याउने युवाकै जमात थियो । आज दुनियाँ आधुनिकतातर्फ बदलिसकेको छ । युवा विद्यार्थीलाई गलत राजनीतिक संस्कारबाट स्वतन्त्रता प्रदान गर्नुपर्छ । विश्वविद्यालयमा दलीय विद्यार्थी सङ्घ, प्राध्यापक सङ्घ होइन, वैज्ञानिक अनुसन्धान केन्द्र स्थापनाको मार्गचित्र अवश्यक छ ।
युवा सहभागितामा बेवास्ता
युवा नेतृत्व र सहभागिताका मुद्दाले हामीकहाँ कहिलेकाहीँ छिटपुट स्थान पाउने गर्छन् । यहाँ युवा सहभागिताका सन्दर्भमा युवा कति जिम्मेवार गैरजिम्मेवार छ, संक्षिप्तमा हेर्न सकिन्छ । पहिलो– प्लस टु पास, विदेश टाप कस्ने युवाको समूह । दोस्रो– विद्यालय र विश्वविद्यालयबाट मूलधारमा प्रवेश चाहने आकाङ्क्षी युवाको समूह । तेस्रो– सडक र चिया पसलबाट सरकार र राजनीतिक दलको बचाउ र विरोध गर्ने युवाको समूह । चौथो – नेपालको शासन पद्धतिबाट दिक्क लागेर वैदेशिक रोजगारका लागि विदेशी दूतावासमा राहदानी बुझाउने र विदेशबाटै सरकार र दलको आलोचना गर्ने युवाको समूह । पाँचौँ– दलका केन्द्रीय राजनीतिमा प्रतिनिधित्व गर्ने कतिपय युवा पङ्क्तिका नेता कार्यकारी नेतृत्वमा उपयुक्त स्थान नपाउँदा विमुख हुने समूह । छैटौँ– पुरानो नेतृत्वप्रति असन्तुष्ट वैकल्पिक दल र वैकल्पिक युवा नेतृत्व, विचारधारा भनिएकाहरूको समूह । यी तमाम बहुरङ्गी विभाजित युवा दस्तालाई एकत्रित गरेर राष्ट्रिय विकासमा परिचालन गरी समृद्धिका निम्ति बहस किन हुनसकेको छैन ?
सबै नीतिको माउ नीति राजनीति हो । माउ नीतिको नेतृत्वमा युवा क्रियाशीलताका मुद्दा उठाउने, पुस्तान्तरणको चर्चा गर्ने तर नेतृत्व हस्तान्तरण गर्न तयार नहुने अनि पार्टीमा युवा पुस्ताको पहुँच र विकास कसरी
हुनसक्छ रु युवा चाकडीमा लिप्त छन् । स्वतन्त्र विचारको निर्माण गर्न पाएकै छैनन् । एउटा छटपटीपूर्ण आलोचनात्मक चेत र वैचारिक राजनीतिक बहसका साथमा जनतामा जोडिने विषयमा युवामा पनि धेरै समस्या छन् ।
युवाले नै हस्तक्षेपकारी भूमिका बढाउन आवश्यक छ । राजनीतिक र वैचारिकरूपले एजेन्डाको निर्माण गर्नुपर्छ । कसरी आधुनिक ज्ञान, प्रविधि र व्यवस्थापनमा दक्ष र सक्षम युवा नेतृत्वमा सहजै स्थापित हुने पद्धतिको निर्माण गर्न सकिन्छ । नयाँ र पुरानाबीच, अनुभव र ऊर्जाबीच कसरी सन्तुलन कायम गर्ने, नवजागरूकहरूको ऊर्जा कसरी राजनीतिसँगै सार्वजनिक क्षेत्रगत मूलधारमा स्थापित गर्न सकिन्छ रु चर्को विषय बन्नुपर्छ ।
दुःखद पक्ष, युवालाई अझै पनि अपरिपक्व मान्ने, अविश्वास गर्ने परिपाटी कायमै छ । तत्कालीन नेता विश्वेश्वरप्रसाद कोइरालाले सिङ्गो नेपाली काँग्रेसको नेतृत्व गरी ३६ वर्षमा गृहमन्त्री हुनुभएको थियो । पुष्पकमल दाहाल प्रचण्ड ३६ वर्षमै पार्टीप्रमुख बन्नुभएको थियो । झापा आन्दोलनका नेताहरू त सबै युवा नै थिए । युवा नेतृत्व सफलताका थुप्रै अन्तर्राष्ट्रिय उदाहरण छन् । अबका युवालाई विश्वास र अवसर प्रदान गरिनुपर्छ । स्पष्ट के हो भने नेतृत्वले आफ्नो कार्यकारी अधिकारबाट अवकास लिएर जबसम्म पुस्तान्तरण गर्ने चाख देखाउँदैनन् तबसम्म युवाशक्ति मूलधारमा नेतृत्वको सट्टा पलायनले प्राथमिकता पाउँछ । असल शासन तथा वैचारिक राजनीतिसम्बन्धी अभ्यास गराउने र राजनीतिप्रति युवापुस्ताको अग्राधिकारसहित नयाँ पुस्तालाई जनपक्षीय हितमा प्रोत्साहन गराउन परिपक्व, प्रौढ नेतृत्वको सुमति हुन्छ । नेतृत्व सम्हालेका युवाले राष्ट्रमा सकारात्मक परिवर्तन ल्याएका उदाहरण धेरै छन् ।
निराशा र चिन्ता
मुलुकमा क्रमिक बढ्दै गएको राजनीतिक, आर्थिक र सामाजिक बेथितिले युवामा गहिरो निराशा छाएको छ । ती उचित अवसरको खोजीमा छन् । घरपरिवारको आवश्यकता पूरा गर्न होस् वा आफ्नो उज्ज्वल भविष्यको खोजीमा होस्, लाखौँ युवा जन्मभूमिलाई चटक्कै छोडेर बिरानो देशमा भासिनुको मुख्य कारण त्यही निराशा नै हो । बेरोजगारीका कारण आपराधिक क्रियाकलापमा संलग्न भएका कयौँ दृष्टान्त छन् । जोखिममा रहेका युवालाई आवश्यक सहयोग पु¥याउन, उनीहरूमा अन्तरनिहित क्षमता उजागर गर्न र युवा प्रतिभा पलायनलाई रोक्न आवश्यक छ । विश्वव्यापी रूपमै सिर्जना हुने अवसरहरूमा नेपाली युवाको पहुँचलाई सुनिश्चित गर्दै थप सम्भावनाको विकास गर्न पनि परिष्कृत युवा रणनीतिको आवश्यकता छ ।
सुसंस्कृत मार्गमा हिँड्न युवा संस्कृतिको विकास र नागरिक उत्तरदायित्वलाई प्रोत्साहित गर्नु महŒवपूर्ण छ । उनीहरूले धेरै प्रकारका गतिविधि अन्वेषण गर्नुपर्छ । युवाको काम अनुसन्धान, स्वउद्यमको प्रवद्र्धन हो । युवालाई ग्रामीण औद्योगीकरणको प्रक्रियामा कसरी जोड्ने रु स्थानीय तहदेखि केन्द्रीय मुद्दामा राजनीतिक दल र सरकारलाई रचनात्मक प्रतिपक्षीको भूमिका कसरी निर्वाह गर्ने रु उद्यमशीलताको माध्यमबाट सर्वाङ्गीण समाज र मुलुकको कल्याणकारी हितमा युवाको टेवा अनिवार्य छ । बेरोजगार युवाको क्षमता, प्रतिभा, सीप, जोश जाँगर विकासमा पर्याप्त उपयोग गर्न श्रम बजारको दायरालाई फराकिलो बनाउने र रोजगारीका अवसरलाई प्रशस्त परिचालन गरी उत्पादकत्व र उद्यमशीलतामा वृद्धि गर्न कार्ययोजना अघि सार्नुपर्छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम लक्षित वर्गसम्म प्रभावकारी बनाउनुपर्छ ।
सशक्तीकरणको खाँचो
एक राष्ट्रका लागि पूर्ण समर्पण र प्रतिबद्धताका साथ काम गर्नु प्रत्येक नागरिकको बाध्यता हो । यसैले हाम्रा युवालाई राष्ट्रिय सेवा के हो भनेर सिकाउन अभिमुखीकरण कार्यक्रम हुनु आवश्यक छ । हामी सधैँ आफ्नो युवाका लागि भविष्य निर्माण गर्न सक्दैनौँ तर हामी भविष्यका लागि हाम्रा युवा निर्माण गर्न सक्छौँ । न्युयोर्क टाइम्सका स्तम्भकार निक क्रिस्टफले युवालाई सफलताका चार सूत्र सुझाउनुभएको छ– अर्थशास्त्र र तथ्याङ्कबारे ज्ञान राख, समाजलाई केही दिन समय नकुर, प्रेम गर, घुम ।
युवाशक्ति नै श्रमशक्ति र राष्ट्रशक्ति हो । उनीहरूमा निहित क्षमताको विकास गरी राष्ट्र निर्माणमा अग्रसर गराउने नीति अपरिहार्य छ । युवामा सिर्जनशीलता, वैज्ञानिकता, जिम्मेवारीपूर्ण व्यवहार, उद्यमशील नागरिक सोच र जवाफदेहिताको विकास गरी न्याय र नैतिकतामा आधारित स्वच्छ सामाजिक जीवनको विकास गर्न उनीहरूमा रहेको अन्तर्निहित क्षमता विकास गर्नु जरुरी छ ।
सुशासन, पारदर्शिता र विधिको शासनका लागि युवाको खबरदारी सदासर्वदा आवश्यक रहन्छ । परिवर्तनका संवाहक युवाको भूमिका अनन्त छ । युगान्तकारी परिवर्तन र विकासको अभिभारा नेपाली युवाकै कुशल काँधमा छ । राष्ट्रिय विकासमा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्न उनीहरूलाई सरकार, निजीक्षेत्र, नागरिक समाज र अभिभावकहरूले सहयोग र प्रोत्साहन दिन आवश्यक छ ।
प्रकाशित समय २२:५३ बजे















